आजका टप समाचार

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन, अनेरास्ववियु क्रान्तिकारीमा मारामार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। 

संवैधानिक परिषद्ले असोज १ गते प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो।

दसैँ अवधिभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू दसैँ अवधिभर बिहान साढे ४ बजेदेखि खुल्ने भएका छन्।

बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन भाेलि घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित भएकाे छ।

असोज १० गतेदेखि काठमाडाैँमा सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हदकाे विषयमा विवाद भएपछि भाेलि बिहान १० बजेदेखि सञ्चालन हुने गरी स्थगित गरिएकाे हाे।

बन्दसत्र स्थगित गरिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सी तोडफोड गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारकाे छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेकाे छ।

आयोगको टोलीले बुधबार सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा मारेर केही कागजातहरु बरामद गरेको छ।

प्राधिकरणकाे परियोजनामा भएकाे अनियमितताबारे अनुसन्धान गर्ने क्रममा अख्तियारले कागजात मागेकाे र महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा छापा मारेर बताइएकाे छ।

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियाे गृह मन्त्रालयकाे कार्यदल

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा कार्यदलकाे टाेली खटाएकाे छ।

प्रभावित जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि खटिएका हुन्।

आवश्यक कार्यदेशसहित बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा टाेली खटाइएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढीपहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

प्रतिनिधिका १० र राष्ट्रियसभाका ८ जना गरी एकीकृत समाजवादीका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने  निर्णय गरेकाे उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा

नेपाली क्रिकेटर दिपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन्।

आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन्।

नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन्।

प्रकाशित मिति: : 2024-10-02 19:32:00

प्रतिकृया दिनुहोस्