प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाउनु संविधान असफल घोषित गर्ने दह्रिलो पाइला हो : पूर्वन्यायाधीश वस्ती

सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको घटनालाई ‘संविधान असफल घोषित गर्ने दिशाको दह्रिलो पाइला’ भएको बताएका छन्। 

बिएल नेपाली सेवासँग उनले भने, ‘हामी अँध्यारो सुरुङको मुखमा थियौँ, यो घटनाले भित्र धकेलिएको अवस्था हो।’ 

तीन दशकभन्दा लामो समय वकालत गरेका वरिष्ठ अधिवक्तासमेत रहेका वस्तीले नेपालको संविधान सफल बनाएर देशलाई अँध्यारो सुरुङमा प्रवेश गराएको भनी चिन्ता व्यक्त गरे। पूर्वन्यायाधीश वस्तीले भने, ‘यस्तो दूर्घटना नेपालका यसअघि कहिल्यै पनि भएको थिएन। यसको संकेत राम्रो छैन। संविधानलाई असफल घोषित गर्ने दिशामा यो दह्रिलो पाइला चालियो।’ 

‘माधव नेपालको पनि मुद्दा छ अदालतमा। अन्तरिम आदेश नभएको न हो। जे पनि हुनसक्छ’, वस्तीले भने, ‘अरु न्यायाधीशहरु पनि हुनुहुन्छ सर्वोच्च अदालतमा। उहाँ (प्रधानन्यायाधीश) एक जना मात्र त हुनुहुन्न त्यहाँ। न्यायपालिकालाई बचाउन सबैले सोच्नुपर्याे। बारले पनि सोच्नुप¥यो। नागरिक समाजले पनि सोच्नुपर्याे।’ 

वस्तीले वर्तमान संविधानलाई बिदा गर्ने कि सुधार गरेर कायम राख्ने भन्ने मूल प्रश्न उपस्थित भएको बताउँदै भने, ‘अब यो प्रश्नको समाधान खोज्नुपर्छ। संविधान बिदा हुनु राम्रो होइन, सुधार गरेर अघि बढ्ने समग्र सोच बनाउनुपर्याे।’ 

आफूले यो संविधान बिदा गर्ने खेल भइरहेको र देश अनिश्चितता तिर गएको पनि उनले बताए। उनले भने, ‘म यो देखिरहेको छु– यो संविधान बिदा गर्ने कि नगर्ने ? संविधान बिदा हुनु त ठीक होइन नि ! बिदा गर्ने हो भने त देशले  गति लिन्छ, निश्चित भएन। यो अनिश्चित भविष्यतर्फको यात्रा हो।’

पूर्वन्यायाधीश वस्तीले भने, ‘मैले धेरै अगाडि भनेको थिएँ– यो अँध्यारो सुरुङतर्फको यात्रा हो भनेर। अब सुरुङबाट निस्कँदा अङ्गभङ्ग भएर निस्कन्छौँ कि सग्लो निस्कन्छौँ वा निस्किदै निस्किँदैनौ ? अँध्यारो सुरुङभित्र धकेल्न अदालतले झन बल पुर्यायो। पहिला हामी सुरुङको मुखमा पुगेका थियौँ, अब हामी भित्रै ठेलियौँ। कसरी निस्किइन्छ, थाहा छैन। को निस्किन्छ, को निस्किँदैन, त्यो पनि थाहा छैन।’

उनले अराजकताले सीमा नाघेको पनि बताए। ‘यत्रो विरोध हुँदाहुँदै पनि के गरेको होला छक्क परेँ म त ! लोकलाजै भएन। लोकतन्त्र भनेको लोकलज्जा र अनुशासन हुने व्यवस्था हो। कोही अनुशासनमै नबसेपछि बोलेर के हुन्छ ?’, उनले भने, ‘पुलिसले भनेको किन मान्ने ? ट्राफिकले सिटी बजाएको किन मान्ने ? जे गरे पनि भयो नि यो त ? के हामीले यही गर्न चाहेको हो त ?’

प्रकाशित मिति: : 2021-10-08 18:32:00

प्रतिकृया दिनुहोस्