मन्त्रीको बधाई थाप्दै हिँडेका मेटमणि सूचीबाटै ‘आउट’

सत्ता गठबन्धनमा सहमति  जुटेपछि मन्त्रिपरिषद्ले आजै (शुक्रबार) पूर्णता पाउने पक्का–पक्की जस्तै छ।

नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो एकातर्फ छाडेर, माओवादी केन्द्र (५) र एकीकृत समाजवादी (४) बाट मन्त्री बन्नेको नाम टुङ्गो लागिसकेको छ। केन्द्रले बुधबार र समाजवादीले बिहीबार आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्न पठाउने नेताहरू टुङ्गो लगाएका हुन्। तर कांग्रेस र जसपाका नेताहरू भने छलफलमै जुटेका छन्।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको  एकीकृत समावादी पार्टीले चार वटा मन्त्रालय पाउने भएको छ। ती मन्त्रालयका लागि नेताहरूको नाम समेत सार्वजनिक भइसकेको छ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्रीको नाम पक्का भएको छ। भने, सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आले र श्रममा तथा राेजगार मन्त्रालयमा किसान श्रेष्ठ मन्त्री बन्दैछन्।

सूचीमै परेनन् मेटमणि

एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेका पात्र मध्ये एक हुन्, मेटमणि चौधरी। उनी मन्त्री भन्ने दौड्बाट बाहिरिएका छन्। ‘आफ्नो नाम माधव नेपालको गोजी’मा सुरक्षित रहेको दावी गर्ने उनी शीर्ष नेताहरूले तयार पारेको सूचीमै परेनन्।

गृहजिल्ला (दाङ)को दलबलसहित पटकपटक कोटेश्वर पुगेका चौधरी मन्त्रालय बाँडफाँडबारे सन्तुष्ट छैनन्। उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक समेत मानिन्छन्। चौधरीलाई मन्त्री बनाउने कुरामा पार्टीभित्र कुनै विवाद छैन। तर, संख्या सानो हुँदा समेट्न गाह्रो भएको नेताहरू बताउँछन्।

सांसद चौधरीको नाम हाललाई नेकपा (एस)को सूचीबाट काटिएको एक केन्द्रीय सदस्यले बताएका छन्।

‘पार्टीको भागमा चार वटा मन्त्रालय छन्। त्यसैले मेटमणि कमरेड पर्नुभएन। मन्त्रालयबारे प्रधानमन्त्रीजीसँग थप संवाद पनि बाँकी नै छ। चार वटा मन्त्री पठाउनुपर्ने बाध्यता हुँदाखेरी कमरेडको नाम काटिएको हो, हेरौँ, राज्यमन्त्रीबारे पनि छलफल जारी नै छ,’ ती नेताले बिएल नेपाली सेवाससँग भने।

सञ्चारमाध्यममा आकांक्षीहरूको चर्चा हुँदा चौधरी पहिलो पंक्तिमै पर्दथे। त्यसकारण पनि उनी मन्त्री पाउनेमा ढुक्क थिए। उनले झण्डै दुई महिनायता भेटघाट वा फोनमार्फत् भारीका भारी बधाई थापेका छन्। चौधरी आफै पनि समर्थकहरूको जिज्ञासामा मन्त्रीको लागि तयार रहेको बताउँथे।

प्रकाशित मिति: : 2021-10-08 09:44:00

प्रतिकृया दिनुहोस्