नयाँ वर्षको अघिल्लो दिन अर्थात् चैत ३० गते। साथी कविताले (नाम परिवर्तित) फोन गरेर भनिन्, ‘भोलि नयाँ वर्षमा सबै जना मेरो घर आऊ है, रमाइलो गर्नुपर्छ।’
उनको कुरा सुनेर हामी सबै उत्साहित भयौँ। भाउजू, बहिनी, भतिज, छोरा (दिदीको छोरा) अनि म। नयाँ वर्ष हामीले उनको घरमा मनाउने निधो गर्यौँ।
भोलिपल्ट बिहान ६ बजे नै निन्द्राबाट ब्युँझिएँ। अरुबेला ८ बजे मात्र उठ्ने म। नयाँ वर्ष भएकोले होला सबेरै उठेँ। अनि हतारिँदै कवितालाई फोन गरेँ, ‘हामी कहाँ आउनु भन त’, उताबाट जवाफ आयो, ‘सुन्दरीजलबाट गाडी चढेर ओख्रेनी गाउँ आउन है।’
उनीसँग कुरा गरेर फोन राखेपछि अरू चार जनालाई पनि उठाएँ। बाहिर जाने भनेर होला सबैजना अतालिँदै उठे।
२०७६ सालको सुरुवातलाई मनाउन उत्साहित हामी चिया, नास्ता गरेर बाटो लाग्न थाल्यौँ। घरबाट निस्किँदै गर्दा मम्मी भन्दै हुनुन्थयो, ‘घर छिट्टै फर्कनु है, अबेर होला नि।’ हामी पनि हुन्छ भन्दै ७ बजे घरबाट निस्कियौँ।
गफगाफ गर्दै बाटो लागेका हामी ‘नेपाल मेडिकल कलेज’ पुगेर सुन्दरीजल जाने गाडी चढ्यौँ। गाडी चढेको ४५ मिनेटपछि हामी सुन्दरीजल पुग्यौँ।
सुन्दरीजल अर्थात् ‘डेटिङ स्पाेट’। अधिकांशजसो जोडीहरु त्यहाँ जाने गर्छन्। सुन्दरीजलको खासियत झरना हो, जहाँ फोटो खिच्न दूर–दूरदेखि मानिसहरू पुग्ने गर्छन्।
बिहानको ८ बजे सुन्दरीजल चाेक पुगेका हामी कविताकाे घर जाने गाडी कुट्न थाल्याै। अरूबेला त हत्तपत्त नपाइने बस। त्याे दिन झनै नयाँ वर्ष थियाे। सजिलै कहाँ पाइन्थ्याे र!
तर भाग्यवश!
आधा घण्टाको पर्खाइपछि गाडी आयाे। हतारिँदै हामी बसभित्र छिर्याैं। कुनै युद्ध लड्न गएजस्तै।
गाडीभित्र मानिसहरूकाे भीड यतिधेरै थियाे कि श्वास फेर्न पनि मुश्किल भइरहेकाे थियाे। खुट्टाकाे पाइला चाल्नु त झनै पररकाे कुरा थियाे। तर जसाेतसाे ‘म्यानेज’ गरियाे।
अरूबेला गाडीको झ्यालपट्टीको सिटमा मात्र बस्न खाेज्ने म त्याे दिन भने उभिरहेकी थिएँ। मनमा डर बाेकेर–कतै वाक्ने पाे हाेकि!
तर मन उत्साहित थियाे। गाडीको चक्का चलेजसरी मनमा कुरा पनि खेलिरहेकाे थियाे, ‘अबकाे एक घण्टामा त पुग्छाैँ हाेला ओख्रेनी गाउँ।’
घच्याक–घच्याक गर्दै गुडिरहेको गाडी झ्याप्प राेक्कियाे। कारण थियो– ओभर लोड।
सुन्दरीजलबाट गुडेकाे १० मिनेटमा गाडी राेक्किएपछि सहचालकले भन्न थाले, ‘सबैजना गाडीबाट झर्नुस् त। चक्काको हावा फुस्किएछ!’
उनको कुरा सुनेर हामी पालैपालो झर्दै थियौँ। त्यतिकैमा उताबाट चालकले भने, ‘अब यो गाडी ओख्रेनी जान सक्दैन। अर्को गाडी चढेर जानुहोला।’
पहिलोपटक साथीको घर जान लागेका हामीहरुलाई फसाद पर्याे।
अब के गर्ने भनेर अन्याेलमा पर्याैँ।
गाडीबाट झरेका यात्रुहरू अब गाडी आउँदैन भन्दै सुन्दरीजलतिरै फर्किन थाले। तर हामीले ओख्रनी जाने निधो गरिसकेका थियाैं। जसरी हुन्छ त्यहाँ पुग्नु नै थियाे। गाडी नजाने भएपछि हामी नाच्दै गाउँदै लाग्न थाल्यौँ– ओख्रनी गाउँ। जुन सुन्दरीजलबाट १५ किमी टाढा पर्छ।
सुरुसुरुमा हिँड्न रमाइलो मानिरहेका हामी बिस्तारै थाक्दै गयाैं। भाेकाे पेट र टन्टलापुर घाममा कतिन्जेल पाे हिड्न सक्थ्याैं र।
लगातार डेढ घण्टादेखि चलिरहेका पाइलाहरू रोक्किन चाहन्थे। तर, विकल्प थिएन।
थाकेकाे शरीरलाई घिर्सादै हामी साढे ९ बजे मुलखर्क गाउँ पुग्यौँ।
त्यहाँ पुगिसक्दा सन्दिप भाेक लाग्याे भन्दै कराउन थालिसकेका थिए, ‘अझै कत्ति लाग्छ?’
हिँडेको लगभग २ घन्टापछि हामीले ४ वटा डाँडा कटाइसकेका थियौँ। तर खाजा खाने पसलको नाम निसान नै थिएन।
मुलखर्क गाउँबाट हिँडेको एक घण्टपछि हामी ‘चिलाउनी’ गाउँ पुग्यौँ।
चिलाउनी पुगेपछि चिसो हावाको वेगसँगै तातिएका हाम्रो शरीर पनि बिस्तारै चिसिँदै गयो। त्यही गाउँमा थियाे, खुद्रा पसल। जहाँ बेचिरहेकाे थियाे– चाउचाउ, चिउरा, चकलेटहरू।
बल्लतल्ल पसल देखेका हामी खुसीले उत्साहित भयौँ। अनि चिउरा र चाउचाउ किनेर खायाैँ।
भोक लागेर बोल्नसमेत नसकेकी मलाई पहिलो पटक चाउचाउ र चिउरा यति मिठो लाग्यो, जति पिज्जा र बर्गर पनि लागेको थिएन।
खाजा खाइसकेपछि हामी विश्राम मार्न थाल्यौँ। त्यसैबेला सन्दीप र माैसमी रिसाउँदै भन्न थाले, ‘कति टाढा छ? अब चाहिँ हामी हिँड्न सक्दैनौँ।’ भाइ बहिनीहरूलाई सान्त्वना दिँदै मैले भनेँ, ‘अब आउन लाग्यो क्या।’
चिलाउनीबाट केही पर हिँडेपछि हामीले गाडी देख्याैं। अनि हतारिँदै सोधिहाल्यौँ, ‘दाइ यो गाडी ओख्रनी गाउँ जान्छ?’ सहचालक दाइले भने, ‘जान्छ बस्नु।’
गाडीको सिटमा बसेर घडी हेरेकी थिएँ, ठ्याक्कै ११ पो बजेको रहिछ। आफैँ सोच्न थालेँ, ‘हैट तीन घण्टा पाे हिँडिएछ।’
बिहानको थकाइको कारण सिटमा बसेकी म कत्तिखेर निदाएछु, पत्तै भएन। भतिज विवेकले उठाएपछि बल्ल थाहा भयो– ओख्रेनी गाउँ पुगिसकेका रहेछौँ।
गाउँ पुग्दा साढे ११ बजेको थियो। गाडीबाट नझर्दै मैले साथी कविता र उनको बहिनीलाई देखें। उनीहरू हामीलाई पर्खिरहेका रहिन्छन्।
गाडीबाट उत्रिएपछि कविताले भन्न थालिन्, ‘बाटोमा गाह्रो त भएन नि?’ उनको कुरा सुनेर रिसले चुर भएकी मैले सिधै भनिदिएँ, ‘तिम्रोजस्तो कवाडी गाउँ कतै देखेको थिइनँ।’ मेरो कुरा सुनेर हाँस्दै उनले डाँडाँतिर देखाउँदै भन्न थालिन्, ‘यही मास्तिर हो मेरो घर।’
गाडीबाट झरेको ५ मिनेटपछि हामी उनकाे घर पुग्याैं।
जस्ताको छानाे, माटोको भित्ता अनि परालको कुनिउँ। उनको घरको बनावट थियाे। जुन सहरको घरहरूभन्दा विल्कुल फरक थियो।
उनको घर पुगेपछि थकान मेटाउन हामी आराम गर्न थाल्यौँ। र, केही समयपछि खाना खाएर बसेका हामीलाई कविताले भन्न थालिन्, ‘माथितिरको डाँडा जाम, नाचगान भइरहेको छ। कलाकारहरू आएका छन्, रमाइलो हुन्छ।’
हामी फुरुङ हुँदै ओख्रनी डाँडातर्फ लाग्यौँ। जहाँ मेला लागिरहेको थियो।
नयाँ वर्षको दिन त्याे डाँडामा सधैं मेला लाग्ने उनले बताइरहेकी थिइन्। रमाइलाे थियाे मेला। कोही नाच्दै थिए, कोही गाउँदै त कोही मःम पकाएर बेचिरहेका थिए।
सररर चलिरहेकाे चिसाे हावाले मन फुरूङ थियाे।
मानिसहरूकाे खिलखिलाहटले मनै चङ्गा भइरहेकाे थियाे। हामी सबैजना रमाइलो गर्नमा व्यस्त थिए। त्यही व्यस्ततामा हामीलाई पत्तै भएन घडीले ५ बजाइसकेछ।
मेला उठाउन सुरु हुँदै थियो। कार्यक्रम गर्न आएका कलाकारहरू घर फर्कदै थिए। हामी पनि घर फर्कने सुरमा लाग्न थाल्यौँ।
हामीले कवितालाई भन्न थाल्याैँ, ‘गाडीको व्यवस्था मिलाऊ’, उनले पनि हुन्छ भन्दै थिइन्। उनी ‘गाडी लिएर आउँछु’ भन्दै डाँडाबाट तल झरेका हामीलाई छोडेर डाँडातर्फ जान थालिन्।
हामी उसैको आसमा थियौँ। गाडी लिएर आउँछिन् होला भन्दै।
त्यतिकैमा उताबाट हुइँकिएर बालुवा बोक्ने गाडी आउँदै थियो। त्यहाँ कविता थिइन्।
उनलाई देखेर खुसीले हामीले हात हल्लायाैं। उनले पनि गाडीबाट हात हल्लाउँदै आफू आइरहेको इशारा दिँदै थिइन्। हामी खुसीले सोच्दै थियौँ– साथीले हाम्रो लागि गाडीको व्यवस्था मिलाइदिएछ।
तर, हाम्रो खुसी केहीबेरमै टुट्यो, जब उनले हामीलाई हात हल्लाउँदै ‘बाइ’ भन्दै गाडीबाट सुन्दरीजलतर्फ लागिन्। हामीलाई अलपत्र पारेर गाडीमा रमाउँदै गएकी उनलाई देखेर हामी छक्क पर्याैं।
गाडी पर्खंदापर्खंदै ६ बजिसकेको थियो। हामी सबैको एउटै उद्देश्य थियो, ‘जसोतसो घर पुग्नु।’
गाडी नपाएर हामी अलपत्र परेर बसिरहेका थियौँ। त्यतिकैमा कविताकी बहिनी र बुबाले हाम्रो लागि गाडीको व्यवस्था गरिदिए। रिजर्भ गरेर ल्याएको बालुवा बाेक्ने गाडीमा मान्छे अट्दैन भन्दै कराइरहेका थिए गाडीका मानिसहरू।
तर, कविताकाे बुबाकाे चिनेकै मान्छे भएर हाेला गाली गर्दै भएपनि हामी पाँच जनालाई गाडीमा बसाउनुभयाे। त्यहीपनि काेचाकाच।
गाडी चढेका सबैजना होहल्ला गर्नमा मस्त थिए। तर हामी भने घर छिट्टै पुगोस् भन्ने आसमा थियौँ। र, डरमा पनि। कतै बिच बाटोमै झराएर अबर पार्ने होकि!
हावाकाे गतिमा चलाएकाे गाडी २ घण्टापछि मेडिकल कलेज पुगेर राेक्कियाे। त्यसपछि चालकलाई पाँच सय रूपैयाँ दिएर गाडीबाट झर्याैं अनि सबैलाई धन्यवाद दिँदै घरतर्फ लाग्यौँ।
रातकाे ८ बजे घर पुगेका थियाैं हामी। त्यसपछि हामी सबैले एउटै निर्णय गर्याैं, अब कहिल्यै कविताको घर ‘ओख्रनी गाउँ’ नजाने। किनकि, उनले हामीलाई छक्काएकी थिइन्। त्यही पनि नयाँ वर्षकाे दिन।