नेकपा (एकीकृत समाजवादी पार्टी)ले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरूसँगको संवादपछि चारैजना मन्त्रीको नाम टुंग्याएकाे हाे।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामकुमारी झाँक्रीको नाम पक्का भएको छ।
सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाइने भएको छ। खतिवडाले नै यो पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले बन्दैछन्। माधव नेपालले श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने भएका छन्।
राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको छ। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले यीनै नाममा लगभग सहमति भए पनि भोलि बिहान बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने जानकारी दिएका छन्।
नेमपा (एस)को भागमा दुईवटा मुख्यमन्त्री
नेकपा (एकीकृत समाजवादी पार्टी)ले प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ।
सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (एस)लाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको नेकपा (एस)का एक नेताले जनाएका छन्। दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति भएको उनकाे भनाइ छ।
प्रदेश नम्बर १ र बागमती प्रदेशमा हाल एमाले नेतृत्वको अल्पमतकाे सरकार छ। सरकारले असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ।
नेकपा (एस)ले थप्यो चार जना पदाधिकारी
नेकपा (एस)ले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ।
एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवमा गरिमा शाह, जीवराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनीत गरिनेछ।
केन्द्रीय सदस्य नामावली सार्वजनिक गर्न गृहकार्य गरे पनि भोलि केन्द्रीय सचिवालयले नामावली टुंगो लगाउने र भोलि वा पर्सि नाम सार्वजनिक गर्ने उनले बताए। नेकपा (एस)को ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।
पार्टीले अनुशासन, लेखा र निर्वाचन आयोगमा ३५ सदस्यीय हुने निर्णय गरेको छ। ती आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पद राख्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।
केन्द्रीय विभाग २५ सदस्यीय, स्थानीय तहका कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव दुई गरी छ पदाधिकारी व्यवस्था गरिएको उनले जानकारी दिए। नेकपा (एस)ले जिल्ला कमिटी १०१ सदस्यीय गठन गर्ने निर्णय गरेको छ।
बैठकले विजय गुरुङको संयोजकत्वमा सम्पर्क कमिटी पनि गठन गरेको छ।
पार्टीले केन्द्रीय कार्यालयसमेत गठन गरेको छ। महासचिव वेदुराम भुसालको संयोजकत्वमा गंगालाला तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन्।
यस्तै पार्टीले दैनिक कार्य सञ्चालन गर्नका लागि महासचिव भुसालको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ।
बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ। उनले प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले पाउने सहमति गठबन्धन दलबीच भइसकेको जानकारीसमेत दिए।