जहाँ राजनीतिदेखि लिएर ऐतिहासिक बिषयमा बहस हुने गर्छ, त्यहाँ चियाको सर्कोसँगै आफ्नो समाजको यथार्थलाई बयान गर्दै गफमा रुमलिनु जाे काेहीकाे पनि मिठो अनुभव हो।
उसो त नेपालमा चियागफ भएजस्तै अरु देशहरूमा कफीगफ नहोलान् भन्न सकिदैन। यहाँ अनेक विषयवस्तुको बहस हुन्छ तर अनेक विषयवस्तुको बहस भन्दैमा पार्टीको अधिवेशनमा जस्तो भीड चिया पसलमा मैले कहिले देखिन।
चिया पसलले स्तरको आधारमा चियाको स्वाद बदल्ने भए त्यहाँ चिया पिउन मन पराउने धेरै राजनीति कर्ताहरुको सोचमा फेरबदल आउन सक्थ्यो होला। फेरि अपवादमा यो नभन्नु होला कि, चिया पसलेको चियाको स्वादलाई संविधानको नियम कानूनमा स्थापित गरिदिउँ। यदि त्यसो भए चियाको अस्तित्व हराउन सक्छ। चिया पसलेको घरमा भोकमरी बढ्न सक्छ।
बिहानपख त्यो चिया पसलेको जति हसिलो मुहार देखे, मैले आजसम्म घुस खाएर राजधानीमा महल उभ्याउने धनी नेताको पनि देखेको छैन होला।
जब–जब बिहानपख उसको चिया पसलमा भीड हुन्छ, अनि उसकोमा बस्ने ठाउँ कम हुँदा-हुँदै पनि मानिसहरू चिया खान आउँछन्।
कोही व्यक्तिगत गफ गर्दै, कोही अखबार हेर्दै, कोही आफ्नो चिसिएका तन-वदनलाई स्फुर्त बनाउँदै उभिएरै भए पनि चियाको चुस्की लिन थाल्छन्। त्यो सडकको चिया पसलमा त्यत्तिको शान्त र मिठास दृश्य मैले धेरै ठूला रेस्टुरेन्टमा पनि देखेको छैन।
एक झुत्रो पोशाकमा फूस्रो अनुहार र धमिलो हाँसो लिएर तपाईलाई सडकमा चिया दिने व्यक्तिको चिया खाँदा तपाई आफ्नो मात्र राम्रो दिन सुरु गर्नुहुन्न, उसको पनि बेलुकालाई परिवारको छाक टार्ने शुरसारको सुरुवात हुन्छ।
उ मात्र एउटा सडकमा बस्ने त्यस्तो व्यक्ति हो, जसले अरुको हृदय तृप्तगर्दा आफू आनन्द लिन्छ।
चिया पसलमा आएर आफ्ना घरदेखि अफिससम्मका तिता-मिठा वृतान्त सुनाउँने हजारौंको संख्यामा त्यहाँ उपस्थित भइरहेका हुन्छन्। हरेक दिन उनीहरु खुसीमा होस् वा तनावमा, तर चिया र चियागफ छुटाउँदैनन्।
जस्तो गाउँघरमा महिलाहरू कुवा, पोखरी, खोलामा बिहानपख पानी लिन वा नुहाउन जाँदा आफ्नो दु:ख अनि सुखका भेल बगाउन छुटाउँदैनन्। तर उनीहरुको दु:ख वा सुखमा यहाँ मिठास थप्ने चियाको स्वादवाला मिठासपन अरु केही संलग्न हुँदैन।
खैर! महिलाहरूको जीवनमा मिठास वा उनीहरुको दु:ख र असन्तुष्ट भोगाइमा परिवर्तन आउँनू भनेको चियामा चिया पसलेले जानी-जानी चिनी हुँदा-हुँदै नुन लगाउनुजस्तै हो।
हाम्रो समाजमा धर्म र संस्कृतिको नाममा त्यस्ता धेरै अन्धविश्वासको मूल्य मान्यता केही यसरी समावेश छन्, मानौं तातो चियामा मिठाइ घोलिएजस्तै हो। फरक यति हो कि, चिया र मिठाइको मिश्रणले चियाको स्वाद बढाउँछ तर धर्मको नाममा अन्धविश्वासको मिश्रणले समाजमा सधैँ नमिठो स्वादको प्रकोप फैलाइरहन्छ।
नमिठो स्वाद भए हामी चिया नपिउने निर्णय लिन सक्छौ तर गलत असर गरेको छ भन्ने थाहा हुँदैमा हामी धर्मबाट अन्धविश्वास हटाउन सक्दैनौं वा भनौं हामी हटाउन चाहदैनौं। कारण चिया सबैलाई नमिठो भएमा नपिउने निर्णयले वश् एक चिया पसलेको क्षति हुन्छ तर अन्धविश्वास हटाउने निर्णयले एक सिङ्गो समाजका शासनीय व्यक्तिहरूको शासनमा धक्का लाग्नसक्छ।
कोही व्यक्तिले आफ्नो राजाको पद हुँदा-हुँदै आफ्नो पदको विरोध गरेर त्यो राज्य सम्हाल्ने जिम्मेवारी आमनागरिककै हुनुपर्छ भनेर आमनागरिकसँग सडकमा चिच्याइयाे।
याे कुरा चिया पसलेले आफ्नो चिया मीठो भएन भनेर चिया मीठो बनाउन छोडी आफ्नो चिया पसल बन्द गर्न आह्वान गर्नेहरूको संख्यामा संलग्न हुनु र चिया पसल बन्द गर्नु जस्तै हो। जो उ कहिल्यै गर्दैन वा भनौं यो असम्भव नै छ। किनकि यसो गर्दा उसको मात्र हैन उसको आशमा बसेका घरमा पुरै परिवारको पेट भोकै रहनसक्छ।
त्यस्ता धर्मका राजाको जस्तो सानो-तिनो नीति-नियम फेर्दैमा सानो-तिनो क्षति हुनेजस्तो चिया पसले कहाँ हो र ! धर्मका राजाहरू त त्यति सानो बदलाव गर्न असक्षम छन् भने, झन् चिया पसलेले हाम्रो लागि सानो तर उसको लागि त्यति ठूलो त्याग गर्नु भनेको उसको परिवार भोकले मृत्यु अङ्गाल्नु जस्तै हो।
हाम्रो लागि हेर्दा सानो त्याग तर उनीहरुको लागि धर्मबाट अन्धविश्वास हट्नु भनेको उनीहरुको शासनीय सत्ता ढल्नु जस्तै हो।
कसैले आफ्नो घर आफै तब मात्र ढाल्छ जब उसलाई त्यो भन्दा राम्रो र अर्को नयाँ घर निर्माण गर्ने चम्किलो मौका पाउँछ। जस्तो नेताहरू चुनाव आउँदा, हामी महिला तथा उत्पीडनमा परेका वर्ग, जातजातिलाई समानता दिलाउछौ भनेर बितेका पूर्खाकै प्रतिज्ञा लिन्छन् अनि मतदान लिइसकेपछि आफू सत्तामा पुगेर आफै त्यो कमजोरहरूको कमजोरीमाथि शासन गर्छन्।
जसरी एक चियाको स्वादले हाम्रो हृदयमा शीतलताको राज गर्छ। तर यो राज आनन्दमय हुन्छ अनि त्यो राज मानिसप्रतिको अविश्वासको खाल्डो नजिक नजिकै पुर्याउँछ।
उसकै चिया पसलमा आएर उसैको चियाको स्वाद लिएर राजनीतिको कुटनैतिक बहस गर्दै उसलाई धन्यवादसहित केही रकम दिएर उसको मन जिते झै गरेर उमाथि नै राज गर्न सक्ने खुरापाती दिमाग नेतामा बाहेक अरु कसमा होला र ! बिचरा, चियाको स्वादमा मिठाइले राज गरेजस्तो।
चिया पसलमा बौद्धिक व्यक्तिदेखि ठूला ठूला नखटज (राजनीतिज्ञ)हरू आएर त्यो चियाको स्वादमा आफ्नो कयौं नकाब त्यो चिया पसललेको अघि उतार्दा होलान्।
आफ्ना अनुभव तथा योजनाहरू बताउँदा होलान्, उनीहरुको आफ्नो समूहका व्यक्तिहरूसँग। तर त्यसमा सही-गलतको तर्क त्यो चिया पसलेले कहिल्यै राख्दैन किनकि उसलाई देशभन्दा बढी उसको परिवारको भोको पेट र चिया उम्लेर पोखिएला भन्ने पिर हुन्छ।
उसको अभावले उसलाई त्यहाँभन्दा टाढा गएर सोच्ने मौका दिदैन वा भनौं त्यो मौका दिए पनि उ सोच्दैन। किनकि उसको लक्ष्य भनेको परिवारको झुत्रो पोसाक बदल्नु हो, देश बदल्नु हैन। देश बदल्ने पक्षमा लागे उसको चिया पसलमा नेता कार्यकर्ताहरूले मट्टीतेल हालेर जलाइदिन पनि सक्छन्। किनकि उनीहरु अरूको क्षतिमा आफ्नो फाइदा खोज्ने मानिसहरू हुन्।
चिया पसलमा चिया पिउँन आउने व्यक्तिहरू चाहे जो सुकै हुन्, जस्तोसुकै उद्देश्य बोकेर हिँडेका हुन् वा उद्देश्यविहिन व्यक्तिहरू हुन्। जुनसुकै समुदाय अथवा पेसामा आवद्ध हुन्, एक चिया पसलेको लागि त्यो व्यक्ति सधैँ भगवानजस्तै हुन्छ।
उसको स्वाद र मिठासमा भेदभाव हुँदैन। उनीहरुको समूहबाट उ सधैँ यहीँ अपेक्षा मात्र राख्छ कि, त्यो व्यक्तिहरूको गफको विषयवस्तु जेसुकै होस् तर उनीहरुको त्यो गफ लम्बियोस्। उनीहरु थप समय त्यहाँ बसुन्, थप व्यक्तिहरू पनि संलग्न रहुन् र थप चियाको ग्लासको माग आओस् अनि आइरहोस्।
एक भ्रष्टाचार गर्ने व्यक्ति सधैँ आफूमाथि उठेर अरूको स्थानलाई दहन गर्ने गर्छ। उसले कहिले यो सोच्दैन कि इमान्दारीका साथ पनि जिविका चलाउन सकिन्छ। एक नेता सधैँ झुटको पुल बाँधेर हरेकको विश्वाससँग हाँसी-हाँसी फुटबल खेलिरहन्छ। उसलाई थाहा भए पनि उ मान्दैन कि इमानदारी मानिसको कर्तव्य हो। त्यस्ता धेरै व्यक्ति छन् जसलाई इमान्दारीको पाठ जति घोटी-घोटी सिकाए पनि नतिजा शून्य आउँदछ। इमान्दारी के हो भन्ने कुरा कसैले त्यो सडकको चिया पसलेबाट सिकोस्, जसको काम नै सबथोक हो।
हरेक प्रकारका व्यक्तिहरूको भीड जो त्यहाँ चिया पिउने उद्देश्यले आएका हुन्छन्, त्यो भीडबाट पनि एक चिया पसलेले धेरै कुरा सिकिरहेको हुन्छ।
जस्तो विद्यालयमा शिक्षा लिन गएका विद्यार्थीहरूको त्यो भीडबाट पनि एक शिक्षकले धेरै कुराहरू सिकिरहेको हुन्छ। जो सकारात्मक पक्ष छ भने त्यो शिक्षकले अर्को समूहका विद्यार्थीलाई पनि त्यो पक्ष सिकाउँछ।
अब कुरा गरौं फेरि त्यहीँ मिहिनेती चिया पसलेको, अरुको प्यास वा भनौं चियाको माग नै उसको लागि सर्वोपरी हुन्छ। एक व्यक्ति जो अरूको आगमनले खुसी हुन्छ, त्यो व्यक्ति जोसँग धन छैन तर सबैको हृदय तृप्त होस् भन्ने बहुमुल्य मनाशयय छ।
जब अधिवेशन वा चुनावमा भीड बढ्छ, त्यस पार्टीका नेता तथा कार्यकर्ता खुसी हुन्छन्। जस्तो चिया पसलेको चिया पसलमा भीड बढ्छ, तब चिया पसले मात्र हैन अरु व्यक्ति पनि खुसी हुन्छन्।
तर, अधिवेशनको भीडमा स्वार्थपन छ। त्यो खुसी उसको चुनावसम्मको मात्र हो। तर चिया पसलेकोमा भएको भीड एक निर्दोष अपेक्षारहित मात्र हुन्छ, जो त्यो भीडको सधैँ सराहना गर्दछ।
चिया पसलेको मानसपटलमा सधै त्यो भीडमाथि त्यत्तिकै लगाब रहिरहन्छ।
उ स्वतन्त्र सोच्छ अरुको खुसी उसको खुसी हो, अरुको माग उसको आम्दानी हो, अरुले दिएको प्रशंसा उसको इज्जत हो। किनकि उ चिया पसले हो, उसको लागि चियाको स्वाद बढाउनु र त्यहाँ उपस्थित मानिसहरूको मन जित्नु नै ठूला कुरा हाे।