नार गाउँकी रिन्जेन डोल्मा लामा शुक्रबार योजना सम्झौताका लागि पालिका कार्यालय च्याँखु पुगिन्। नार्पाभूमि गाउँपालिका केन्द्रबाट नार पुग्न कम्तीमा पाँच घण्टा हिँड्नुपर्छ। झिसमिसेमै घरबाट निस्किएकी उनी ९ बजेतिर कार्यालय पुगेकी थिइन्।
उनी पुग्दा पालिका कार्यालय क्षेत्रमा पानी परिरहेको थियो। घाम नलागेका कारण उनको काम हुन पाएन। बाढी-पहिरोले यसपालि च्याँखुमा बाल्ने लघु जलविद्युत् आयोजना पूरै बगायो। विद्युत् नभएपछि सोलारमा निर्भर छ, नार्पाभूमि। ‘घर छिटो फर्किउँला भनेर बिहानै आ'को। झन् कामै भएन’, उनले भनिन्, ‘पहिले पनि यस्तै भएको हो। सिमसिम पानी पर्यो भने कार्यालय नै खुल्दैन।’
शुक्रबार योजना सम्झौता गर्नेको भीड थियो कार्यालयमा। घाम नलागेका कारण कसैको काम हुन सकेन। ‘पालिका पुग्न पूरै दिन छुट्याउनुपर्छ। बल्लबल्ल पुग्यो, सोलार नचलेर काम रोकिन्छ’, उनले भनिन्, ‘छिटो काम नभए भोलिपल्ट पनि लाग्छ। यसरी दु:ख मात्र भयो। कि सोलारको पावर थप्नुपर्यो, नत्र बिजुली ल्याउनुपर्यो।’
यस वर्ष हिमाली क्षेत्रमा वर्षाले धेरै क्षति पुर्याएको छ। बाटाघाटा बगाएको छ, लघु जलविद्युत्को नामोनिशान छैन। ‘बिजुली ल्याउन धेरै प्रयास गरेको हो। बाढीले बाटो बगाएपछि मर्मतको सामान ल्याउन पाएको छैन’, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डित भन्छन्, ‘घाम भए काम छ, घाम नभए काम छैन। दिनभर घाम कुरेरै बित्छ। चाहेर पनि काम गर्न सक्दैनौँ ।’
गाविस हुँदा नार र फु गाउँका नागरिक सरकारी सेवा लिन भीमकाय भीर छिचोलेर सदरमुकाम चामेसम्म पुग्थे। चामे पुग्न उनीहरूलाई डेढ दिनको बाटो हिँड्नुपर्छ। त्यो पनि कठिन उकालो। स्थानीय तह बनेपछि कोतो र चामेबाट हुँदै आएको काम च्याँखु पुगेको छ। च्याँखुमा पालिका कार्यालय बनाइएको छ। बैंक पुगेको छ, प्रहरी पनि पुगेका छन्। हुनत च्याँखुबाट पनि दुईवटै गाउँ पुग्न आधा दिन लाग्छ।
आर्थिक र प्रशासनिक सबै काम पालिका केन्द्रबाटै हुने भएपछि गाउँलेको दु:ख घटेको छ। तर, घामले काम रोकिदिँदा भने कहिलेकाहीँ रिसाउँछन्। कार्यालय भर्खर बनाएकाले पर्याप्त व्यवस्थापन नभएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए। ‘बर्खामा सोलार चल्दैन, हिउँदमा बिजुली बल्दैन। बर्खा लागेपछि विद्युत् नै चाहिन्छ। हिउँदमा चाहिँ पानी जम्छ, बिजुली बल्दैन’, उनले भने, ‘दुर्गमको दु:ख यस्तै हो। बिजुलीले काम गरेन भने कार्यालय भएर पनि के अर्थ भो र ?’
धेरै पटक केन्द्रीय प्रसारण लाइन जोड्न माथिल्ला सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। ‘कहिले काठमाडौं धाएँ, कहिले पोखरा। सबैलाई निवेदन बुझाएको छु’, उनले थपे, ‘हुन्छ, गर्दिन्छु भन्छन् तर गर्दिँदैनन्।’
जनसंख्याको हिसाबले यो पालिका नेपालकै सबैभन्दा सानो हो। साविक नार र फु गाविस मिलेर पालिका बनेको हो। यहाँको जनसंख्या ५६१ मात्र छ। भौगोलिक विकटताका कारण नार्पाभूमिलाई छुट्टै पालिका बनाइएको हो।
नार्पाभूमिमा विद्युत् मात्र होइन, सडक र संचार सुविधासमेत पुगेको छैन। सडक संजालले नछोएको पालिका हो, नार्पाभूमि। ‘खल्तीमा मोबाइल छ, कहिल्यै घण्टी बज्दैन। फोन गर्नुपर्दा डाँडा खोज्दै हिँड्नुपर्छ’, सोही पालिकाका कर्मचारी विष्णुप्रसाद पोखरेल भन्छन्, ‘कोतोबाट उकालो लागेपछि कतै फोन टिप्दैन।’
नेपाल सरकारको योजनाअनुसार पालिका केन्द्रमा इन्टरनेट पुगेको छ। त्यसले पनि घाम नलाग्दासम्म काम गर्दैन। हिउँद लागेपछि यहाँका नागरिक हिउँ छल्न बेँसी झर्छन्। १५ कात्तिकदेखि चैतको मध्यसम्म गाउँभन्दा अलिक तल क्याङ र मेतामा हुन्छन्। कोही भने व्यापार गर्न जिम्मु बोकेर शहर पस्छन्।