म्यान्मार 'कू' र आङ सान सुकीप्रति एमाले अध्यक्ष ओलीको चासो [पूर्णपाठ]

एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ल्याटिन अमेरिका, चीन, अफगानिस्तान जस्ता देश मात्र मुख्य चासोको रूपमा देखिएको छ।

४४ पृष्ठ लामो ओलीको राजनीतिक प्रतिवेदनमा भारतप्रति नरम नीति अवलम्बन गरिएको छ। उनले हालै अफगानिस्तामा भएको राजनीतिक उथलपुथलको बाछिटा नेपालमा पनि पर्न सक्ने उल्लेख गरेका छन्। 

‘अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै नेपाल स्पष्ट रूपमा अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा दृढतापूर्वक उभिनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ।

ओलीले लोकतान्त्रिक प्रणालीमाथि विभिन्न मुलुकमा चुनौती खडा भएको उल्लेख गरेका छन्। ‘म्यान्मारमा 'कू' भएको छ र नेत्री आङ सान सुकीलगायत लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गरिएको छ। शान्तिपूर्ण प्रदर्शनमाथि हिंसात्मक दमन भएको छ,’ उनले लेखेका छन्, ‘ल्याटिन अमेरिकाका विभिन्न मुलुकमा वामपन्थी सरकार र आन्दोलनलाई असफल बनाउन हस्तक्षेप र षडयन्त्र जारी छन्। यसका बाबजुद त्यहाँ वामपन्थी आन्दोलनले नयाँ गति लिइरहेको छ।’

ओलीले चीन र भारतबीचको तनावको असर समग्र दक्षिण एसियामा परेको उल्लेख गरेका छन्। ‘चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई तनाव र सीमा विवादले विस्थापन गर्दै लगेको छ। दुई देशबीच संवाद भए पनि समस्या कायमै छ। दुई देशबीचको तनावको असर समग्र दक्षिण एसियामा अनुभूत भएको छ।

भारत– पाकिस्तानबीच तनाव जारी नै छ। भारतसँग नेपाललगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन्,’ उनले लेखेका छन्।

उनले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया–प्रशान्त क्षेत्र बन्न थालेको र अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित रहेको उल्लेख गरेका छन्। ‘हालै अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता (ओकस) ले यस क्षेत्रमा तनाव सिर्जना गरेको छ,’ ओलीले लेखेका छन्।

भारतसँग नेपालको सीमा र सुरक्षा चासो भए पनि ओलीले प्रतिवेदनमा खासै केही उल्लेख गरेका छैनन्। उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, नेपालको आन्तरिक मामिलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपाली जनताले चासो राखेको मात्रै उल्लेख गरेका छन्। यसबारे पार्टीको धारणा उल्लेख छैन।

प्रकाशित मिति: : 2021-10-01 18:13:00

प्रतिकृया दिनुहोस्