फिल्म रिभ्यू

पिता र पुत्रको सम्बन्ध देखाउने ‘अबाउट माइ फादर’

पिता र पुत्रको सम्बन्धको कथामा निर्माण भएको सिनेमा ‘अबाउट माइ फादर’ पछिल्लो हप्ता रिलिज भएको हो। पिता र पुत्रको भावनात्मक सम्बन्धमा कस्तो–कस्तो उतारचढाव आउँछ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हास्यशैलीमा देखाइएको यो सिनेमा अर्थपूर्ण सिनेमाका दर्शकहरुलाई निकै राम्रो लाग्नेछ भन्ने पङ्क्तिकारको अनुमान छ।

सिनेमाको मूल कथाअनुसार मध्यम वर्गीय परिवारका पिता सालवो (रोबर्ट डि निरो)ले आफ्नो पुत्र सेबस्टियन (सेबस्टियन मनिस्केल्को)को पालनपोषण आफ्नै गच्छेअनुसार अर्थात् अभावको साथ गरिरहेको हुन्छ। यसैबीच सेबस्टियनको भेट धनाढ्य परिवारकी युवती इल्ली (लेस्ली बिब)सँग हुन्छ र उनीहरुबीच प्रेम हुन् जान्छ। जब इल्ली र सेबस्टियनको परिवारको भेट हुन्छ त्यसपछि सिनेमा रोचक ढङ्गले अघि बढ्छ। के धनाढ्य परिवार कि इल्ली र मध्यम वर्गीय परिवारका सेबस्टियनको प्रेमले सुखद परिणाम दिन्छ ? यो थाहा पाउन भने सिनेमा नै हेर्नुपर्छ।

सिनेमामा सबै कलाकारहरु सुपर स्टारहरु भएको र अभिनय पनि उत्कृष्ट भएका कारण कोही कसैभन्दा कम छैनन्। यी सबै कलाकारहरुको अनुहार र नाम नै बिक्ने कारण सानो कमीलाई पनि दर्शकहरुले सजिलै माफ गरिदिन्छन, यद्यपि सबै मुख्य र सह-कलाकारहरुको अभिनयमा खोट लगाउने ठाउँ छैन।

करिब ९० मिनेटको यो सिनेमामा हास्यको साथमा भावना पनि छ। धेरै दृश्यमा दर्शकहरुको आँखा रसाउँछ र ओठमा मुस्कान आउँछ त्यसको सबै श्रेय निर्देशक लाउरा टेरुसोलाई जान्छ। अस्टन अर्ल र अभिनेता मनिस्केल्कोले संयुक्त रुपमा तयार पारेको स्क्रिप्टलाई निर्देशक टेरुसोले सिनेमालाई हास्यरसमा भावुक बनाएका छन्, जो तारिफयोग्य छ। स्टेफेना इकोनोमाउको सङ्गीत, रोजर स्टोफर्सको छायाँकन, स्कट डि हानसनको सम्पादनको साथै क्रिस बेल्लीको भिएफएक्सको काम पनि तारिफयोग्य छ।

अमेरिकी समाजमा पिता र पुत्रको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा नभएका दर्शकहरुलाई यो सिनेमाले खासै मनोरञ्जन प्रदान गर्न नसके पनि यो बारेमा जानकारी भएका दर्शकहरुलाई रमाइलो लाग्नुको साथै सोच्नसमेत बाध्य बनाउँछ। स्वस्थ मनोरञ्जन लिन इच्छा भएका दर्शकहरुलाई समय र पैसा खर्च भएकोमा चिन्ता लिनु पर्दैन।

@twitter#naviinr

ट्रेलर :

प्रकाशित मिति: : 2023-06-12 13:10:00

प्रतिकृया दिनुहोस्