ठमेलकाे बुद्ध होटलमा जनार्दन शर्माको भेला, वर्षमानलाई उछिन्न यस्ताे खेलोमेलो

Breaknlinks
Breaknlinks

लामो इतिहास बोकेको माओवादी यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता–गठबन्धनमा छ।

माओवादीले शान्तिप्रक्रियामा आएको सुरुका दिनमा जनताको मन जितेको थियो तर पछिल्लो मोडमा आइपुग्दा भने आलोचना खेपेको छ।

वास्तवमा पार्टीको सिद्धान्त र विचार पार्टीभित्रकै विभिन्न पात्रहरुले गलत रुपमा प्रयोग गर्छन् भन्ने उदाहरण प्रशस्त देखिदैँ गएको छ– माओवादीभित्र।

माओवादीले रोल्पाको होलेरी चौकी आक्रमण गरेर जनयुद्ध सुरु गर्दा, कति सुन्दर सपनाहरु सजिएका थिए जनताको आँखामा। कृष्णबहादुर महराको शालीन व्यक्तित्व देख्दा उनीप्रति सम्मान नगरी को रहन सक्थे होलान् र !

राजधानीले सायदै कहिल्यै समेट्नुपर्छ भन्ने नचिताएको राप्तीको सुदूर भूगोल थियो– रुकुम–रोल्पा । युद्ध सुरु हुँदा सबैभन्दा बढी मारमा पनि यहाँकै जनता परे तर यो कुरालाई पनि नकार्न सकिन्न कि त्यही युद्धले आधारले आज रुकुम–रोल्पा ऐतिहासिक भूगोल बनेका छन्।

पहिचान बोकेर टाढाबाटै भए पनि अचेल राजधानीलाई ढाड देखाउन सक्छन्– मुस्कुराएर। माओवादीले बाँडेका सपनाहरु जनताले कति बाँचे, त्यो व्यक्तिगत मूल्याङ्कनको विषय होइन तर सपनाको पछि लागेर उनीहरुले के पाए ? यसलाई सजिलै अनुमान लगाउन सकिन्छ।

खैर यस्ता पुराना कुराहरु अब इतिहास भइगए। अब समय कहाँ उस्तै रहिरह्यो र ?

माओवादीको सिद्धान्त र विचार आज पनि उही छ ? के आज पनि माओवादीसँग जनताको लागि सपना उहीँ छन् वा के माओवादीले जनताको प्रश्नलाई न्यायिक उत्तर दिन सक्छ ?

मुख्य प्रश्न भनेको किन फेरिए उनै पात्रहरु ? हिजो जनताको आँखामा सपना बाँड्दै हिँड्नेहरु आज किन उनैका आँखाहरुकै व्यापार गर्दैछन् ?

यति बेलाको मूल प्रश्न हो– पार्टीभित्रकै पात्रहरुले अझै किन पद र सत्ताका लागि मात्र दौडधूप गरिरहेका छन्। पार्टीभित्रैकै नेताहरुलाई कतिसम्मको गर्दै हिँडेका छन्, त्यसको एउटा ज्वलन्त उदाहरण छ।

सानो चर्चा गरौँ।

गत शनिवार काठमाडौंको ठमेलस्थित बुद्ध होटलमा ३५ देखि ४० जनाजति केही 'विशेष पत्रकार' भेला भए। ती पत्रकारलाई बोलाएका थिए–  माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माले।

शर्माले पत्रकारहरुलाई बोलाएर भेला गर्न लागेको कुरा शर्मानिकट व्यक्तिहरुबाहेक माओवादीकै अन्य नेताहरुलाई थाहा थिएन।

वास्तवमा भएको के रहेछ भने  माओवादी केन्द्रको राष्टिय सम्मेलन नजिकिदै गर्दा अर्थमन्त्री शर्माले आफ्नो पार्टीमा आफ्नो शक्तिको आँकलन गर्न आफ्ना 'विशेष पत्रकार' हरुलाई बोलाएका रहेछन्। भेलामा उपस्थित भएका पत्रकारहरुले पनि शर्मालाई देशभर तपाईंको राम्रो चर्चा हुँदैगएको भन्दै ब्रिफिङ दिएछन्।

त्यसो त, पार्टी अध्यक्ष प्रचण्डले एक महिनाअघि मात्रै शर्मालाई सबैभन्दा विश्वास गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए। त्यति मात्र कहाँ हो र, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बन्ने पक्का भएपछि प्रचण्डको पहिलो रोजाइमा उनै शर्मा परे तर अर्थमन्त्री पनि बनाए। तर, शर्माले भने शनिवार प्रचण्डकै आँखा छलेर आफ्नो विशेष पत्रकारहरुसँग भेला गरे।

भेलामा सहभागी एक पत्रकारका अनुसार, शर्माले देशभर आफ्नो पक्षमा माहोल बनाउन निर्देशन दिएका थिए। ‘देशभर मेरो माहौल के छ भनेर सुझाव लिन बोलाएको हुँ’, भेलामा शर्माको भनाइ उधृत् गर्दै ती पत्रकारले भने, ‘माओवादी पार्टी तदर्थवादी भयो, तपाईंहरू मलाई साथ दिनुस्– अब नयाँ ढंगले जानुपर्छ।’

भेलामा सातै प्रदेशका ३५–४० जना सहभागी थिए। शर्मा भने आफ्नो सम्बोधन सकेर काम परेको भन्दै भेलाबाट निस्किसकेका थिए।

उनी निस्केपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्मा, राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा, ओपेन्द्र शर्मा, मन्त्री शर्माका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, प्रेस संयोजक सचिन रोका लगायतले भेलालाई निरन्तरता दिएका थिए। भेला बिहान ११ बजेदेखि राती ९ बजेसम्म चलेको थियो। भेलाका सहभागी हुन आएका पत्रकारहरुलाई हवाई टिकट र होटलका महङ्गा कोठाहरुको व्यवस्था मिलाइएको थियो।

भेलामा सहभागी अर्का एकजना पत्रकारका अनुसार शर्माले अर्थ मन्त्रायका विभिन्न गतिविधिहरुबारे जानकारी दिन भेला बोलाएका थिए रे ! तर भेलामा माओवादीको भगिनी पत्रकार संगठन– प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल नै उपस्थित थिएनन्।

यसबाटै प्रष्ट हुन्छ– भेलामा शर्मा निकटका सीमित र विशेष पत्रकारहरुमात्रै सहभागी थिए। शर्माको यो गुट भेलाले पार्टीमा नयाँ विवाद सुरु नहोला पनि भन्न सकिन्न।

माओवादी केन्द्रको हालैको केन्द्रीय समिति बैठकले वडादेखि केन्द्रीय नेतृत्वसमेत निर्वाचनबाट चयन गर्ने निर्णय गरिसकेको छ।

त्यसो त, पार्टीमा हालै भएको कार्य बाँडफाँडको आधारमा आगामी पुसमा हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनबाट महासचिव बन्ने दाउमा छन्।

राष्टिय सम्मेलनमा शर्मा र पार्टीकै प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनबीच महासचिवको लागि भीडन्त हुने देखिएको छ। पुन भने हाल कलेजोकै गम्भीर बिरामी परेपछि उपचार गराउन थाइल्याण्डमा छन्।

माओवादीकै केही नेताहरुले त यो सम्म भन्न भ्याएका छन् कि शर्मा पार्टीको आगामी महाधिवेशनमा प्रचण्डसँगै टक्कर गर्दैछन्। र यसबारे प्रचण्डले पनि थाहा पाइसकेका छन्। यो कुरा कति साँचो हो, यो उनैहरु जानुन्।
 

प्रकाशित मिति: : 2021-09-30 21:30:00

प्रतिकृया दिनुहोस्