घनश्याम भुसालले एमाले स्थायी कमिटीमा पेश गरे बेग्लै प्रस्ताव, यस्तो छ समृद्धि र समाजवाद पुग्ने बाटो (प्रस्तावसहित) 

फाइल तस्वीर
फाइल तस्वीर

एमाले उपमहासचिव घनश्याम भुसालले एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा स्थायी कमिटी बैठकमा दुईवटा प्रस्ताव पेस गरेका छन्।एमालेको विधान अधिवेशनको संघारमा सो पार्टीका राजनीतिक चिन्तक भुसालले बेग्लै प्रस्ताव अघि सारेका हुन्।

एमालेको आइतबारको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तावित कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बेग्लै प्रस्ताव पेस गरेका छन्। आज जारी बैठकमा पनि उनले अर्को प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उनले 'समृद्धि र समाजवादको बाटो' शीर्षककमा बेग्लै मत राखेका हुन्। प्रस्तावमा उनले जनताको बहुदलीय जनवादमाथि छलफल हुन छाडेको भन्दै यसमा घनीभूत छलफलको समेत माग गरेका छन्।

उपमहासचिव भुसालले प्रस्तावमा माओवादीकेन्द्रसँगको एकताका बेला दुई अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो प्रधानमन्त्री बन्ने व्यवस्थाको पनि आलोचना गरेका छन् ।

‘पार्टीको कार्यदिशा र संगठनबारे, खासगरी तिनको संगतिबारे छलफल गरौं। त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ,’ प्रस्तावमा भुसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ।’

उपमहासचिव भुसालले आसन्न विधान महाधिवेशनको महत्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्यांकनलगायतका विषयमा बेग्लै प्रस्ताव बैठमा पेस गर्ने बताएका छन्। यो प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेस गर्ने भुसालको भनाइ छ। 

प्रकाशित मिति: : 2021-09-20 14:34:00

प्रतिकृया दिनुहोस्