अधिकारकर्मीको ध्यानाकर्षण

रातभर जंगलमा बालिकाको शव !

बिएल संवाददाता

रुकुम (पूर्व)
फाइल तस्विर
फाइल तस्विर

चैत २२ गते बुधबार बेलुका सिस्नो टिप्न हिँडेका तारामान बुढाका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर रात पर्दै जाँदासम्म पनि घर फर्किएनन्। परिवारले वरपर खोज्न थाले। बिहान पर जंगलको भिरमा दुई दिदी-बहिनीको शव भेटियो। स्थानीयले प्रहरीलाई खबर गरे। स्थानीय प्रहरीको पहुँचमा नभएको भन्दै थप अनुसन्धानको लागि सदरमुकामबाट हिँडेको टोली दिउँसो अबेर घटनास्थल पुग्यो। रहस्यमय घटनाको अनुसन्धानका लागि हेलिकप्टरबाट अनुसन्धान अधिकृत र तालिम प्राप्त कुकुर ल्याइयो।

रात परेपछि पुगेको कुकुरले बिहानसम्म पर्खिनु पर्‍याे। रात परेका कारण शव उठाउन मिलेन। बुवाआमा, छिमेक र प्रहरीले रातभर जंगलबीचमा असरल्ल शव कुरेर बसे। अबोध बालिकाको शव रातभर बिच जंगलमा रह्याे। शुक्रबार दिउँसो मात्र अनुसन्धानको औपचारिकता सकाएपछि पोष्टमार्टमका लागि शव ७ घण्टाको दूरीमा रहेकाे जिल्ला अस्पताल लगिएको छ। घटना घटेको ४ दिनपछि शनिबार मात्र पोष्टमार्टम हुनेछ।

बुधबार साँझ सिस्नो टिप्न निस्केका स्थानीय तारामान बुढाका ११ वर्षीया रिना र ९ वर्षीया कालिमाया बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। प्रहरीले शंकासपद ४ जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान टोली अहिले पनि घटनास्थलमा छ।

अधिकारकर्मीको ध्यानाकर्षण

रुकुममा दुई दिदी-बहिनीको हत्या आशंका गर्दै प्रहरीले छानबिन सुरु गरिरहँदा यहाँका अधिकारकर्मीहरुले सरोकारवालाको ध्यानाकर्षण गरेका छन्। पश्चिम रुकुममा क्रियाशील अधिकारकर्मीहरुले शुक्रबार एक पत्रमार्फत ध्यानाकर्षण गरेका हुन्। ‘नागरिकहरु तीनतहको सरकारबाट शासित भइरहेको अवस्थामा पनि महिला तथा बालबालिका माथि हत्या, हिंसा, आतंक र बलात्कारजस्ता जघन्य अपराधको अन्त्य हुन सकेको छैन। देशभरि दिनानुदिन महिला र बालबालिका कुनै न कुनै तरिकाले ज्यान गुमाउन बाध्य छन्। यसबाट हाम्रो रुकुम पनि अछुतो रहन सकेको छैन्,’ उनीहरुले पत्रमा लेखेका छन्, ‘मिति २०७९ चैत्र २२ गते बेलुका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ३, रन्मा निवासी ११ र ९ वर्षिया दुई दिदीबहिनी घरबाट सिस्नो टिप्न गएको र घर नफर्किएपछि खोजी गर्दा २३ गते बिहान नाँक र कानमा लगाएको सुनसमेत लुटिएको अवस्थामा वीभत्स तरिकाले मृत अवस्थामा भेटिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनाको जानकारी पाएलगतै प्रहरीले अपराधमा संलग्नको खोजीकार्य तथा घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको पाइएको छ। कुनै पनि बालबालिकामाथि यस्ता किसिमका घटना हुनु मानव अधिकारको घोर उल्लंघन हो।’

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, महिला पुनस्र्थापना केन्द्र (ओरेक)का जिल्ला संयोजक दीपा धिताल, हरप्लेसका अध्यक्ष सुनिता बुढामगर, महिला मानवअधिकार रक्षक सन्जालका अध्यक्ष ब्युँझनापुन देवकोटा, अनौपचारीक सेवा केन्द्र इन्सेकका मनिसा केसी, रुकुमेली समाज विकास केन्द्रका केशनकुमार क्षेत्री, बालविवाह विरुद्धको साझा अभियानका माया बोहरालगायतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा लेखिएको छ,‘बालबालिका तथा महिलाको सुरक्षित, सम्मानित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको खण्डित भएको छ। यस्ता जघन्य प्रकृतिका घटनाका कारण नागरिकहरुले असुरक्षाको महसुस गरिरहेको अवस्थामा आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको पहिलो दायित्व हो। उक्त घटनाको सत्य तथ्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई पत्ता लगाइ कडा भन्दा कडा कारबाहीका लागि रुकुम पश्चिम जिल्लामा क्रियाशील मानव अधिकार र महिला अधिकारका क्षेत्रमा कामगर्ने बिभिन्न संघ संस्थाहरुको तर्फबाट जोडदार माग गर्दछाैँ। आगामी दिनहरुमा यस्ता प्रकृतिका घटना हुन नदिन जिल्लास्थित सबै सरोकारवालाहरु निकायहरुलाई समयमा नै सचेत रहन आव्हान गर्दछौ।’

प्रकाशित मिति: : 2023-04-08 09:49:00

प्रतिकृया दिनुहोस्