देउवालाई 'बुख्याचा'काे संज्ञा दिँदै ओलीले माधव नेपाललाई भने- 'पिलो निचोर्दैमा तौल घट्दैन'

File photo
File photo

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन्।

सरकार आफूले पनि केही गर्न नसकेको र अरूले गरेका कामलाई पनि देख्न नसकेर ध्वस्त पार्न उद्यत रहेको उनको आरोप छ। उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन्।

पार्टीको रुपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो सरकारका पालामा प्रत्येक पालिका जोड्ने दुई सय भन्दा बढी रणनीतिक महत्त्वका सडक एकैसाथ शिलान्यास गर्‍यौ, तर अहिलेको सरकारले भत्काइदियो, भूमिहीन आयोग खारेज गर्‍यो। यो सरकार काम गर्नका लागि होइन, भत्काउनका लागि बनेको हो।’

आफू नेतृत्वको अघिल्लो सरकारले सडक, अस्पताल जस्ता पूर्वाधार अगाडि बढाएकाले त्यो सहन नसकेर प्रतिक्रियावादीहरूले सरकार ढालेको ओलीको आरोप छ। अब १४ महिना पार्टी प्रतिपक्षमा रहेर जनताका बीचमा जाने र अर्को निर्वाचनबाट पुनः सत्तामा फर्किने भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पारेका थिए।

उनले पार्टीबाट अलग्गिएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई पिलोको संज्ञा दिएका छन्। 'पिलो निचोर्दैमा शरीरको वजन घट्दैन। माधव नेपाललगायत केही व्यक्तिले पार्टी छोड्दैमा एमालेलाई घाटा हुँदैन', उनले भने।

माधव नेपालले एमालेमा रहँदा जनविरोधी र अपराधपूर्ण काम गरेको आरोप लगाउँदै ओलीले उनलाई कमरेड भन्न नसकिने बताए। 'पार्टीलाई ध्वस्त बनाउन खोज्नेलाई कमरेड भन्न सकिन्न। उनी जनविरोधी हुन्। पार्टी नेतृत्वको सरकार रहँदा उनले समर्थनमा एक शब्द पनि बोलेनन्', ओलीले भने।

भेलालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावमा माधव नेपालको पार्टी ५४ सालमा विभाजन भएको मालेको जस्तै हुने दाबी गरे। 'माधव नेपालको पार्टीले चुनावमा एक सिट पनि जित्दैन, जमानत जोगाउन पनि मुस्किल पर्नेछ, त्यो पार्टी स्वार्थी तत्त्वहरूको झुण्ड मात्र हो', उनले भने।

उनले कांग्रेसको नेतृत्वमा क्रान्तिकारी विचार र अग्रगमन देख्नेहरूले केवल स्वार्थको राजनीति गरिरहेको भन्दै विकासको नेतृत्व एमालेबाट मात्रै सम्भव रहेको बताए। पौडेलले स्वार्थका लागि पार्टी कब्जा गर्न खोज्दा नसकेपछि कांग्रेसको शरणमा पुगेर सरकार ढालिएको आरोप लगाए।

उनले दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले अरू केही केही गर्न नसक्ने जिकिर गरे। 

पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवारपूर्ण भूमिकामा रहनुपर्ने भन्दै त्यसो भएमा एमालेलाई हराउने शक्ति कोही नजन्मिने बताए। पार्टीमा आएको विभाजनपछि एमाले घाइते अवस्थामा रहेको भन्दै भुसालले चुनावपछि पुरानै अवस्थामा फर्काइने बताए।

भेलालाई पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव जगेश्वरदेवी चौधरीलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2021-09-15 20:28:00

प्रतिकृया दिनुहोस्