प्रतिनिधिसभा बैठकः आज पनि बजेटकाे प्रतिस्थापन विधेयक राेक्ने एमालेकाे रणनीति

File photo
File photo

प्रतिनिधि सभाको जारी नवाैँ अधिवेशनकाे बैठक आज मंगलबार दिउँसाे १ बजे बस्दैछ।

आजकाे बैठकमा बजेटकाे प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षकाे तयारी छ भने त्यसलाई जसरी पनि राेक्ने रणनीतिमा नेकपा (एमाले) छ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएकाे थियाे। एमालेका सांसदको अवराेधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए। त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पाैडेलले १५ जेठम अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएकाे छ।

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो।  २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो। संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ। अर्थात भदाै ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ। र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

मंगलबारकाे सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। तर एमाले हरेक बैठकमा बेल घेर्दै आएकाे छ। आइतबारकाे संसद बैठक पनि एमालेकाे अवराेधका कारण अगाडि बढ्न सकेकाे थिएन।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा सत्तासीन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू अनुपस्थित रहे। जसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन।

एमालेले पछिल्लो पटक दुई वटा सर्त तेस्याएको छ। एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्त गर्नुपर्ने। तर, कारबाही विषयको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने धारणा सभामुख सापकोटाको छ।

प्रकाशित मिति: : 2021-09-14 09:01:00

प्रतिकृया दिनुहोस्