मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन्। हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ। हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन्।
आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन्। प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए। कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको हत्या गरेका थिए। तेजबहादुरको हत्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन्। पक्राउ परेका उनले आफूलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने गरेकाले हत्या गरेको अनुसन्धान टोलीसँग स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।
हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ। पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए। सबैको हत्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए। हत्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए। उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए।
को हुन लोकहादुर?
हत्या गर्ने लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए।
६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ। त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।
राति कहिल्यै घरमा बास नआउने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरुसँग बिनाकाम डुलिहिँड्ने लाेकबहादुरकाे विशेषता रहेछन्।आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए।