मुम्बईः नेपाली व्यापारी नन्दलाल पक्राउ, ६ सय ८४ करोड ठगीको आरोप

Photo - Indianexpress.com

नेपालीमूलका व्यापारी एन.के. सिंह भनिने नन्दलाल केशर सिंहलाई ठगी गरेको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको छ। 

मुम्बई प्रहरीको अपराध शाखाले ५५ वर्षीय व्यापारी सिंहलाई ६ सय ८४ करोड भारतीय रुपैयाँ ठगी गरेको अरोपमा सोमबार पक्राउ गरेको हो।

उनीविरूद्ध महाराष्ट्र, केरल, कर्नाटक र गुजरातमा थ्रुुपै ठगीका उजुरीहरू परेको प्रहरीले जनाएको छ। सिंहले लगानीकर्तामाथि झण्डै ६ सय ८४ करोड भारतीय रुपैयाँ ठगी गरेको गम्भीर आरोप छ। उनलाई प्रहरीले दक्षिण मुम्बईको एक पाँचतारे होटलबाट पक्राउ गरेको थियो।

मुम्बई प्रहरीको अपराध शाखाले एन.केलाई मंगलबार थप छानबीनका लागि लातूर प्रहरीको आर्थिक अपराध शाखामा पेश गरेको छ। उनी केही दिनदेखि लातुर प्रहरी हिरासतमा छन्। 

प्रहरी हिरासतमा रहेका सिंह फेनोमेनल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्। उनले आफ्ना थ्रुपै कम्पनीहरूमार्फत् सयौँ भारतीय तथा प्रवासी लगानीकर्ताहरूमाथि ठगी गरेका छन्।

उनी अध्यक्ष रहेको फेनोमेनल समूहले अस्पतालसहित विभिन्न लिमिटेडमा आम–मानिसलाई लगानीका लागि उक्साएर ठगी गर्ने गरेको प्रहरीको दाबी छ।

उनी दक्षिण मुम्बईस्थित ट्राइडेन्ट होटलमा बसिरहेको विशेष सूचनाको आधारमा मुम्बई प्रहरीको अपराध ब्यूरोले छापा मारेको थियो। 

सुरुवाती हाैसिएका लगानीकर्ताहरूले फेनोमेनल समूहको ठगी धन्दा विस्तारै थाहा पाएपछि प्रहरीकहाँ उजुरी गर्न गरेका थिए। लगानीकर्ताहरूकाे उजुरीले ठगी समूहका कतिपय पदाधिकारी पक्राउसमेत परे।

सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि एन.के. भने सम्पर्कविहीन भई लामो समयदेखि भाग्दैआएका थिए। उनी सन् २०१८ देखि फरार भई अमेरिका, बेलायत, नेपालको सुदूरपश्चिम भेग र भारतको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए। 

उनका बुबा केशर सिंह नेपालबाट रोजागरीका लागि मुम्बई आएका थिए। एन.के. यतै जन्मिएका हुन्। नेपालमा आफन्त भएपनि सिंह परिवार लामो समयदेखि महाराष्ट्रमै छ। 

नेपालीमूलका सिंहको यहाँ घर नहुँदा श्रीमतीसँगै होटलमा बस्र्थे। मुम्बईबाट स्कूले पढाई पूरा गरेका उनी मराठी भाषासमेत राम्रो जान्दछन्।

प्रकाशित मिति: : 2021-08-28 21:38:00

प्रतिकृया दिनुहोस्