शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरूको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिइन।
‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो। यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर’, उनले भनिन् ‘आज मन्त्रिपरिषद्को बैठकमा मैले यो विषय प्रवेश गराए। बैठकमा के कुरा भयो भने जहिलेबाट ऐन बन्यो, त्यहीबाट नै हो लागू हुने, त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ। त्यसभन्दा अगाडीका सबै शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको छ।’