प्रदेश १: झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन्। मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन्।

आजै राईले पदबाट राजीनामा दिने भएका छन्। उनले राजीनामा दिएसँगै आजै आचार्यलाई बहुमत दलको नेताका हैसियतमा मुख्यमन्त्रीको सपथ गराउने तयारी छ।

झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका राईले प्रदेशको नामाकरण गर्न भने सकेनन्। सातमध्ये पाँच प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन्। अब प्रदेश १ र २ बाँकी छन्।

एमालेले नेतृत्व गरेको बागमतीमा डोरमणि पौडेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल नामाकरण गर्न सफल भएका थिए। एमालेका चारमध्ये शेरधन राई मात्र प्रदेशको नामाकरण गर्न असफल भएका हुन्।

प्रदेश १ को नाम सगरमाथा, कोसी, लिम्बुवानमध्ये के राख्ने भन्ने अहिलेसम्म सहमति जुटिसकेको छैन।

प्रकाशित मिति: : 2021-08-26 12:02:00

प्रतिकृया दिनुहोस्