सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई आजबाट थप खुकुलो बनाउँदै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्दै बारको अनुसार पसल खोल्न दिने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ।
त्यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन्।
बारका अनुसार खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खुल्नेछ।