जनताको विश्वास जित्न नसकेपछि दलहरूले निर्वाचन प्रणालीमा प्रश्न उठाए- प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि राजनीतिक दललाई दुई तिहाई बहुमत ल्याउन संविधान र कानुनले नरोकेको दाबी गरेका छन्।

संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तर्क्रिया कार्यक्रममा उनले अहिलेको निर्वाचन कानुनले दलहरूलाई बहुमतका लागि नरोकेको दाबी गर्दै जनताको विश्वास जित्न नसकेपछि निर्वाचन प्रणालीमाथि प्रश्न उठाएको बताए।

उनले भने, ‘स्थिरिता भनेको छिट्टै मृत्युवरण गर्नु हो र? अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत ल्याउन रोकेको छ र? दुई तिहाई बहुमत ल्याउन रोकेको छ र संविधान तथा कानूनले? सवा एक करोड एक्लै ल्याउन कुन दफाले रोक्छ? राजनीतिक दलले हावादारी कुरा गर्ने, जनताको विस्वास जित्न नसक्ने, अनि व्यवस्था खराब भयो भन्न मिल्छ?’

थपलियाले पछिल्ला ८ वटा निर्वाचनमध्ये ४ निर्वाचनमा विभिन्न दलले बहुमत ल्याउदाँ पनि पुरा सय सरकार टिकाउने नसकेको बताए। उनले स्थिर सरकारका लागि निर्वाचन प्रणाली भन्दा राजनीतिक दलको प्रवृति गलत भएको दाबी गरे।

‘स्थिर सरकार नबनेका कारण निर्वाचन प्रणाली फेर्ने हो भने पछिल्ला ८ वटा निर्वाचन मध्ये २०१५, २०४८, २०५६ र २०७४ मा विभिन्न दलको बहुमत आएको थियो। तर, निर्वाचनपछि गठन भएका कुनै पनि सरकारको आयु ३ वर्ष पनि टिकेन,’ थपलियाले भने।

प्रकाशित मिति: : 2025-01-18 17:02:00

प्रतिकृया दिनुहोस्