मोरङ बेलवारी– ९ डाँगीहाटकी सुलोचना राजवंशीलाई फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ। ३० बर्षीया सुलोचना पशुसरह जीवन बिताउन बाध्य छिन्।
दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छिन्, खाना दिए खान्छिन् नत्र त्यसै बसिरहन्छिन्। उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो। सुलोचना शारिरीक हिसावले स्वस्थ्य देखिएता पनि मानसिक स्वस्थ्य हुन सकेकी छैनन्। १५ वर्षदेखी मानसिक स्वास्थ्य गुमाएकै कारण उनी केही समय अघिदेखी आफ्नै घरमा फलामको साङ्लोले बाँधिएर बस्न बाध्य छिन्। उनलाई परिवारले उपचार नगरी राखेको भने हैन।
उनलाई फलामे साङ्लाले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ। एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएकी सुलोचनालाई बुवा दरपचन्द र आमा दार्खोदेवीले अहिले हेरचाह गरिरहेका छन्।
‘आफूले सकिने हेरचाह गरेका छौं, कहिलेकाहीं त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ’–वुवा दरपचन्दले भने। दरचन्द्र ७५ वर्षका भए। उनकी श्रीमती दार्खोदेवी ६८। उनीहरुको ७ छोरा र ४ छोरी गरी ११ सन्तान भए। जसमध्ये ३ छोराको मृत्युभई सकेको छ। १ छोरी मानसिक विरामी छिन्। उमेरले नेटो काटेका यो बृद्ध जोडीलाई स्याहार सुसारको खाँचो छ, तर आँफै जवान छोरीको सुसारमा सकिनसकि लागिरहेका छन्। छोरी मानसिक रोगी भएकै कारण परिवारमा हाँसो छाउन सकेको छैन। गहँभरी आँशु पार्दै दरपचन्द भन्छन्— ‘सुखको दिन कहिलै आएन, हे दैव रक्षा गर।’
चार छोरी मध्येकी साईली छोरी हुन, सुलोचना। उमेरले तिन दशक पुरा गरिसकेकी उनी सानै उमेरदेखी अलिक जिद्दि स्वभावकि थिईन। सुलोचना घरै छेउमा रहेको विद्यालयमा पनि केहि वर्ष पढेको बुवा दरपचन्द बताउछन्। करिव १५ वर्षअघि खै के भयो–‘भयो एक्कासी छोरीले होस् गुमाईन्,’ दरपचन्द बताउछन्। उनीहरुले छोरी विरामी भए लगत्तै धेरै धामी झाक्री र डाक्टरलाई देखाए। तर कुनै विशेक भएन। धेरै पटक धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल अस्पताल विराटनगर लगेर उपचार गर्दा लाँखौ रुपैया सकियो तर उनी ‘निको’ भईनन्, दरपचन्द बताउछन्। छोरीको उपचारमा राजवंशी परिवारले ऋणपान समेत गरेर थुप्रै रकम सकाएका छन्।
ऐलानी जमिनमा सानो फुसको घर बनाएर बसेका दरपचन्दले महंगो ब्याजदरमा साहु संग ऋण लिएर छोरीको उपचारमा लगाए। थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ। ‘सकुन्तलाको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामी–झाँक्रीलाई देखायौं तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाँधेर राखेका हौ’– उनले भने। छोरीलाई यो हालतमा राख्नुपर्दा राजवंशी सधैं परिवार निरास भेटिन्छन्। तर अझै पनि राजवंशी परिवारले हरेस खाएको छैन। आशाको त्यान्द्रो संगालेको छ। जहाँ लगेर भएपनि छोरीको उपचार गराएरै छाड्छु, त्यसको लागि सबैले सहयोग गरिदिनुहोला, बुबा दरपचन्दले अपिल गरे।छोरीको उपचारमा नाम चलेका हस्पिटलले सहयोग गरे छोरी निको हुन्थिन भन्ने लाग्छ, उनले भने।
सुलोचनालाई नबाँधी राख्दा घरमा तोडफोड गर्ने भएकोले साङ्लोले बाधेर राख्नुपरेको परिवारले जनाएको छ। आफ्नो परिवारमा यस्तो समस्या पर्दा समेत हाल सम्म कुनै जनप्रतिनिधीहरु नआएको दरपचन्द बताउछन्। घरमा बिरामी छोरी यो अवस्थामा हुँदा हामी घर–परिवारमात्र होइन, गाउँलेलाई समेत पीर छ,’ दरपचन्दले गहभरि आँसु पारेर सुनाए,‘तर, हामीसँग उपचारका लागि जायजेथा छैन।घरमा जे पायो त्यही तोडफोड गर्ने, बोल्न हुने–नहुने सबै बोल्ने, गाउँघर, छिमेकी र परिवारसमेतलाई कुटपिटसमेत गर्न थालेपछि उनलाई साङ्लोले बाँधेर राख्नुपरेको उनी बताउँछन्। सुलोचनाको खुट्टामा फलामे साङ्लो बाँधिएको छ। रात–दिन घरभित्रै बसेकी उनलाई त्यही कोठामा खानेकुरा दिइन्छ। दिसा–पिसाब पनि पनि कोठामै गर्छन् र परिवारजनले सफा गरिदिन्छन्।
यी परीवारलाई खान–लाउनमात्रै मुस्किलले पुग्छ।’ सरकारी वा गैरसरकारी निकायले उपचारमा सहयोग गरिदिए ‘ठूलो गुन’ सम्झिने उनी सुनाउँछन्। ‘उपचार त पक्कै हुन्छ भन्ने लाग्छ,’ उनले थपे, ‘तर, हामीले इच्छा भएर पनि उपचार गराउन सकेका छैनौं।’