सनातन धर्म र सनातन परम्पराभन्दा अलि फरक बाटो हो आध्यात्म। अझ यसमा सनातन वैदिक परम्पराका आयामहरू जोड्दा त्यसले आधुनिक विज्ञानलाई पनि टक्कर दिनसक्छ। आध्यात्मको यही बाटोबाट विश्व शान्ति र समृद्धिको खोजीमा लागेको एक वैदिक अभियान हो नेपाल महर्षि वैदिक फाउण्डेसन।
विगत १२ वर्षअघि वैदिक सनातन परम्पराका अधियान्ता दीपकप्रकाश बाँस्कोटाले नेपाललाई वैदिक ज्ञानको केन्द्र बनाउने उद्देश्यसहित यो फाउण्डेसनको स्थापना गरेका हुन्। राष्ट्र तथा विश्व शान्तिका लागि सुरुका चार वर्ष आफ्नै घरबाट रुद्राभिषेक सुरु गरेका उनको यो अभियान अहिले देशभरि नै फैलिइ सकेको छ। जहाँ यही फाउण्डेसनमार्फत अहिले देशभरका करिब ८० स्थानमा वैदिक गुरुकुलहरू सञ्चालित छन्। र सबै गुरुकुलहरूमा दैनिक सयौं बटुक र पण्डितहरूले रुद्राभिषेक गरिरहेका छन्।
ज्योर्तिमठका पीठाधीश ब्रह्मानन्द सरस्वती महाराजका शीष्य महर्षि महेश योगीले त्यो बेला नै वेद र विज्ञानको अनुसन्धान थालेका थिए। त्यसमा उनले संसारभरका उत्कृष्ट बैज्ञानिकहरूलाई पनि सामेल गराए। र वैज्ञानिक अनुसन्धानले नै भन्यो वेद भनेकै विज्ञान हो। अझ यो विज्ञानमात्रै होइन पूर्ण विज्ञान पनि हो।
‘वेदबिना आधुनिक विज्ञानमात्रै एक्लै हिँड्न खोज्यो भने त्यसले विकास र समृद्धि नभइ विश्वमा विनासमात्रै निम्त्याउँछ’ भन्ने निष्कर्षका साथ महर्षि योगी वि सं २०३१ सालमा नेपाल आएका थिए। त्यो बेला नै उनले हिमालयको काखमा रहेको यो देश ऋषि, महर्षि र योगका लागि उत्कृष्ट भएको पनि बताएका थिए। र त्यो बेला सिंहदरबारमा समेत आफ्ना प्रवचनहरू सुनाएर विश्वलाई सनातन मार्ग डोर्याउनका लागि नेपालले अगुवाइ गर्न राजनीतिक दलहरूलाई आह्वान पनि गरेका थिए।
वेद, विज्ञान र आध्यात्मलाई संसारभरि फैलाउनका लागि उनै महर्षिले अमेरिकामा विश्व विद्लाय खोलेका छन्। त्यहाँ संसारभरिबाट वेद र विज्ञानको अध्ययन तथा अनुसन्धानका लागि विद्यार्थीहरू आउँछन्। नेपालमा पनि महर्षि वैदिक फाउण्डेसनले त्यस्तैखालका गुरुकुलहरू सञ्चालन गरिरहेको छ।
‘महर्षिका धेरै विधाहरू छन्। तीमध्ये हामीले नेपालमा खासगरी भावातित ध्यान, वैदिक शिक्षा, वैदिक वास्तु, वैदिक स्वास्थ्य र वैदिक खेती प्रणालीलाई स्थापित गर्नेगरी काम गरिरहेका छौं’ फाउण्डेसनका अध्यक्ष बाँस्कोटा भन्छन् ‘यसको अन्तिम लक्ष्य भनेको त हामी फेरि त्यही वैदिक सनातन परम्परामै पुग्नुपर्छ भन्ने हो। त्यसको नेतृत्व हामी गर्छौं र नेपालबाटै त्यो सम्भव छ भन्ने पनि हो।’
गत वर्ष विश्व आर्युवेद सम्मेलन गरेर विश्वभरका करिक ३ सय वेद-विज्ञानका विशेषज्ञहरू नेपाल भित्र्याएको फाउण्डेसनले हालैमात्र काठमाडौंमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गरेको थियो। जहाँ हरेक दिन १ हजार १ सय ११ साधक बटुकले विधिपूर्वक रुद्राभिषेक गरेका थिए भने महायज्ञमा करिब १५ लाख दीप प्रज्ज्वलन गरिएको थियो।