सन्दर्भः आङ सान सुकीकाे ७७औँ जन्मदिन

सुकीलाई नेपालीको मायाः दिदी र आमाको सम्बोधन

राजकुमार शर्मा

रंगुन, म्यान्मार

दोस्रो विश्वयुद्धमा बर्मा (म्यान्मार)बाट जापानीहरू फर्किएपछि फेरि ब्रिटिशले नै शासन गर्‍याे। बेलायत–बर्मा युद्धपछि 'ब्रिटिश इस्ट इन्डिया कम्पनी'ले बर्माको प्रशासन कब्जा गरी शासन चलाएको थियो। 

बर्माको मुख्य भूमि र पहाडी क्षेत्र एकजुट भए मात्रै देशमा स्वतन्त्रता सम्भव भएको त्यसबेला ब्रिटिशले राष्ट्रपिता जनरल आङ सानलाई भनेको थियो।

सन् १९४६ मार्चदेखि २८ सम्म पाङलोङ सम्मेलन आयोजना गरिएको थियो: जसमा म्यान्मारभित्र रहेका सबै जातीय समूहले पाङलोङ सम्झौताअन्तर्गत ब्रिटिश शासनबाट मुक्त भएको इतिहास छ।

सन् १९४७ फेब्रुअरी  १२ बुधवारको बिहान लगभग १० बजेतिर जनरल आङ सान र विद्रोह गरिरहेका २३ जातीय समूहका प्रतिनिधिहरूले ऐतिहासिक पाङलोङ सम्झौतामा सफलतापूर्वक हस्ताक्षर गरेका थिए, जसले प्रमाणित गर्‍याे कि पहाडक्षेत्र र मुख्य भूमिसँगै स्वतन्त्रता प्राप्त हुनेछ। शान, कचिन र छिन् जातिका प्रतिनिधि र बर्मा सरकारबीच सम्झौता भएको थियो।

पाङलोङ सम्झौतामा हस्ताक्षर गर्न जाँदा जनरल आङ सानलगायतका नेतृत्वहरूलाई ल्वेलिङबाट पाङलोङसम्म यात्रा गराउनेमध्ये एक थिए– गोर्खाली अर्थात् नेपालीभाषी श्री कान्छा। उनले आङ सानसहित चढेकाे गाडीलाई चालकको रूपमा ऐतिहासिक यात्रास्थलसम्म पुर्‍याएका थिए। नेपाली मूलका बर्मेली नागरिक श्री कान्छाले चलाएको गाडी अझै पनि बर्माको एक संग्रहालयमा सुरक्षित रूपमा राखिएको छ।

बर्मा स्वतन्त्र हुनुअघि जनरल आङ सानद्वारा गठित सेना तीव्र गतिमा स्वतन्त्रताका लागि लडिरहेको थियो। हालको म्यान्मार र उबेलाको बर्मा संघीय सेनाभित्र गोर्खा सैनिकहरूसहित जातीय लडाकूहरूसमेत सामेल थिए।

गोर्खा सैनिकलाई संघीय सेनामा स्थान दिएको हुँदा पनि गोर्खाहरूप्रति राष्ट्रपिता जनरल आङ सानको विश्वासलाई बुझ्न सकिन्छ।

गोर्खा सेनालाई दोस्रो विश्वयुद्धताका आङ सानले बर्मा स्वतन्त्र सेनामा सङ्गठित गरेका थिए। बर्मा स्वतन्त्र भएको क्षणभरमै जनरेल सानले चाहेजस्तै देशको प्रथम राष्ट्रपति शान जातिका ऊ स्याप स्ये ताई थिए भने प्रथम सैनिक कमाण्डर–इन–चीफ किरिङ जातिका थिए।

अफशोच बर्मा पूर्ण रूपमा स्वतन्त्र नहुँदै जनरल आङ सानको हत्या गरियो। आङ सानको हत्यापछि उनले परिकल्पना गरेको देश र देखेको सपना कहिल्यैँ पूरा हुन पाएन। 

बर्मा स्वतन्त्र भएको केही वर्षपछिदेखि नै सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिँदै आएको छ। समय परिवर्तन हुँदै गयो तर फाँसीवादी सैन्य शासनले भने अझै पनि बर्मेली जनतालाई दमन गर्दैछ।

महान शहीद जनरल आङ सानकी छोरी अर्थात् प्रजातन्त्रकी धरोहर आङ सान सुकी भने सन् १९८८ मा बेलायतबाट आफ्नो परिवार छाडी बर्मा आइपुग्छिन्। बर्मामा सैनिक शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलनले‌ एक भयानक रुप लिएको थियो। 

प्रजातन्त्रका लागि हजारौँ विद्यार्थीहरूले आन्दोलनमा ज्यान गुमाइरहेका थिए। उनका लागि परिवारभन्दा बढी देशको भविष्यप्रति चासो बढ्यो र नेतृ सुकी प्रजातान्त्रिक आन्दोलनमा समाहित भइन्। उनी बेलायत फर्किइनन्। उनी बुबा जनरल आङ सानकै पथमा जनतासँगै हातेमालो गरी अहिलेसम्म हिँडिरहेकी छिन्।

नेतृ सुकीले सन् १९८८ सेप्टेम्बर २४ मा नेसनल लिग फर डिमोक्रेस नामक राजनीतिक पार्टी गठन गरिन्। यस पार्टीको मुख्य नेतृत्व उनी आफैँले लिइन्। नेसनल लिग फर डिमोक्रेसीको मुख्य उद्देश्य देशमा प्रजातान्त्रिक समाजवाद लागू गर्ने र जनतालाई स्वतन्त्रता दिलाउने थियो। यसै उद्देश्यका जनतालाई ‌देशको अवस्थाप्रति सचेत गराउन बर्माका विभिन्न भागमा गई उनले भाषण गर्दै हिँडिन्।

नेतृ सुकी प्रजातान्त्रका लागि गाउँ–शहर डुलिरहेका बेला नेपालीभाषी कवि, गायक तथा अभियन्ता अमरदीप अर्थात् रकी थापा पनि उक्त अभियानमा जोडिन पुग्छन्। बर्माका प्रत्येक नेपाली गाउँहरूमा नेपाली गीत गाउँदै नेपालीहरूलाई देशको अवस्थाप्रति सचेत गराउने उनले संसार छाडेको महिना दिन पनि पुगेको छैन।

सन् १९८९ जुलाई २० मा सैनिक सरकारले सुकीलाई देशको शान्ति र स्थायित्वमा बाँधा पुर्‍याएको आरोपमा घरमै नजरबन्दमा राख्यो। उनी लगायत कयौँ राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई बन्दी बनाइयो। नेपालीमूलका रकी थापा भने बर्मा सेनाकाे नजर छलेर आफूलाई असुरक्षित ठानी लुक्दै नेपाल पसे। उनी नेपाल पुगे पनि नेतृ सुकीलगायत नेतृत्व पंक्तिले सैन्य नजरबन्दीमै वर्षौं बिताए।

सन् २०१० नोभेम्बर १३ मा सुकीलगायत सबै राजनीतिक बन्दीलाई रिहा गर्न सैनिक सरकार बाध्य भयो। अनि सन् २०१५ चुनावमा नेसनल लिग फर डिमोक्रेसी पार्टीले जित हासिल गर्‍याे। सन् २०२० को चुनाव पुनःपार्टीले ९० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेपछि सेनाले पुनः 'कू' गरी सत्ता हातमा लियो। सुकी र राष्ट्रपतिलाई गिरफ्तार गरेको छ। बर्मामा आज पनि आन्दोलनको राप उस्तै छ। दिनहुँ प्रदर्शन भइरहेको छ।

बर्माका गोर्खालीहरू नेतृ सुकीलाई दिदी तथा आमा भनी सम्बोधन गर्छन्। सन् १९८९ मा सुकीलाई सैन्य तानाशाही नजरबन्द गरेदेखि हालसम्म नेपालीभाषीहरूले सरकारको विरोध गरिरहेका छन्। गोर्खाहरूको यस कारणले गर्दापनि सुकीप्रतिको विश्वास र देशप्रति प्रेमलाई प्रत्यक्ष रूपमा बुझ्न सकिन्छ।


सेनाको आतङ्क: भेटे मान्छे मार्छन्, नभेटे लुटपाट गर्छन्

प्रकाशित मिति: : 2022-06-19 12:45:00

प्रतिकृया दिनुहोस्