म्यान्मार सेनाको आतङ्क: भेटे मान्छे मार्छन्, नभेटे लुटपाट गर्छन्

सुधा अत्रि

रंगुन, म्यान्मार
Breaknlinks
Breaknlinks

म्यान्मारको सगाइँ प्रान्तस्थित  मिन्किन नगरका ७२ वर्षीय मिङ म्यो तुगंले तीन सातादेखि जङ्गलमै कष्टकर जीवन बिताइरहेका छन्।

‘कू’ गरेर सत्ता–हातमा लिएको ‘म्यान्मार सेना’ले मानवबस्तीमा आक्रमण गर्दा तुगंजस्ता लाखौँ बर्मेली आजभोलि वन–जङ्गलमा सर्न बाध्य छन्। सरकारी ‘जुन्ता सैनिक’ र स्वतन्त्र नागरिक समूहबीच ग्रामीण क्षेत्रमा दिनदिनै भिडन्त भइरहेको छ।

म्यान्मार सेनाले मिन्किन् नगरस्थित युद्धमैदान छेउछाउका बस्तीमा आक्रमण गरिरहेको छ। ‘जुन्ता' सैनिकले मंगलबार अन्य पाँचओटा मानव बस्तीमा सैन्य–हमला गरेको स्थानीयहरू बताउँछन्। आक्रमणपछि रातारात उनीहरू घर छाडेर जङ्गलतिर भागे।

मिन्किन् नगरका ग्रामीण बस्तीमा दर्जनौँपटक सैन्य हमला भइसकेको छ। यहाँका मानिसलाई घरभित्रै बस्नसमेत असहज हुँदै गएको छ। कैयौँ स्थानीय बासिन्दा जुन्ता सरकारको हमलाबाट घाइते भएका छन्। उनीहरूले उपचारसमेत पाएका छैनन्।

स्थानीय नागरिकका अनुसार क्रूर सैनिकहरु दिनहुँ बस्तीमा छिर्छन्। आतङ्क मच्चाउँछन्। घर–घरमा पसेर स्थानीय बासिन्दाको खोजी गर्छन्।

जनविरोधी जुन्ता सेनाले न बच्चा, न वृद्ध कसैलाई छाड्दैन। पक्राउ गर्छ । अनि हिरासतमा लैजान्छ।

पक्राउ गरेका मानिलाई उनीहरूले कि मार्छन् कि दह्रो पैसा खाएर मात्र छाड्छन्।

म्यान्मारका प्रायः गाउँ–ठाउँ खाली हुँदै गएका छन्। गाउँमा बस्न सक्ने अवस्था नै छैन। स्थानीयहरू आफ्नै घरभित्र बस्न डराउँछन्। गाउँछेउमा सैनिक आएको खबर सुन्नेबितिकै भाग्न बाध्य छन्।

आजकाल म्यान्मारका जङ्गलमा पशुपंक्षी भेटिदैनन्। केवल भेटिन्छन् त पीडैपीडामा बाँचिरहेका बर्मेली मानिस। उनीहरूलाई जङ्गलमै अनेकौँ अभाव खपिरहेको छन्। रुख र ओडारमुनि ओत लागे पनि ओछ्याउने कपडाको टुक्रासमेत छैन तर पनि बाच्नैपर्ने बाध्यता छ।मंगलबारको झरीले जीवन झन कठिन बनाएको उनीहरूको दुःखेसो छ।

ज्येष्ठ नागरिक र बालबलिकाहरूको स्वास्थ्योवस्था झन्–झन् बिग्रेको छ। फोनमा चार्ज नहुँदा सम्पर्क गर्ने माध्यम पनि टुटेको छ।

गाउँ छाडेर भाग्ने क्रममा उनीहरू तीनरात–चारदिन खोलाको तट हुँदै जङ्गल पसे। गन्तब्यमा पुगेको रात लाम्खुट्टेले सतायो। सुत्नै पाएनन् । अर्को रात पानीले।

सोमबार राति ‘जुन्तासेना’ पाँच वटा बस्तीमा सयौँपटक आक्रमण गरेको स्थानीयहरू बताउँछन्। घर छाडी भागेकाहरू बाटोमा सेना तैनाथ भएको देखेपछि पुनः गाउँमै फर्केका छन्। एक युवकले भने, ‘गाउँ फर्किएका दाजुभाइहरू सुरक्षित छैनन्। उनीहरू मारिएको खबर सुन्नुपर्ने छ। अब सेनाले उनीहरूलाई मार्छ।’

सैनिक सरकारले हमला गरेपछि मिन्किन नगरका चार हजार बर्मेलीहरू यसै साता जङ्गल पसेका छन्। यी क्षेत्रमा सैन्य ‘कू’विरूद्ध आन्दोलित नागरिक दस्ता पनि सक्रिय छ तर पानी पर्दा हात–हतियार चल्दैनन्।

सेनालाई नागरिक समूहको हतियारबारे राम्रो ज्ञान हुँदा पानी परेकै बेला आक्रमण गर्छ। यस्तो समयमा लड्नुभन्दा भाग्नु नै बेस मान्छन्– स्थानीयहरू र जङ्गलतिर भाग्छन्। गामीण बस्तीमा पानी पर्दा सेनाको आतङ्क झन्–झन् बढ्छ। उनीहरू भारी हात–हतियारसहित गाउँ छिर्छन् अनि आक्रमण गर्छन्।

म्यान्मारको सरकारी सेना लुटपाट गर्नसमेत अग्रसर छ। घरमा कोही नभएको मौका छोपेर सेनाले सरसामानसमेत उठाउने गरेको छ। गत ५– अक्टोबरमा मानव बस्ती छिरेका उनीहरूले सयौँ घर तोड्फोड गरे। चार जना स्थानीयलाई गोली हानी हत्या गरे।

म्यान्मारमा बिरामी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको जीवन झन् कष्टकर बन्दै गएको छ। उनीहरू पनि जङ्गलमै छन्। औषधि सकिएको छ। खाने कुराको अभाव हुँदा खोले पिएर बस्न बाध्य छन्।

छिन प्रान्तस्थित कानपेटलेट बस्तीबाट भागेर जङ्गल पुगेका एक व्यक्ति, जो शारीरिक रूपमा सामान्य छैनन्। तर उनीसँग हजारौँ गुनासा छन्। अपाङ्गता भएका ती व्यक्तिलाई दोस्रो दर्जाको व्यवहार गरिएकोमा दुःखी छन्। कोरोना महामारी र हत्यारो सैन्य तानाशाहीकै कारण लाखौँ बर्मेली जनता भोकभोकै मर्न बाध्य भइरहेका छन्।

प्रकाशित मिति: : 2021-11-01 08:47:00

प्रतिकृया दिनुहोस्