पत्रकारकाे अरब यात्रा

साउदी अरबकाे त्याे यात्रा...

रेशम बि.क.

साउदी अरब
Breaknlinks
Breaknlinks

काठमाडाैँबाट घर फर्किएपछि धेरै दिनसम्म बिरामीले सतायो मलाई पनि। त्यतिबेला सायद बिरामी नभएको कुनै घर पनि थिएन होला। अस्पतालमा स्वास्थ्य जाँच गर्न गएको भए मलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि हुन्थ्यो होला। धेरै जनाको कोरोना भाइरस परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

म सामान्य अवस्थामा भएपछि आइसुलेशनमा बस्ने निर्णय गरिनँ। केही दिनपछिको काठमाडाैँ बसाइले कान्छो छोरा सुशान्त र जेठो बाबु मुस्कान पनि मायाले धेरै आत्तिएका थिए। मैले लिएको खाने कुराहरू खुसी हुँदै खाए। कान्छो छोराले बाबा म पनि तपाईंसँग काठमाडाैँ जाने हो भन्दै खुसी साटेका थिए भने जेठो छोरा मुस्कानले मेरो काठमाडाैँको बसाइको विषयमा चासो व्यक्त गर्दै थिए।

काठमाडाैँमा केही काम थियो बाबु भन्दै बाबुको जिज्ञासा मेटाउने प्रयास गरेँ। बाबुलाई पनि केही हदसम्म थाहा थियो कि बुबाले अब हाम्रो भविष्यको लागिको हामीलाई छाडेर खाडी मुलुक जाँदै हुनुहुन्छ भन्ने कुरा। ‘बाबा तपाईं विदेश जानुभयो भने मलै नजानेको कुरा कोसँग सिकाइ माग्ने’ भन्दै चिन्ता गर्न थाले। ‘चिन्ता नगर्नु बाबु म तिमीले नजानको कुराहरू काका, अन्टी, मामाहरूलाई भनेर जान्छु’ भन्दै यस्तै यस्तै सान्त्वना दिएँ।

सोही दिन म घर आएर चिसो पानीले नुहाएपछि अर्काे दिनदेखि बिरामी सुरूवात भयो। बिरामीले च्याप्दा त चिन्ता लागेर आउँन्थ्यो– ज्वरोले धेरै च्याप्यो भने सानाे बाबु, अनि बाबुको मम्मीलाई समेत समस्या पो हुने हो भनेर। तर, तातो पानी र अन्टीले (स्मृती) दिनुभएको तितेको भरमा ज्वरो केही दिनपछि जिताउन सफल भएँ।

०००

बिरामी सञ्चो लाग्दै गएपछि पुनः रोल्पा समाचारको अफिसमा नियमित जाने प्रयास गरेँ। धेरै शुभचिन्तकहरूले सोध्नुभयो, ‘तपाईं पनि लामो समयसम्म बिरामी हुनुभयो है !’ उहाँहरूको सहानुभूतिमा सामीप्य हुँदै ‘हो मलाई पनि निकै पो सतायो’ भन्दै म गफिएँ। केही शुभचिन्तकहरूले त ‘तपाईंलाई पनि कोरोना भाइरसले भेटाएको छ रे’ भन्दै हामीसँग नजिक नहुनुहोस् भन्दै जिस्काउनु पनि भयो।

यस्तै हो नि भावना, पीडाहरू मिल्नेसँग नै रहेछ दुःख पीडाहरू साट्ने। मैले उहाँहरूको हाँसोलाई अन्यथा पनि लिइनँ। यसरी मेरो शुभचिन्तक, आफन्तजनहरूसँग गफिँदै अफिसियल जिम्मेवारी पूरा गरेँ। केही साथीहरूले वैदेशिक यात्राको विषयमा प्रश्नसमेत गर्नुभयो। तर, उहाँहरूको प्रश्नको वास्तविक जवाफ दिन सकेको थिइनँ। किनभने, सबै कुरा बताउँदा कोरोना भाइरसको कारण लकडाउन भयो भने त हल्लाह मात्र हुन्छ भनेर। मैले उहाँहरूलाई काठमाडाैँमा सानो काम थियो भनेर नै जवाफ दिएँ। जिन्दगीमा कहिलेकाहीँ त यस्तो गोपनीयता राख्नुपर्ने दिन पनि आउँदो रहेछ।

कोरोना भाइसरको कारण सरकारले पूर्ण रूपमा लकडाउन गर्यो भने त मेरो वैदेशिक यात्रा चकनाचुर पो हुने हो कि भन्ने चिन्ता नलागेको पनि होइन। त्यतिबेला देशभरी भाइरसको संक्रमण दर उच्च दरमा बढेको थियो। साच्चै भाइरसले भयावह स्थिति सिर्जना गर्यो भने त लकडाउनको विकल्प पनि छैन। साच्चै लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत बन्द भयो भने त ऋण गरेर काठमाडाैँसम्म पुगेर फरक–फरक काम र फरक–फरक कम्पनीहरूमा दिएको अन्तर्वार्ता, मेडिकल खर्च, बसाइ खर्च आदि बालुवामा पानी खन्याए जस्तै हुने भयो भन्दै चिन्ता लाग्थ्यो।

अफिसियल जिम्मेवारी सँगसँगै एजेण्टलाई समय–समयमा फोन गरेर बुझ्ने प्रयास पनि गरेँ। उहाँले तपाईंको काम तीव्र गतिमा हुँदै छ, सम्भावित लगानी तयार गरेर राख्नु भनेर फोन राख्नुहुन्थ्यो। मैले थाहा पाएसम्म वैदेशिक रोजगारमा भिसा लगाएको केही महिनापछि मात्र भिसा आएको कुरालाई सम्झिँदै मेरो भिसाको विषयमा खासै वास्ता पनि गरेको थिइनँ।

०००

मोन्टेज ओभरसिज प्रा.लि. त्रिभुवननगर पार्क घोराही दाङका कर्मचारीले समय–समयमा मलाई फोन सम्पर्कसमेत गर्नुहुन्थ्यो। तर, म घरायसी र अफिसको व्यवस्ताको कारण मैले समयमा फोन उठाउन पनि पाउँदैन थिएँ। उहाँसँग अफिसको फोनमा भन्दा व्यक्तिगत फोनमा नै साँझा वा बिहान बढी कुराकानी हुन्थ्यो। उहाँले अफिस समयमा मलाई माघ १३ गते फोन गर्नुभएको रहेछ। तर, समयमा फोन उठाउन पाइनँ।

साँझ अफिसबाट घर आएर मैले उहाँलाई व्यक्तिगत फोनमा फोन गरेँ। उहाँले बिहान फोन गरेको उठाउनु भएन भन्दै तपाईंको उडान २३ गते रातको टिकट फिक्स भएकोले आफन्तजनहरूसँग भेटघाट गरेर काठमाडाैँ समयमा नै जानु होला सर भन्नुभयो। यो कुरा निशानालाई (मुस्कान र सुशान्तको मम्मी) पनि जानकारी गराएँ।

रकम लगानीको विषयमा भने उहाँले बोल्न चाहनुभएन। अबको यात्राको विषयमा भलाकुसारी गरियो। उहाँले ‘अब वैदेशिक रोजगारकाे यात्रा सफल सँगसँगै उपलब्धिमुलक बन्नुपर्छ रेशम बल्ल हाम्रो बिग्रिएको आर्थिक अवस्था र दुई सन्तानको उज्जवल भविष्यका लागि’ भन्दै कामना व्यक्त गर्नुभयो।

‘घर परिवारको लागि केही चिन्ता गर्नु पर्दैन रेशम ! मुस्कान र सुशान्त यी दुई बाबुलाई घरमा पढाउन मात्र समस्या हो अरू केही चिन्ता मान्नु पर्दैन। तर, हामी सबैको निर्णयअनुसार बाबुहरूलाई पनि सिकाउने व्यवस्था गरौंला नि बरू तपाईंको स्वास्थ्यको ख्याल गर्नु, अरू कुरा त मैले तपाईंलाई के पो भन्नुपर्छ र तपाईं जस्तो जिम्मेवारी मान्छेलाई’ भन्दै सुझाव दिन थाल्नुभयो। मैले पनि ‘चिन्ता नगर्नु मलाई सबै कुरा थाहा छ’ भन्दै सान्त्वना दिएँ।

०००

कोर्चाबाङ चुवी रोल्पा निवासी हाम्रो माइली बजैको निधन भएकाे हुँदा माघ महिनाको १७ गतेका दिन भिरा (शुद्वारी) भएकोमा को–को जाने भन्ने विषयमा हामी दुई जनामा पहिलैदेखि नै छलफल हुँदै आएको थियो। मेरो कार्य व्यवस्ताले जान नसक्ने अवस्था भएकोले तपाईंहरू जानु होला नि भनेर उहाँलाई भन्ने गरेको थिएँ। तर, म चाँडै विदेशिनु पर्ने भएकोले उहाँले तपाईं जानु सबैसँग भेटघाट गरेर आउनुहोला रेशम भनेर भन्नुभयो।

अर्काे दिन मोन्टेज ओभरसिज प्रा.लि. त्रिभुवननगर पार्क घोराही दाङका व्यवस्थापकसँग पनि लगानीको विषयमा मैले फोन गरेँ। उहाँले रकम विषयमा पनि भनिदिनुभयाे। दाङ आएर जानुहुन्छ कि लिबाङबाट काठमाडाैँ जानुहुन्छ भनेर सोध्नुभयो। मैल उहाँलाई समय पनि छोटो छ काका भनेर म यहीँबाट काठमाडाैँ जान्छु भनेँ। यो उमेरमा विदेशिनको कारण उहाँसँग दुखेसो पोखेपछि अरूलाई भए त छुट दिन सक्ने थिइनँ। तर, तिमीलाई भनेर रकममा केही हजार छुट दिन्छु, धेरै त सकिँदैन बाबु भन्नुभयाे। तिम्रो वैदेशिक यात्राको पूर्ण सफलताको कामना छ, साउदीमा समस्या भएमा मलाई वा विष्णुलाई फोन गर्नु समस्याको समाधान म गर्छु भन्दै मलाई सहानुभूति दिनुभयो। म पनि उहाँले भनेको कुरामा राजी भएर हुन्छ भनेँ। समयमा नै काठमाडाैँमा जानु होला, काठमाडाैँमा गर्नुपर्ने सबै कुरा विष्णुले गरिहाल्छ चिन्ता नलिनु बाबु भन्दै उहाँले भन्नुभयो।

विदेशिनका लागि पनि रकम लगानी गरेर जानुपर्ने बाध्यापूर्ण अवस्था यो जीवनमा सिर्जना भयो। यता पत्रकारिता, कलिला मुनाहरूलाई छाडेर विदेशिन त यो मनले पटक्कै मान्दैन। उज्जवल भविष्यका लागि नेपालमा नै अथक प्रयास पनि नगरेको होइन। तर, कहाँनिर तालमेल मिलेन र आज यो अवस्था आइपर्यो भन्दै अफिस र एकान्त यात्रामा यो मनमा खुब खेल्ने गर्थ्याे।

०००

जब मेरो साउदीका लागि टिकट टुंगियाे, तब मेरो मनमा खुसी र दुःखीको मिश्रण भयो। मान्छेको मन त हो नि, खुसीलाई दुःखले जित्यो। वैदेशिक यात्रामा मेरोभन्दा कम सपना बोकेर प्रदेशिएकाहरूमध्ये कोही बाकसमा फर्किँदा घरपरिवार, छोराछोरीहरूको दुःखद अवस्था, कोही अंगभंग, कोही कम्पनीले समयमा पारिश्रमक नदिएर कष्टपूर्ण दिनहरू बिताएको पनि यो आँखा र कानले नसुनेको पनि होइन। तर, आज यो उमेरमा आएर म पनि त्यस्तो ठाउँमा जानुपर्ने अवस्था कसरी सिर्जना भयो म आफैँ अच्चमित छु।

मेरो बाल्यकाल जनयुद्धको समयमा नै बित्यो। जनयुद्धले मेरो चेतनास्तर धेरै परिवर्तन गरेको महशुस मलाई हुन्छ। सोहीअनुसार प्रा.वि., मा.वि. काे विद्यार्थी जीवन उत्कृष्टमै बितेका थिए। सोहीअनुसार निरन्तर मेहनत, परिश्रम गर्दै आएको भए र तालमेल मिलाएको भए आज कुनै तहको निजामती कर्मचारीको जिम्मेवारीमा बस्न सकिन्थ्यो होला। तर, सबै कुराको तलमेल नमिलाउन नसक्दा अन्तिममा प्रदेशीको हुनुपर्यो। यतिबेला मेरा कक्षा साथीहरू दिलिप बाठा, भुवन बाठा, खुमबहादुर पुन, तुल्सीराम घर्तीमगरलगायतका धेरै साथीहरूलाई निकै सम्झेको छु। प्रा.वि., नि.मा.वि, मा.वि. प्लस टु र स्नातकका धेरै साथीहरूलाई यो समयमा सम्झाना पनि नआएको कहाँ हो र? आजसम्म धेरै साथीहरूसँग भेटघाट र भलाकुसारी हुन सकेको छैन। हामी सबै आफ्नो पारिवारिक जिम्मेवारी निर्वाहका लागि आज फरक–फरक क्षेत्रमा छौं।

पारिवारिक जिम्मेवारी निर्वाहका लागि जे जस्तो भएपनि काेमल मुटुलाई ढुङ्गा बनाउनुको विकल्प पनि थिएन। तर, उज्जवल भविष्यका लागि वर्तमान समयमा नै पसिना बगाउनु पर्दाेरहेछ भन्ने कुरा त्यतिबेला खुब याद आयो। मेरो उमेरका धेरै साथीहरू वैदेशिक रोजगारीबाट घर फर्किसक्नुभएको छ भने केही साथीहरू जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै हुनुहुन्छ। आफ्नै ठाउँमा रोजगारीसिर्जना गर्नुपर्छ भन्दै समाचारको माध्यमबाट सन्देश प्रवाह गर्ने मान्छे नै विदेशिनु पर्ने अवस्था सिर्जना भयो। आज आफ्ना जन्म ठाउँ, आफन्तजन, शुभचिन्तक, घरपरिवार, छोराछोरी सबैलाई भुलेर विरानो ठाउँको यात्रा तय गर्नुपर्ने यो मेरो जीवनको पहिलो पटक सुरूवात गर्दैछु। यस्तै यस्तै कुराहरू मनमा सोच्दै विदैशिक यात्राका लागि आवश्यक रकम जुटाउनतिर लाग्नुको विकल्प नै थिएन।

धेरै जनासँग रूपैयाँको कुरा चलाएँ तर रूपैयाँ त छैन भन्ने कुराको आउँथ्यो। समय अन्तिम अन्तिम हुँदै थियो। आवश्यक रकम जुटाउन मलाई निकै कठिन बन्यो। म निरासका साथ सक्रियता बढाउँदै जादाँ पूर्वी रूकुमकी नानी निशानीको साथी स्वानी, भाइ कान्छा, माइली सालीलगायतको सहयोगबाट बल्ल म काठमाडाैँ निस्कने वातावरण सिर्जना भयो। करिब–करिब लगानी रकम टुङ्गाे लागेपछि म सबै आफन्तजनहरूसँग भेटघाटका लागि माइलो माइली बजैको भिरामा गएँ। सबै जनासँग भेट गरेँ। तर, धेरैसँग कुराकानी गर्ने वातावरण भएन। सबै जनामा आ–आफ्नो कार्यमा व्यस्त भयौं।

०००

साँझ पख आमासँग घर गएँ। आमाले वैदेशिक यात्राको कामना गर्दै कुखुरा काटेर खुवाउनुभयो। आमाले पनि धेरै चिन्ता व्यक्त गर्नुभयो। तर, आमालाई मैले सम्झाउँदै चिन्ता गर्नु पर्दैन आमा म केही समय बिताएर फर्किहाल्नु नि भनेँ। ‘२० गते काठमाडाैँ जाने भनेको छु’ आमालाई भनेपछि उहाँले २० गते त राम्रो हुँदैन। बिग्रेको बेला याद आउँछ। बरू १९ गते घर छाड्नु अनि २० गते हिड्नु भनेर सुझाव दिनुभयो।

छोराछोरीहरू पनि टाढा–टाढा जाने भए भन्दै चिन्ता व्यक्त गर्नुभयो। ‘चार सन्तानमध्ये एक सन्तान तँ सबैभन्दा टाढाको जादै छस्, राम्रोसँग काम गर्नु, समय–समयमा सम्झनु, चिन्ता धेरै लाग्छ’ आमाले भन्नुभयो। यस्तैयस्तै दुःख, सुखका कुराकानी गर्यौं। १८ गते बिहानपख खाना खाएर म लिबाङका लागि घरबाट निस्किएँ। जन्म घरबाट निस्किँदै गर्दा यो मन पनि खुसी थिएन। मिनाहीबाट साँडुभाइ खेम र सुविलाल भाइसँग बाइकमा साँझ आइपुग्यौं।

लिबाङ आइपछि पनि कहाँबाट कति रकम आउँछ भन्ने कुराको चिन्ता लाग्न थाल्यो। किनकि, कुराकानी मात्र भएको, तर रूपैयाँ नआएको छैन। समय आफ्नै गतिमा बितिरहेको थियो। म समयको गतिमा गुड्नुको विकल्प नै थिएन। यो निरास अनि दुःखी मनलाई जबरजस्ती खुसी बनाउने नाटक नगरेको पनि कहाँ हाे र !

यसरी दैनिकी बित्दै थियो। म करिब–करिब मेरो जन्म थलो अनि कलिला मुनाहरूलाई छाडेर विरानो ठाउँ साउदी अरबतिरको यात्रामा निस्कने दिन अन्तिम भइसकेको थियो। म १९ गते पनि अपुग रूपैयाँ जुटाउने तनाव सँगसँगै अफिस गएँ। २० गतेका लागि काठमाडाैँको यात्रा आन्तरिक रूपमा तय गरिसकेको थिएँ। तर, त्यतिबेलासम्म धेरैलाई जानकारी गराएको थिइनँ। घरपरिवारलाई मात्र जानकारी गराएको थिएँ।

आमाले भनेअनुसार १९ गते साँझ घर छाडेर २० गतेका दिन बिहान लिबाङदेखि काठमाडाैँका लागि टिकट ल्याउने योजनासहित म अफिस गएँ। अफिसमा धेरै काम गर्ने समय मिलेन। किनभने, म आफ्नै तनावमै थिएँ। तर, पनि अफिसमा गएर समयले साथ दिएसम्म कार्य सम्पादन पनि गरेँ।हाइसको टिकट लिएपछि आर्थिक कारोबार गरेको पसलका साहुँसँग भेटघाट अनि बाँकी रकमसमेत टिपोट गरेर ल्याएँ।

मलाई आवश्यक पर्ने कपडा किन्नका लागि आदरणीय भण्डारी दाजुको कपडा पसलमा गएँ। त्यस दिन दाइ पसलमा हुनुहुन्न रहेछ। पसलमा आदरणीय भाउजू हुनुहुँदो रहेछ। मसँग रूपैयाँको अभाव थियो नै। साथै कपडा पनि खरिद गर्नुपर्ने थियो। उहाँले मेरो अनुरोधलाई सहज रूपमा लिनुभयो। केही कपडाहरू दिनुभयो। तर, उहाँले प्रश्न गर्न भुल्नु भएन।

बाबु किन निराश हुनुभएको छ, के भएको छ? भनेर प्रश्न गर्नुभयो। मैले पनि उहाँको प्रश्नको जवाफ फर्काउने प्रयास गरेँ। मैले तपाईंको पसलमा दिनुपर्ने बाँकी रकम बुझाउन म आइनँ भने पनि बाबुको आमा आउनुहुन्छ भाउजू भनेँ। उहाँले पुनः प्रश्न गर्नुभयो– बाबु कहाँ जान लाग्नुभएको छ र? जापान, कोरीया, अमेरिका, प्रर्चुगललगायतका देशको यात्रा भए मलाई उहाँको प्रश्नको जवाफ दिन अलि सहज हुन्थ्यो जस्तो लाग्यो। तर, मैले उहाँको प्रश्नको जवाफ दिने साहास गर्दै कहाँ हुनु भाउजु साउदी अरबको यात्रामा जाँदै छु भनेर जवाफ दिएँ। उहाँले शुभयात्राको कामना पनि गर्नुभयो।

त्यसपछि मलाई आवश्यक पर्ने केही कपडा अनि खाडीमुलुकमा सम्भावित बिरामी टाउको दुख्ने, पखलालगायतका महत्वपूर्ण औषधिहरू पनि ल्याउने उदेश्यका साथ रोल्पा समाचार साप्ताहिकको कार्यालय नजिकको अस्पतालका व्यवस्थापक आदरणीय मामा शिवप्रसाद आचार्य कहाँ गएँ। तर, उहाँले मैले भने बमोजिमको परिमाणमा औषधि नलैजाने सुझावसहित केही मात्रामा औषधि दिनुभयो। उहाँले पनि शुभयात्रा भान्जा बाबु भनेर शुभयात्राको कामना व्यक्त गर्नुभयो। भान्जा बाबु तपाईंको समस्याबाट चाँडै उन्मुक्ति पाएर खाडीमुलकबाट फर्किनु भन्न पनि उहाँले भुल्नु भएन।

०००

समयले डाँडा काटिसकेको थियो। अफिसमा गएर मेरो प्रमाणपत्र अनि आवश्यक सामाग्रीहरू झोलामा राखेर म घरतिर निस्किएँ। रोल्पा समाचार साप्ताहिक पत्रिकाका धेरै जनालाई पनि म वैदेशिक यात्रामा निस्कने विषयमा औपचारिक रूपमा जानकारी थिएन। मैले रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक आदरणीय मामा मानसिंह विश्वकर्मा र माइजूलाई औपचारिक रूपमा जानकारी गराउन पनि सकेको थिइनँ।

अन्तिम चरणमा जानकारी नगराई मलाई सुखै भएन। माइजूलाई मेरो उडान २३ गते राति साउदीका लागि टिकट आएको छ रे म त भोलि बिहान हाइसमा काठमाडाैँ जाँदैछु भनेँ। उहाँले ठिकै छ, शुभयात्रा राम्रोसँग जानु होला भनेर भन्नुभयो। समय अभावको कारण धेरै शुभचिन्तकहरूसँग मैले भेटघाट गर्न सकिनँ। घरमा सामान्य विदावादीका लागि आफन्तजनहरूलाई बोल्नु भनेर बाबुको आमा (निसाना) लाई मैले भनेँ। सोहीअनुसार आवश्यक सामाग्रीहरू तयारीसहित दशौं वर्षसम्म रमाएको लिबाङ बजारलाई बाइ गर्दै मेरो पाइलाहरू अगाडि बढिरहेका थिए।

कपाल अलि लामो भएकोले काट्नु पर्ने थियो। ती सामाग्रीहरू साली (आशा) लाई लिएर आउनका लागि फोन गरेँ। म कपाल काट्ने ठाउँमा गएर केही समयको पर्खाइपछि म कपाल काटेर घर गएँ। त्यतिबेला बाबुका आमाले बोलाएकाे आफन्तजनहरू सबै सहभागी भइसक्नुभएको थियो। खाना खाएर उहाँहरूसँग म विदावादी गरेँ। उहाँहरू आ–आफ्नो कोठातिर जानुभयो। म केही समय आर्थिक कारोबार टिप्ने गरेर बाबुकी आमालाई छाड्नु पर्ने र मैले पनि एकप्रति लग्नुपर्ने भएकोले हतार–हतारमा अर्काे नोट बुकमा टिपोट गरेँ। टिपोट गर्दागर्दै करिब समय रातको १०ः०० बजिसकेको थियो। ती कलिला मुनाहरूसँग (मुस्कान र सुशान्त) राम्ररी माया मेटाउन पनि पाइनँ। उनीहरू सुतिसकेका थिए।

आमाले भनेअनुसार मैले घर छाड्नुपर्ने नै थियो। भाइ कान्छाको कोठामा सुत्न जाने निर्णय गरेँ। २० गते बिहानको ५ः३० बजेको हाइसको टिकट अनि समयमा नै सुत्नु पर्ने। मलाई आवश्यक पर्ने कपडाहरू सबै तयारी गर्दागर्दै समयको निकै अभाव हुँदै थियो। बाँकी विवरण कान्छा भाइको कोठामा गएर सकाएँ। मैले बाबुकी आमालाई सम्झाउने प्रयास गर्दै सान्त्वना दिँदै चिन्ता नगर्नु म कमाउने ठाउँ जादै छु भनेँ। घर व्यवहार र बाबुहरूको राम्रोसँग हेरचाह गर्नु भन्दै सुतेका बुबालाई सुम्सुमाएँ।

त्यसपछि घरबाट दुई वर्षका लागि नफर्किने गरेर ती कलिला मुनाहरू र सानो घरबाट रातको समयमा बिदाइ भएर भाइ कान्छाकोतिर लागेँ। तर, घरबाट निस्किँदै गर्दा यो मनमा उब्जिएका धेरै कुराहरूले मलाई निराश पनि बनाएँ। बाँकी आर्थिक कारोबारको विवरण भाइ कान्छाको कोठामा टिपोट गरेँ। सोही कार्य गर्दागर्दै रातको १२ः०० बजिसकेको थियो। तर भाइ कान्छा भने मन्द निद्रामा परेकाे थियाे। म पनि भोलिको यात्राका लागि समयमा नै सुत्नुपर्ने भएकोले म पनि मोबाइलमा ५ः०० बजेको अलराम बनाएर सुतेँ। बिहान मोबाइलको अलरामले संकेत दिएपछि म उठेँ। अनि केही सामानहरू प्याक गरेँ र कान्छालाई यो नोट बुक भाउजूलाई दिनु, राम्रोसँग काम गर्नु, बाबुहरूलाई समय–समयमा हेरचाह गर्नु जस्ता पीडादायी सुझाव दिएँ।

त्यसपछि कान्छाको कोठाबाट निस्किएँ। जाँदै गर्दा घरको बाहिरको बत्ती बलिरहेको थियो। अनि भान्सा कोठामा आगो बलिरहेको थियो। मैले बाबुका आमालाई फोन गरेँ। अनि उठ्नुभयो भनेर सोधेँ। अँ! उठिसकेँ भनेर भन्नुभयो। म फोन गर्दै गरूँला भनेर फोन राखेँ।

हतारहतारमा टुँडिखेल पुगेँ। हाइस पनि तयारी अवस्थामा रहेछ। हाइसमा यात्रूको संख्या न्यून थियो। बिहानको ५ः३० बजेतिर अनेक सोचका साथ लिबाङदेखि काठमाडाैँको यात्रा सुरूवात भयो। बाबुकी आमालाई पनि हाइसमा चढेको फोन मार्फत जानकारी गराएँ। हाइस आफ्नै गतिमा थियो। मेरो मनमा ती सडकसँग पनि करिब दुई वर्षभन्दा बढी समयका लागि बिदा भएकै महशुस गर्दै थिएँ।

हाइस सातदाेबाटोको ओरालोमा झर्दै गर्दा मलाई असहज महशुस भयो। त्यतिबेला आमाले फोन गर्नुभएको थियो। अनि हाइस चढेर सातदाेबाटो कटिसकेको छु आमा, काठमाडाैँ पुगेपछि म फोन गर्छु भनेर फोन राखेँ। असहज स्वास्थ्यको अवस्थाले यात्रा आफैँमा कठिन बन्दै थियो भने हाइस आफ्नै गतिमा थियो। मलाई पैसा दिने भनेर कुराकानी भएका सबैसँग फोनमार्फत कुराकानी गरेँ। पैसा खातामा जम्मा गरिदिनुभएको थियो।

यसरी हतारमा भूमिगत शैलीमा वैदेशिक यात्रामा निस्किँदै गर्दा म आवद्ध नेपाल पत्रका महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष, प्रेस सेन्टर नेपाल जिल्ला शाखाका अध्यक्ष, दलित महिला सचेत केन्द्र रोल्पाका अध्यक्ष ज्यूहरूलाई मैले जानकारी गराएको थिइनँ। बुटवल नजिक पुग्दै गर्दा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा अध्यक्ष नविन सरलाई मेरो यात्राको विषयमा फोनमार्फत जानकारी गराएँ। संघसंस्थाका जिम्मेवार भूमिकामा रहेकाहरूलाई पनि जानकारी गराएको थिइनँ।

यसरी दुःखदपूर्ण यात्राका साथ रातको १०ः०० बजेतिर पुगेँ। अनि म पहिले बसेको होटेलमा पुगेँ। विष्णु सरलाई होटेलमा आइपुगेको जानकारी गराएँ अनि खाना खाएर आराम गर्नु भोलि बिहान भेट गरौंला भन्नुभयो। बाबुकी आमालाई काठमाडाैँ आइपुगेको जानकारी पनि गराएँ। म सोहीअनुसार खाना खाएर आराम गरेँ। असहज यात्राको कारण मेरो स्वास्थ्यमा समस्या थियो। तर, नयाँ ठाउँको यात्रा अनि यो मनमा अनेक काैतुहलता थियो।

बिहान सबै श्रम स्वीकृति, टिकट, विमालगायतका सबै आवश्यक कागजात पूरा भएको छ, खाना खाएर अफिसमा पिसिआर गर्न जाउँला सर भनेर विष्णु सरले भन्नुभयो। उहाँसँग पनि आर्थिक कारोबार अनि वैदेशिक यात्राको विषयमा धेरै भलाकुसारी गरेँ। म्यानपावरमा गएर पिसिआर अनि यात्राको विषयमा म्यानपावरका प्रमुखले जानकारी दिनुभयो। यस म्यानपावरबाट पूर्वका पाँचथरका सिक्कुम भाइ र म मात्र रहेछौं, एकै समयमा उडान हुने। भाइसँग अफिसमा नै चिनाजनी भयो। तर, मलाई चित्त नबुझेको कुरामा धेरै बुझ्ने प्रयास गरेपनि उहाँले तिमीलाई सम्झाैताअनुसारको सुविधाको व्यवस्था भए त भयो भनेर सम्झाउने प्रयास गर्नुभयो। धेरै कुरा बुझ्न किन खोज्नु हुन्छ भनेर सम्रगमा जवाफ दिनुभयो।

०००

शनिबार सबै कागजात ल्याउन मध्यन्तरतिर अफिसमा आउनुहोला– उहाँले भन्नुभयो। हामी दुई भाइ भोलि शनिबार भेट हुने बाचासहित आफू बसेको होटेलतिर फर्कियौं। भाग्यले मेरो साथी पाएँ। साथी पाउँदा मेरो खुसीको सीमाना नै रहेन। मलाई कता कता आत्मबल बढेको महसुश भएको थियो। होटलमा बुबा र साला (बलबहादुर)लाई बोलाएँ। उहाँहरूसँग दुःख, सुखका कुराकानीले समय बितेको नै थाहा भएन।

सोही दिन अन्ति (सपना), मामा पूर्णसिंहको कोठामा भेटघाट गर्न पनि हामी सबै जना गयौं। काठमाडाैँमा बस्नु हुने धेरै आफन्तजनहरूसँगको बसाइले वैदेशिक यात्रा सहज बनाउन सहयोग पुग्दै थियो मलाई। यसरी अनेक सोच, चिन्ताका साथ काठमाडाैँको बसाइ खुसीमै बनाउने प्रयास मैले नगरेको कहाँ हो र! शनिबार बिहानको खाना मामा पूर्णसिंहको कोठामा खाने गरेर गएँ। उहाँसँग पनि धेरै कुराकानी भयो। केही नयाँ कपडाहरू किनमेलसमेत गरेँ भने मेरो सामानहरू घरतिर पठाउनका लागि बसपार्कमा काका (केशव) लाई भेटन आएको थिएँ।

सबै काम सकाएर म्यानपावरमा गएर आवश्यक कागजातहरू लिएर हामी दुई भाई म बसेको होटेल आयौं। करिब दिउँसोको ५ः०० बजिसकेको थियो। यसरी व्यस्तमै समय बिताउँदै गर्दा मेरा शुभचिन्तक, आफन्तजनहरूले सामाजिक सञ्जालहरूमा शुभयात्रासहितका कामनाका शब्दहरूको ओइरो लागेका थिए।

नेपाल सरकारको लापरवाहीको कारण हामी नेपालीहरू दुईथरीका कागजात बोकेर विदेशिनु पर्ने बाध्यता। मेरो देशका नेताहरूको सोच, चिन्तन परिवर्तन नहुँदासम्म हामी नेपालीहरूले पाउने तक्मा यही नै रहेछ। हरियो पासपोर्ट बोकेर विदेशिने नेपालीहरूको पीडा सबैको एउटै हो। धेरैले यस्ता पीडाहरू मनभित्र गुम्साएर राख्नुभएको छ। वैदेशिक यात्राको क्रममा भोगेको पीडाहरू हामी नेपालीले भोगेको वास्तविक भोगाइ हाे।

प्रकाशित मिति: : 2022-07-09 20:56:00

प्रतिकृया दिनुहोस्