समयले सबथोक सिकाउँछ। विद्रोह एक ठाउँमा मात्रै नहुँदो रहेछ। यहाँ त पाइला पाइलामा विद्रोह हुँदो रहेछ, हुनुपर्दो रहेछ। यो त्यही विद्रोही जोडीको कथा हो।
लेकसाइडको एउटा ट्रेकिङ कम्पनीमा करिबन एक घण्टा बढी गफिएका थियौं।
मनु (मुना) गुरुङ र सनकुमार जुग्जाली, उनीहरुको नाम।
मनुको विद्रोह
पढाइ छुट्यो। बुवाको माया छुट्यो, र पनि मनुले हिम्मत हारिनन्। बुवा बित्दा मनु जम्मा ५ वर्षकी थिइन्। १३ वर्षअघि मनु (मुना) गुरुङले यही समाजसँग मनाङको दुर गाउँदेखि विद्रोह गरिन्।
‘तिमी नजाऊ, यसरी जानु हुँदैन। बिहे गरेर बस्नुपर्छ। यसरी गयौ भने हाम्रो छोरीहरुले पनि तिम्रो फलो गर्छन्। तिमी एक जनाले गर्दा हाम्रा छोरी बिग्रिए भने तिमीले जिम्मा लिन सक्छाै ?’, गाउँलेहरु भन्थे।
आगोले के पोल्छ ? काँडाले के बिझाउँछ ? मनुलाई गाउँलेको कुराले बिझाउनु बिझायो। पोल्नुसम्म पोल्यो।
उनलाई थाहा थियो, जे जस्तै भए पनि आखिर समाज त चाहिन्छ नै !
भोलि त यही समाजमा बाँच्नु छ। उनी नभए पनि आमा र भाइ गाउँमै बस्नु छ। मनुले विस्तारै आफैंलाई विश्वास पनि गरिन्। ‘मलाई जे ठिक लाग्छ त्यो मैले गर्नुपर्छ भन्ने पनि लाग्यो। यही सोचेर म आएँ,’ उनले भनिन्।
यो विद्रोह उनीसँग मात्र होइन। आफू बाँचेको समाजसँग पनि थियो। मनाङदेखि पोखरा झर्नु मनुका लागि नौलो थियो। थ्रि सिस्टर्सले रक क्लाइम्बको ट्रेनिङ दिलाइदिने भएपछि उनी पोखरा आइन्। तर, सिँगो समाजले उनलाई नराम्रो सोच्दैछ।
रक क्लाइम्बिङ यात्रा
उनी रक क्लाइम्बिङ सिक्न पोखरा त आइन्। के हुने हो ? कसो हुने हो ? भन्ने मनमा डर थियो। डरैडर बोकेर पनि मनुले हिम्मतको धागो चुड्न दिइनन्। आफैंलाई विश्वास गरिन्।
थ्रि सिस्टर्सले नै सबै थोकको बन्दोबस्त मिलाइदिएको थियो। बस्, उनलाई सिक्नु थियो। बिग्री भन्ने समाजलाई बनेर देखाउनु थियो।
सिक्नु पहिले नै आइस क्लाइम्ब गर्ने मौका पाइन्, मनुले। ट्रेनिङसँगै टेन पिक पनि चढिन्। २००९ मा मनाङकै पिक पनि चढ्न पाइछन्। यो राम्रो मौका हुन सक्थ्यो मनुको लागि। उनले राम्रै गरिन्।
थ्रि सिस्टर्सबाटै एड्भान्सको लागि इटली पनि पुगिन्। त्यहाँ पनि पिक चढिन्।
२०११ मा भिजिट नेपाल चल्दै थियो। मनु आफ्नो टिम बाँधेर अन्नपूर्ण चढ्न हिँडिन्। सफल पनि भइन्। शान्ति राई, निरमा राई, सरस्वती विक र उनको टिमले वल्र्ड रेकर्ड नै बनाएको थियो। जुन अहिलेसम्म कसैले ब्रेक गर्न सकेकाे छैन।
अहिले उनका साथीहरु अन्तै छन्। रक क्लाइम्बीङ छोडिसके रे ! तर, उनी यही क्षेत्रमै छिन्। उनलाई त आफ्नो बाटो सही छ भनेर देखाउनु थियो।
अन्नपूर्ण पिक चढेपछि उनकाे चर्चा चुलियाे, जताततै मनु नै मनु।
रेडियो, टेलिभिजन जताततै मनु। गाउँका मान्छेको मानसिकता पनि फेरियाे। त्यसपछि मनाङको तारा भन्न थाले कुरा काट्नेहरूले।
अहिलेसम्म २००८ देखि १० पिक तीन पटक, अन्नपुर्ण, चुल्हो वेस्ट, मेरा पिक, आइलम्पिक, फोकल तेलगायतका पिक चढिसकेकी छन्, मनु।
केही महिनाअघि मात्रै मनु र सनकुमारसहितको टिमले धम्पुस पिक पनि चड्याे।
यात्राकै क्रममा मनु विभिन्न ठाउँ पुगेकी छन्। धेरै थरिका मान्छेसँग ठोक्किन पुग्छिन्। कहिलेकाँही यस्ता पनि मान्छे भेटिन्छन्, विदेशी महिलाले मात्र चढ्ने पिक तिमीहरु किन आएको भनेर प्रश्न गर्दा रहेछन्। नत्र विदेशीसँग बिहे गरे मात्र चढ्छन्।
नेपालीकै बुढी भएर चढ्न पनि नपाउने ? यो कहाँको न्याय। कति पछि छ हाम्रो समाज। यसले थप हिम्मत बढ्यो। अहिले त नेपालीकै बुढी भएर संसार चिनाउँछु भन्ने आँट आएको छ मनुलाई।
भलिबलले जुराएको भेट
कहाँ लाहुर हिँडेका सनकुमार। कहाँ मनाङकी मनु! संयाेगले भेट हुन्छ उनीहरूबीच। माया बस्नु त परको कुरा, भेट हुनु पनि संयोगकै बात।
भेट पनि कस्तो भने मनुलाई पहिलो भेटमै सनकुमार मन परेनछ। कायाकिङ मास्टर सनकुमार र रक क्लाइम्बर मनुको भेट फिल्ममा देखिने पात्रभन्दा कम्ति कहाँ छ र !
त्यो बेला सनकुमार खुबै भलिबल खेल्थे। मनुले पनि त्यही बेला देखेको रे ! ‘पूरै रफ टाइपको के, केशव साथीसँग बोलेको। म त्यति बोलिनँ। रफ टाइपको थियो’, मनुले भन्छिन्, ‘म गाउँबाट झरेको। उलाई देखेर मेरो सबै साथी डराउने।’
‘उसलाई हेर्दा कस्तो कस्तो खालको’, मनुले सुनाइरहँदा सनकुमार मुसुमुसु हाँस्दै थिए।
बाहिरबाट रफ भए पनि मनका सफा। बाहिर जे जस्तै भए पनि भित्र ठिकै होला भन्ने लाग्यो रे, मनुलाई।
अब त फेरियो होला भनेको, २ वर्ष भएपछि भेट्दा त फेरि ट्याटु खोपेर आएछन्, सनकुमार। मनुको फेरि मन कुँडियो।
‘मेरो कन्सेप्ट भनेको ट्याटु हानेको, कपाल पालेको मान्छे केटी नै बेच्ने जस्तो लाग्थ्यो। म कस्तो नराम्रो मान्छेसँग साथी भएछु भन्ने लाग्यो। एक महिना उसकाे कल रिसिभ पनि गरिनँ,’ मनुले रमाइलो किस्सा सुनाइन्।
आमा सम्झिन्। भाइ सम्झिन्। गाउँलेको नमिठो बात पनि सम्झिन्, मनुले। बितेका बाको पनि इज्जत सम्झेर उनी टाढै बसिन् रे !
‘बाहिर रफ भए पनि मान्छे सफ्ट छ’ भनेर साथीहरुले सम्झाएछन्। सनकुमारदेखि सक्दो टाढा बस्ने कोसिस गरिन्, मनुले। त्यसपछि कसरी साथी बने थाहा नै भएन। अनि त भेटघाट बढ्दै गयो। माया बस्यो उनीहरूकाे। ११ वर्षदेखि सम्बन्धमा बसे पनि यही वर्ष मात्रै घर भित्रिँदै छिन् मनु।
भन्छन् नि, मान्छेको जिन्दगी पनि किताब जस्तै हो। कतै सुखका कथा, कतै दुखका। दुखले सुख खोज्न सिकाउँछ। सुखले बाँच्ने साहस दिन्छ।
मनुको पहिलो बिहे पनि भएको रहेछ। उसै त सानो केही ठाउँ पाउनै हुन्न समाजलाई, कुरा काट्न सुरु भइहाल्छ। अझ, मनुकाे दोस्रो बिहे। समाजसँग विद्रोह गर्नु त्यति सजिलो थिएन, र पनि उनीहरुले बोले। पहिलो विवाहपछि छोरी जन्मेकी रहिछन् मनुको। छोरी अहिले उनीहरुसँगै राखेका रहेछन्।
मिठो कहानी जस्तो लाग्ने मनुको दुखलाई सनकुमारले आफ्नो माने। स्टाइलिस सनकुमारलाई मनुले आफ्नो ठानिन्। मनुको दोस्रो भए पनि सनकुमारको भने पहिलो बिहे थियो। उनले सम्झाइन् पनि। तर, सनुकुमारको माया झेली थिएन।
‘घरबेटीले पनि कस्तो बुढाबुढी हो भनेर पनि भन्छन्’ , सनकुमारले सुनाए।
अन्तिममा हामीले सोध्यौं- यो भागदौड कहिलेसम्म ? मनुले भनिन्, ‘अझै धेरै गर्न बाँकी छ। भविष्यमा एभरेष्ट चढ्ने योजना छ। त्यसपछि सोच्ने।’
‘उसको सपना पूरा नगरेसम्म’, सनकुमार भन्छन्।