मर्स्याङ्दी थुनिदा मनाङमा भीषण बाढीपहिरो, मान्छेहरु ज्यान जोगाउन जंगलतिर भाग्दै 

मर्स्याङ्दी थुनिएर मनाङको चामे र ताल गाउँ लगायत तल्लो तटिय क्षेत्र डुबानमा परेका छन्।

अविरल वर्षाका कारण पानीको सतह नघट्दा मान्छेहरु ज्यान जोगाउन जंगलतिर भाग्न थालेका छन्। 

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले ज्यान जोगाउन मान्छेहरु जंगलतिर भाग्न थालेको बताए। ‘फोन लागेको छैन। मान्छे जंगलै-जंगल दौडिदै छन्। मान्छे भेला गर्न पनि सकिएको छैन, पानी परिरहेको छ,’ उनले भने, ‘चामे बजारमा लगeu १२/ १३ सय मान्छे विस्थापित भई सके।’

पानीको बहाव नघटेसम्म उद्दार गर्न नसकिने उनले बताएका छन्। हिमालतिरबाट उर्लेर आएको ठाडो खोलाले मर्स्याङ्दी थुनिदा चामे बजारै विस्थापित हुन पुगेको उनले जानकारी दिए।

‘मेरो गाउँपालिकाको अवस्था यो हो। ताल गाउँतिर त सबै बस्ती नै पुरेको अवस्था छ,’ उनले भने, ‘बिल्डिङ पनि बगायो भन्ने खबर आएको छ। सत्यता के हो सम्पर्क हुन पाएको छैन। मर्स्याङ्दी गाउँपालिकामा पनि वन कार्यालय लग्यो भन्ने कुरा छ।’

मौसमको कारण उद्धारका लागि हेलिकप्टर पनि उड्न नसकेको उनले बताए। ‘यहाँ भएको सानो स्रोतले हेर्न बाहेक अरु केही गर्न सकिएको छैन,’ उनले भने।

अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिए। ‘फोन सम्पर्क पनि छैन। त्यही भएर कहाँ के भैराछ थाहा पनि छैन,’ उनले भने।

बाढीले पुल बगाएर सडक सम्बन्ध पनि विच्छेद छ। हेलिकप्टर नआएसम्म उद्धार कार्य सम्भव नभएको उनले बताए। 

जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले पानीको सतह नघट्दा उद्धारमा कठिनाई भईरहेको बताए। ‘स्थिति उस्तै छ। स्थितिमा सुधार आएको छैन। पानी परिरहेको छ, रोकिएको छैन,’ उनले भने, ‘मर्स्याङ्दीमा पानी लेभल पनि घटेको छैन। बढेको बढ्यै छ।’

वरिपरिका बस्ती धारापानी, थोचे, कोथो लगायतका क्षेत्रमा बाढीले क्षति पुर्‍याएको उनले बताए। 

३३ जना सेना प्रहरीको टोली धारापानीतर्फ उद्धारको लागि पठाए पनि पुलहरु सबै भत्केको कारण तर्न सक्ने स्थिति नरहेको पनि उनकाे भनाइ छ।

‘पुलहरु सबै भत्काएको छ। धेरै खोलाहरु छन्, बिचमा तर्न सक्ने अवस्था छैन, गाह्रो छ। छहरे खोलाहरु एकदमै मान्छे तर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘राहतको लागि काठमाडौंबाट आउने भनेको हेलिकप्टर पनि मौसमको कारण आउन सकेको छैन। स्ट्याण्ड बाई छ।’

बाढीले ताल गाउँ, धारापानी लगायत मर्स्याङ्दी किनारका सबै बस्तीमा क्षति पुगेको उनले बताए। लगातारको वर्षाले पानीको बहाव बढी रहेको छ। चामे गाउँपालिकामा तीन सय जना विस्थापितलाई नवनिर्मित कारागार भवनमा सारिएको उनले जानकारीदिए।

प्रकाशित मिति: : 2021-06-16 13:15:00

प्रतिकृया दिनुहोस्