सरकारले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै जेठ महिनाभरिका लागि बढाउने निर्णय गरेको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, अब खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय भएको छ। यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो।
आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ। जस अनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही जेठ १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो।
उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो। पछिल्लोपटक थप गरेको निषेधाज्ञाको समय जेठ २० गते राति १२ बजे सकिँदैछ।