कविता

मलाई बाेल्न दे

त्यतिबेला
मेराे आवाज सुन्ने कुनै कानहरू थिएनन्
मेराे भाेकलाई महसुस गर्ने कसैका मस्तिष्क थिएनन्
मेराे आस्था र भराेसालाई थाम्ने कुनै हातहरू थिएनन्
मेराे पेशालाई सम्मान गर्ने कुनै निकायहरू थिएनन्
मेरा लागि विद्यालयका ढाेकाहरू खुल्ला थिएनन्
मन्दिरहरूमा मलाई प्रवेश निषेध थियाे
सबै बन्द थिए अवसरका ढाेकाहरू ।

त्यसपछि म बेरोजगार भएँ ।

मन्त्रालयका कुर्सीहरू मेराे भएनन्
कुनै तन्त्रालयहरूमा मेराे प्रवेश भएन ।

म आफ्नै पेशामा रमाएँ
कसैलाई नचाएँ
कसैलाई हसाएँ
मात्रै म साधन भएँ ।

मैले मन्दिर छुँदा कुटाइ खानु पर्ने
मैले कुवा छुँदा गाउँनिकाला हुनु पर्ने
म तिम्राे साधन भैरहनु पर्ने
अब अत्ति भाे
मलाई बाेल्न दिनुस्
बाेल्ने पालाे मेराे हाे
देश छाेड्ने पालाे शासकहरूकाे हाे ।

मेराे मानवीयमा प्रश्न गर्ने तँ काे हाेस् ?
मेराे अस्तित्वमाथि धावा बाेल्ने तँ काे हाेस् ?
अब त अत्ति भाे
मलाई बाेल्न दे
बाेल्ने पालाे मेराे हाे
देश छाेड्ने पालाे शासकहरूकाे हाे ।

संविधान तैले बनाइस्
संविधानकाे बलात्कार तैले गरिस्
जनतालाई कण्डम साेचिस्
ए शासक हाे अब विचार गर
मर्ने पालाे तेराे आयाे
मार्ने पालाे मेराे आयाे ।

कस्ताे अचम्म !
तैले बनाइदिएकाे कानुन मैले मान्दिनु पर्ने
तैले ममाथि शासन गरिरहँदा म‌ैले सहिदिनु पर्ने
तेराे मर्जिले बनाएकाे कानुनलाई मैले शिरमा राख्दिनु पर्ने
ए कानुनका ठेकेदार हाे
तेराे सधैँ जयजयकार गर्दिनु पर्ने के छ ?
मलाई बाेल्न दे
बाेल्ने पालाे मेराे हाे
सुन्ने पालाे तेराे हाे ।

यदि,
तैले बनाइदिएकाे कानुनले मलाई न्याय दिन सक्दैन भने
मैले किन मान्नु संविधान ?
तैले बनाएकाे कानुनले
मेराे अस्तित्वलाई बलात्कार गर्छ भने
मैले कानुनलाई बलात्कार गर्दा के भयाे ?
मलाई बाेल्न दे
बाेल्ने पालाे मेराे हाे
सुन्ने पालाे तेराे हाे ।

तँलाई जानकारी हाेस्
म कुख्यात डाकु भएर उदाउने छु
मध्य बाह्रा बजेकाे घामजस्तै रापिलाे भएर
र तेराे छाला तारेर सेकुवा बनाउँछु
मेरै कलाले सिर्जना भएका धारिला हतियार लिएर
छिनाल्ने छु तेराे टाउकाे
र चढाउने छु मैले छुन नपाएकाे मन्दिरहरूमा ।

मलाई बाेल्न देखे
बाेल्ने पालाे मेराे हाे
मलाई लेख्न दे
लेख्ने पालाे मेराे हाे ।

प्रकाशित मिति: : 2021-03-20 10:01:00

प्रतिकृया दिनुहोस्