उसो त धर्तीका अधिकांश भू–भागहरू प्रिय नै लाग्छन्, कोमल र संवेदनशील मनका लागि। विगतमा भेटेका कतिपय स्थान र मान्छे आइरहेकै हुन्छन्, सम्झनामा। तर, कुनै–कुनै ठाउँ यस्ता हुन्छन् कि प्रायजसो बसिरहेकै हुन्छन्, यादका च्यादरभित्र सजिएर। यसरी हरकोहीको यादका च्यादरभित्र सजिरहने सुन्दर ताल हो, रारा पनि।
प्लेनको झ्यालबाट चियाउँदा छुट्टै प्रकारले टल्किन्छ। आँखाका नानीभित्र अर्कै ढंगले छल्किन्छ। लेखकका लेखभित्र छुट्टै बिम्ब बनेर आशन जमाउँछ। सबैभन्दा बढी सम्झनाका छालभित्र बसिदिन्छ याद बनेर।
त्यही राराको बेलाबखत चर्चा हुने गर्छ, हिजोआज नेपालमा। नेपालबासी कतिपयले योजना बनाउछन्, घुम्न जाने। देशकै सबभन्दा ठूलो ताल। मुगुबासीका दुःख बटुलेर रंग फेरिरहे जस्तो फेरिरहन्छ छिनछिनमै राराले आफ्नो रंग पनि।
आकाशसँगै जिस्किएजस्तो गरिदिन्छ। आकाशलाई गिज्याए जस्तै गरिदिन्छ। बादल लाग्दा कालो देखिन्छ। आकाश खुल्दा पुरै ताल नीलो भैदिन्छ। मध्यान्नमा उग्र रुप धारण गरेर हिर्काउँछन्, छालहरू किनारमा। लाग्छ कतै गाउँ छोड्दाको गीत त सम्झिनन्, राराले। किनारमा बेस्सरी हावा चल्दा लाग्छ कतै नैपालसँग आन्दोलन गर्ने धावा त बोलरहेकी छैनन्, यिनले।
वरिपरी जङ्गल बीचमा सुन्दर ताल। जुन १ सय ६७ मिटर गहिरो छ। ५.१ किमि लम्बाई र २.७ किलोमिटर चौडाईमा फैलिएको छ। त्यही सुन्दर मनमोहक राराका थुप्रै कथाव्यथाहरू छन्। रारासँग सम्बन्धित कयौं गीतहरू रचना भए। कति ड्यौडियाहरूले त्यही किनारमा सवाल जवाफमै रात बिताए अत्तोपत्तो छैन्।
२०३५ सालमा राराबासीले गाउँ छोड्दा डेउडा गीत गाउँदै आँखाका परेली भिजाउँदै छातीमा भक्कानो पार्दै रात बिताएको कथा सुनिन्छ बूढापाकाको मुखारबिन्दुबाट। गाउँ छोड्दाको रातमा गाइएका डेउडा गीतका अन्तिम पंक्तिहरू यस्ता थिए:
तीतो फापर मीठै हुन्छ शीतल साराय
यै पापी राजाका लाग्दा बसेइ राराय
नेपालबाट उर्दी जारी हुन्छ भोलि नै गाउँ छोड्नु भनेर। इन्तुनचिन्तु बनिदिन्छन् निर्दोष गाउँले मुहारहरू। भगवान् रामले पनि लक्ष्मणलाई भनेका छन्:
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।
(लक्ष्मण यो लङ्का सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन्। किनकि जन्मदिने आमा र जन्मेको भूगोल स्वर्गभन्दा पनि महान छन्।)
त्यो स्वर्गभन्दा पनि महान ठाउँ छोडेर त्यतिबेलाको औलोको डर भएको तराईका झाडीमा जानुपर्दाको क्षण, बालबच्चा बोकेर बाटो लागेका ती पाइलाहरूको ३२ दिनसम्मको थकान, त्यो पीडा सम्झिँदा पनि छातीमा भक्कानो उठ्छ राराकी जौमती बुढालाई।
गाउँलेले रातभर डेउडा खेले। राम्ररी उज्यालो नहुँदै परेली भिजाएर अन्तिमपल्ट धितमरुन्जे हेरे रारालाई र दुई पक्ति डेउडा गीतका माध्यमबाट भने,‘जस्तोसुकै दुखकष्ट आइपर्दा पनि सहेकै थियौं। तिम्रो काखमा बस्दा तितो फाँपर पनि त मिठै ठानेर खान्थ्यौं। हाम्रो बस्तीमा शीतलता छाएकी थियौं। दुनियाँले जेसुकै भने पनि कम आनन्दको जिन्दगी थिएन हाम्रो। आज पापी राजाका कारण ठाउँ छोड्नु पर्यो। प्रिय रारा ! तिम्रा किनारका तरु लतालगायत यो सुन्दर उपवन र तिमीलाई छोडेर हामी जान बाध्य भएका छौं। तिमी राम्ररी बस्नू। हामी तिमीलाई सदा सम्झिरहने छौं।’
उक्त डेउडा गीतको यो भावले केही हदसम्म सम्झिन बाध्य तुलाइदिन्छ महाकवि कालिदाशद्वारा लिखित आँसुकवि शम्भुप्रसाद ढुङ्गेलद्वारा अनुदित यी पंक्तिहरू।
जो प्यूँथिन् तिमीलाई सेची पहिले आफू पछाडि अनि
जान्थ्यो चित्त तथापि फूल प्रिय भै लाउन्नथिन् क्यै पनि
आउँथ्यो मजुरा जसै तिमी महाँ आनन्द मान्थिन् अति
आज्ञा देऊ शकुन्तला अब तिनै जन्छिन् जहाँछन् पति
महाकविका कविता पंक्तिले तपोवन निकटका तरुवरसँग शकुन्तालाई विदाई गर्न आज्ञा दिन अनुरोध गरेझैं मलिन मुहारमा देखिएका निर्दोष गाउँलेहरूलाई विदाई गर्न भनिन्, राराले ती किनारसँग तरुवरसँग। रारावासीका कुलदेवताले भनेकी भनेन्, रारासँग। जेसुकै भए पनि अनुमान गर्न सकिन्छ त्यहाँका सारा वृक्षहरू, त्यो धरा सबै मौन बने होलान् राउँ रित्तो पारेर लस्करै मान्छे निस्किँदाको क्षणमा। त्यो घटना सम्झिँदा अहिले पनि कहाली लाग्छ भन्ने पात्रहरू भेटिन्छन्, घुम्ती घुम्तीमा। रारा र छाप्रा दुई गाउँ मानवविहीन बने। पूर्वजका पालादेखि पुज्दै आएका देउताका थान निरिह बने। ६० वर्षीया जौमती बुढाकाअनुसार ३२ दिनसम्म हिँडेर उनीहरू पुगे दमौली मोतिपुर। जौमती भन्छिन्,‘खासै बस्ती थिएन। पुरै जङ्गल थियो। त्यही जङ्गल फडानी गरेर बस्यौं। गाउँको याद आउँदा ठाडी भाका सुसेल्थ्यौं। विरह पोख्थ्यौं।’
त्यतिखेरको घटना सम्झिँदा भावुक बनिदिन्छन्, मुगुका ७६ वर्षीया गगनबहादुर मल्ल। दुईवर्ष अघिको भेटमा उनले सुनाएका हुन् त्यति बेलाको घटना। मल्लकाअनुसार त्यो दृश्य हेरिनसक्नु थियो। उनी सम्झिन्छन्,‘निकै रुवावासी भैरहेको थियो। बिहानको समय अधिकांश मान्छेहरू रुँदै बाटो लागिसकेका थिए। कोही भने भाँडाकुँडा बेचिरहेका थिए। कोही गाई, भैंसी, बाख्राका शिर मुसार्दै डाको छोडी रोइरहेका थिए। त्यतिबेलै म पनि एउटा महिलासँग तावा किन्न थालेँ। तावा दिनेबेला तिनले डाको छोडेर रुँदै भन्न थालिन्, कसरी पकाउँथेँ। के–के चिज पकाउँथे। आज तिमीलाई अरूको हातमा सुम्पिनु पर्यो। निकै बेरसम्म तिनले उन्तिमपल्ट तावा मुसारिरहिन्। म एकछिन आँखाभरि आँसु बोकेर मौनतामा उभिरहेँ।’
उसो त मल्ल पनि त्यति बेलाका पिडित हुन्। उनको पनि माथि लमालेसेरी भन्ने ठाउँमा बस्ती थियो। आलु फल्ने, गहुँ फल्ने जमिन थियो। सबै जमिन आरक्षणले अतिक्रमण गर्यो। तर, क्षतिपुर्ति भनेर केही दिएन। रारा र छाप्रा गाउँबाट निस्किनेहरू तराई पुगे। त्यहाँ पनि सजिलो कहाँ थियो र। दिनभरि अर्काको काम गरेर रासन ल्याउँदै गुजरा चलाउन बाध्य भए। मुगुका कयौं मान्छेले क्षतिपुर्ति नै पाएनन्। मल्ल सुनाउँछन्,‘पहिले रुमको भित्र झाल्लेगौडोमा किल्ला हाले। त्यसपछि झाल्लेगौडो हुँदै मालिकी धारो, मालिकी धारो हुँदै दुखे र कुच्चेखात भन्ने ठाउँसम्म किल्ला हालियो। हाम्रो सारा जमिन च्याप्दै लगियो। निवेदन दियौं तर क्षतिपूर्ति केही पाएनौं। अचेल गाई भैंसी चराउन दुःख छ। अरुको वनमा जाँदा गाली खानुपर्छ। त्यो कुरा कहिल्यै सुनेन्। सधैजसो बुझपचाएर बस्यो नैपाल।’ रारा किनारमा बुटधारी सेनाका जत्था पठाइयो। गाउँमा पुलिस आउँदा डराउनुपर्ने समयमा कसको के नै चल्थ्यो र। मात्र मुकदर्शक बनिरहे मुगुबासी।
मुगुका बूढापाकाकाअनुसार २०२० साल चैत्र २० गते मुगुमा हिउँ पर्यो। त्यो साल भोकमरी भयो। २०३५ सालमा मुगुभित्र नैपाल छिर्यो। मुगुबासीको रुवाबासी भयो। पछिल्ला दिनमा लोकतन्त्र छिर्यो। गणतन्त्र छिर्यो। जनतालाई सपना देखायो। आफ्नालाई पोषिरह्यो। रारा घुम्न आउनेसँग आरक्षण प्रवेश शुल्क भनेर पैसा असुल्नेहरूले संरक्षण गर्न चाहेनन् रारा र छाप्रा गाउँका घरका अवशेषहरूलाई। पुरातात्विक सम्पदाका रुपमा स्विकार्न चाहेनन्, बस्ती भित्रका ती पुराना मठ, मन्दिर र ती ढुङ्गेधारालाई।
मुगुको इतिहासको एउटा पाटो ती बस्तीका अवशेष आज झाडी र बुट्ट्यानभित्र लुकेका छन्। जुन सजिलै देख्न सक्दैनन्, पर्यटकले। कुनै सम्राटले बस्ती उठाए। कुनै सम्राटले सपना देखाएर झुटको खेती गरे। हिजो एउटा मात्र सम्राट थिए आज हजारैं सम्राट बने। मुगुले पठाइरह्यो नैपाललाई रैबार। तर, कहिल्यै सुनेन नैपालले मुगुबासीको रैबार। कर्णालीको रैबार। भावुक बनाउने गीतका पंक्तिहरू त सुन्न नचाहने, बुझ्न नचाहने सम्राटहरूले के सुन्दा हुन् र कर्णालीको रैबार। आज अधिकांश युवाहरू बिदेशीदै छन्। तिनले पनि रारालाई पुलुक्क हेरेर गुनगुनाउनु परेको छ केही परिमार्जन गरेर गाउँ छोड्दाको उही पुरानो गीत:
तितो फपर मिठै हुन्थ्यो शीतल साराय
यिन पापी सम्राटका लाग्दा बसेइ राराय