प्रकृतिप्रेमी राजु श्रेष्ठ भेटमा भनिरहन्छन्,‘लु है यसपाल्ट रारा घुम्न जानुपर्छ।’ खप्तड यात्राका क्रममा परिचय भएका राजुसँग अचेल काठमाडाैँकाे बुद्धनगरस्थित केक एण्ड बेकमा बेलाबखत भेट भै नै रहन्छ। पर्यटनकर्मी अमरबहादुर शाहीलाई प्याकेजको जिम्मा दिने तयारीमा छ, उनको समूहको। उनको समुहका सबै मन रमाइला ऊर्जावान र आत्मीय छन्।
रारा भन्ने बित्तिकै सम्झनामा आइदिन्छन्, जौमती बुढा, कर्णबहादुर शाही र गगनबहादुर मल्लले सुनाएका राराबासीका विगतका पीडा। रारा घुमिरहन्छ सम्झनाका पल्लाभित्र।
दुई वर्ष बितिसके छ पछिल्लो समय रारा भ्रमण गरेको पनि।
०००
जुनेली रात निश्चल सुन्दर तरङ्ग। हावाको वेगले हल्लाउँछ रारालाई र स्पर्ष गर्छन्, छालहरुले किनारालाई। किनाराहरु साक्षी बनिरहेकै छन्, वर्षौदेखि। रारा निर्मल छिन्, शान्त छिन् तर कतिबेला देखाउँछिन् तान्डव नृत्य र बेहोशीपनमा मडारिन्छिन्, छालबनेर। पौडी खेल्छन् हिमाल रारामै। मौन बनेर हेरिरहन्छन्, बोटविरुवाहरु किनारबाट। वर्षौ भैसक्यो पाएन राराले सौन्दर्य पान गर्ने खासाका मनहरु। जसको प्रमुख कारण हुन्, यो देशका शासकहरु। कसैले सोच्दैनन्, रारासम्मको यात्रालाई सहज बनाउन बाटोको स्तरिकरणका निम्ति। ल्याएनन् विमानस्थल सुधारका योजना पनि। बरु ठेक्कामा सुम्पिदिए प्लेनको टिकट काट्न पनि। लगाइदिए जताततै सिन्डिकेड। जसरी राराको छातीमा पौडिन्छन्, सैकडौं जोडी मलेवा। उसैगरी सलबलाउछन्, कर्णालीवासीको छातीमा पीडाका धर्साहरु। रारा मौन छिन्। कर्णालीबासी मौन छन्। यो मौनता एकप्रकारको बिरोध पनि हो। गुनासो पनि हो। बुझ्दैनन्, यो देशका सम्राटहरु।
पहिलो पटक रारा पुग्दा आकाश मार्गबाटै छिचोलेको थिएँ, कर्णलीको भूगोललाई। मंसिरको महिना हिउँ परिसकेको थियो। मेरा मित्र श्रीराम घिमिरे र म निस्कियौं राराको किनारमा पाइला टेक्ने सोचले यात्रामा। चारैतिर देखिन्थे हिउँको पगडी गुथेका हिमाल र पाहाडहरु। सिरसिरे बतास भागिरहेको थियो, शरीरमा स्पर्श गरेर। उत्सुकताले मनको भित्रि पाटोमा स्पर्श गरिरहेकै, थियो बाटोभरी। त्यो उत्सुकता थियो, राराको दर्शन पाउने। वर्षौदेखि बिछोडिएका प्रेमी–प्रेमिकाझैं आतुर थियौं, हामी रारासँगको मिलनका लागि।
एकपटक रारासँग साक्षत्कार गरेर अघाएन मन। मरेन मनको धित्। मनको धित् मार्न त जतिपल्ट गए नि सकिँदैन होला जस्तो लाग्छ। तथापि सामान्य ढंगले पनि अघाउन सकिएन। कारण थियो, हिउँमा चिप्लेर मेरो खुट्टामा चोट पुग्नु। त्यही चोट पाउनु परेको कारण छिट्टै फर्किनु पर्यो। अर्कोतिर नेपालमा बस्ने समय निकै कम थियो, मित्र श्रीरामसँग। फर्किनु पर्ने थियो, उनले चाडै नै अमेरिका। यिनै कारणले गर्दा हामी धेरै दिन डुल्न र बस्न सकेनौं, रारामा।
दोस्रो पटकको यात्रा थियो, गत कार्तिकमा। जुम्ला सदरमुकाम घुमेर गुठी जिउलामा बास बसेको हाम्रो टीमको यात्रा तय हुन्छ बिहान झिसमिसेमै। पहिलो पटक चिलगाडीमा जाँदा मात्र राराको किनारको यात्रामा सिमित भएको मन यसपटक निकै उत्सुक भैदिन्छ ती डाँडाकाँडाको दृश्यावलोकनका निम्ति। गाडीमा एक घन्टा हुँइकिएपछि पुगिन्छ, घुच्चीको लेक। जो राराको किनारभन्दा पनि सुन्दर देखिन्थ्यो। सुन्दर अनि मनमोहक पाटनहरु चारैतिर घना जङ्गल। रारा राष्टिय निकुञ्ज भित्रै पर्छ उक्त ठाउँ।
गाडीबाट झरेर करिव दस मिनेट जति हिँडेपछि आइपुग्छ राराको प्रवेशट्ठार। जहाँ भेटिएकी थिइन्, स–सानो होटल सञ्चालन गरेर बसेकी ६० वर्षीया जौमती बुढा। उक्त होटलबाटै देखिन्थ्यो उनको माइती गाउँ। जौमतीका पाँच भाइ जन्मिदै बितेपछि उनका बुवाले राराका लोकबहादुर बुढालाई घरज्वाइ हाले (राखे)। पछि जौमतीका पाँच जना भाइ जन्मे। अनि भाइसँग बस्दैन भनी उनी रारा गाउँस्थित लोग्नेको घरमा गइन।
‘माइतमै बुढीए त। पहिले केही काम पर्दा बुढाको घर जान्थेँ। माइतीमै बिहे भइकन माइतमै बस्नु पड्ड्या भयाको हुँदा बिहेको दिन पनि रोइनँ। राराको बस्ती उठाउँदाका दिन धरधरी रोएँ। उतिबेला नहुने कोइ थिएइन,’ उनले ती दिन सम्झिँदै सुनाइन्।
त्यो आकाश, ती वनपाखा,मध्यान्हमा छल्किने राराका ती छालहरु सबैलाई सम्झनामा बोकेर हिँडेका केही पाइलाहरु पुनः फर्किएका छन्, रारा क्षेत्रमा। तर, ती मनहरु मात्र सानोतिनो व्यापार व्यावसाय चलाउन भनी फर्केका हुन्। अब छैन त्यहाँ तिनको केही पनि। जहाँ तिनले पाउँदैनन्, घाँसदाउरा ल्याउन। गाईबाख्रा चराउन। अनि विगतमा रारा किनारको आफ्नो घरको झ्यालबाट चियाउन। सबै इतिहास बनिसक्दा पनि छोड्दैन विगतको यादले सताउन। ती दिन सम्झिदा अझै पनि आँखा रसाउँछन्, जौमतीहरुका।
‘२०३४ सालमा निकुञ्ज खुल्यो। १ साल त्यतिकै बिताए। त्यसपछि त्यो ठाउँ छोड्नुपर्ने भयो। बाँकेको गावर बस्ती दिन्छौं, तिमी यताबाट निस्क भने। धामी झाक्री हेराउने चलन थियो। गाउँलेले एकदिन धमेलो राखे। धामी काँपेर भन्न थाले– दे नरौ त्यो राजा भनाउँदोलाई त्याको त्यइ बिसाउँछु। तमीहरुलाई यो ठाउँ छोड्न दिँदैन। राजा ठूलो की म ठूलो ?’, हाल कोहलपुर निवासी कर्णबहादुर शाहीले सुनाए।
मध्य तथा सुदूरपश्चिमतिर एउटा कहावत नै छ– राजा र काल लागेपछि छोड्दैनन्। त्यही कुरा मनन् गरी फेरि दोस्रो पटक धमेलो भएछ। धामी काँपेर भन्न थाले छन् ,‘दे दास्त नरौ तिमी जाँ जान्छौ म त्यही हुनेछु। तिमीसँगै हुने छु।’
निरिह बने पुर्वजका पालादेखि पुज्दै आएका देउता पनि। ती देउतामाथिको भरभरोशा समेत सिद्घिएपछि केही रहेन बाँकी। बाँकी रह्यो त डेउडाका माध्यमबाट गाउँ छोड्दाको रात मनको पीडा पोख्नु। छातीमा भक्कानो बोकेर परेलीका डिल भिजाउँदै सुरु भयो डेउडा खेल। रातभर महिला/पुरुष सबैले डेउडा खेल। जहाँ जिन्दगीका तिक्तता थिए। बस्ती उठाउने शासकप्रतिको आक्रोश थियो।
भट्टे चौडी हिमाल नदी बीचमा गमगडी
सिरान रारा ताल पड्यो राष्टकी मनपडी
पिता पुर्खाकोे थलो, आफ्नो जन्मभूमि जन्मघर छोड्नु पर्दाको पीडा छचल्किन्थ्यो डेउडाका शब्दमा। ती डेउडाका हरेक शब्दहरु काव्यिक थिए। केही पंक्तिहरु पुराना बूढापाकाहरु सम्झिन्छन्, अझै पनि।
जाडको जडेनी आमा रन्की भुटिन् बौर
अब बस्न पाइन्या छैन उठे बस्याका ठौर
कर्णबहादुर शाहीका अनुसार रातभर मुढा बालेर खेलिएको डेउडा खेल उज्यालो हुँदा सिद्घियो। खेल सिद्घिदाको अन्तिम गीतले एकातिर राजालाई सरापेको छ भने अर्कोतिर पराइको आँगन टेक्न बाध्य छोरीले रुँदै साथीसङ्गी, वनपाखा माइतीगाउँ सम्बोधन गरेर बिलौना पोखेझैँ रारालाई सम्बोधन गरी बिलौना पोखिएको छ। जहाँ भनिएको छ,‘हे रारा तिम्रो काखमा बस्दा तितो फाँपर पनि त मिठै लाग्थ्यो। सबै ठिकै थियो। जिन्दगी चलेकै थियो। हामी खुसी नै थियौं। तर, आज यो पापी राजाका कारण हामी तिमीलाई छोडेर टाढा जाँदैछौं। तिमी राम्ररी बस्नु। अब हाम्रो हिँड्ने बेला भयो।’...
उक्त गीतसहित त्यतिखेरको गतिविधि समेटिनेछ दोस्रोे लेखमा।