खाडी मुलुकमा कार्यरत नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपुर्वका विभिन्न देशमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग जुटाएर ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएको छ।

युएई, ओमान, कतार, साउदी अरब, कुवेत र बहराइनमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समितिहरूले त्यहाँ कार्यरत श्रमिकहरूसँग चन्दा संकलन गरी करिब ७५ लाख रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर नेपाल पठाएको हो।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज मार्फत पठाइएको उक्त सामाग्री शनिबार साँझ काठमाडौँ पुगेको एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले जानकारी दिए। उक्त सामाग्री खरिद तथा ढुवानीमा ओमनस्थित नेपाली दूतावासले सहयोग गरेको गोर्खालीले बताए।

एनआरएनए मध्यपूर्वको सक्रियता र एनआरएनए ओमनको संयोजनमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान संचालन गरेर अक्सिजन खरिद गर्न आर्थिक संकलन गरिएको थियो।

त्यसैगरी, एनआरएनएले चीनबाट खरिद गरेको १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दै छ। यसका लागि एक करोड ३७ लाख रुपैयाँ खर्च लाग्ने एनआरएनएले जनाएको छ।



याे पनि...

ओमानबाट अक्सिजन बाेकेर काठमाडाैं उड्याे नेपाल एयरलाइन्सकाे विमान

प्रकाशित मिति: : 2021-05-15 21:27:00

प्रतिकृया दिनुहोस्