हाइ !

Breaknlinks
Breaknlinks

- 'हाइ!'

साेमबार रातको आठ बजे। फेसबुकमा अपरिचित नामबाट आएको अनपेक्षित मेसेजले अचम्मित बने।

'एकछिनमा रिप्लाई दिनुपर्ला।' यस्तै–यस्तै सोच्दै बसिरहेको थिए। तर, खै किन हो मनले मानेन। उसको प्रोफाइल नियाल्न मन लाग्यो। एड भएको सात महिना भइसकेछ।

बेला-बेलामा उसको लाइकको नोटिफिकेसन आउँदा त्यति वास्ता लागेको थिएन। तर, आज एक्कासी 'हाइ' शब्दले छुट्टै माहोल खडा गरिदियो। जसरी हावाले उडाएर ल्याएको कुनै सुकेको पत्करले पनि शान्त तलाउको माहोल बेग्लै बनाइदिन्छ।

सुन्दर मुहार, गहुगोरी, चिम्सा आँखा, हाइटमा मसँगै मेल खाने। उसको वाल चेक गरे। उसको तस्वीर, उसले अपडेट गरेका स्टाटस सबै नियाले। यसो सोचे, मेरो बानीसँग नै मिल्दो रहेछ। 

हतारमा रिप्लाइ दिए, 'हेल्लो।'

- सन्चै हुनुहुन्छ ?
- हजुर ठिक छ, अनि तपाइलाई कस्तो छ ?
- म ठिकै छु। 
- हजुरको घर रोल्पा हो, है ?
- हो नि, कसरी थाहा पाउनु भयो ? (खुल्दुलीमै प्रश्न गरे)
- रेडियोमा तपाइको आवाज सुनेको थिए। निकै राम्रो लाग्थ्यो तपाइको आवाज, अनि एड गरेको थिए। तर फेसबुकमा भेटाउन नै महिना लाग्यो।
- अक्सर जरुरत परेको मान्छेलाई भेटाउन निकै गाह्रो पर्छ मिस ! (यसलाई प्रेमिल फ्लर्टिङ भन्न मिल्ला की !)

मुसुक्क हाँसेको इमोजी पठाउँदै उसले भनी, 'त्यस्तै लाग्यो मलाइ पनि। जिन्दगीको एउटा सपना पुरा गरेको छु, मैले अब मात्र अर्को बाँकि छ।'

'ओहो नि, कस्तो खालको सपना रहेछ। सेयर गर्न मिल्दैन ?' (आँखा झिम्काएको इमोजी पठाउँदै मेसेज गरिदिए)

- 'भन्दा रिसाउनुहोला तर वास्तविकतामा म तपाईको ठूलो फ्यान हुँ। तपाइसँग बोल्न मन थियो। तपाइको मुहार देख्न मन थियो। यो त फेसबुकले सम्भव बनाइदियो। तपाइसँग भेटेरै कुराकानी गर्ने ठूलो सपना छ, तर मलाई यो पनि थाहा छ कि यो असम्भव छ।'

उसको रिप्लाइ आएलगत्तै म मौन बसिदिए, एकछिन। हुन त यसरी मैले प्रशंसक भेटेको नगन्य होलान्, तर उसको मेसेजमा कुन जादु थियो त्यो पत्तै पाएन। उसको मेसेज आउँदा मनमा छुट्टै तरङ्ग पैदा हुँदै थियो, जुन् अघिल्ला दिनहरुम भएको थिएन।

ढाढस दिँदै मेसेज गरे, 'असम्भव भन्ने कुनै छैन मिस ! बस त्यसलाई सम्भव बनाउन प्रयत्न गर्ने मात्र हो। आशा गरौ। कुनै दिन हाम्रो भेट पक्कै हुनेछ। तपाइले चिने पनि नचिने झै पो गर्नुहुन्छ कि !' (यो भने प्रायोजित जवाफ थियो, मेरो।)

- 'हा हा ! बरु तपाइले चिन्नु हुँदैन होला विनोद जी। म चार कोश टाढाबाट देख्दा पनि तपाईलाई चिन्छु। तपाईलाई याद छ, तपाईका प्रत्येक स्टाटस र फोटोमा मेरा अवस्था अनुसारको रियाक्सन !' (सायद उ मलाई केही कुरामा कन्फेशन् गराउँन चाहन्थी)

- 'हो र ? यसरी रियाक्सन नदिनुस् है, प्रेममा परिएला।' 
- 'लौ, के कुरा गर्नु भएको ! तपाईको मान्छे रिसाउलिन् फेरि।' (सुरक्षित जवाफ) 

- 'रिसाउँदा फकाउन नसक्ने सामर्थ्य नभएर होला, अहिलेसम्म कोही भेटिएनन्।' (मुसुक्क मुस्काइरहेको मेरो मनपर्ने इमोजीसँग रिप्लाइ दिए।)
- 'तपाईसँग त नसकिने भयो।' ( कुराकानीलाई पोस्टपोन्ड गर्ने आशयको मेसेज थियो, यो।) 

हामी छुट्टीयौ फेसबुकको, मेसेन्जरबाट। 

रातको ११ बजे। उनी निद्रादेवीको शरणमा परिसकेकी थिइन्, सायद। तर मेरा आँखाबाट निद्राहरु कतै लामो 'टूर' हिँडे। निदाउँन सकिन। एकपटक फेरि उनको प्रोफाइल नियाल्न थाले। म्यूचुअल साथीको लिस्टमा हेरे, एकजना भाइ मात्र देखियो। केही नसोची उसलाई मेसेज पठाए। घुमाउरो पारमा सबै सोधेँ त्यो केटिको बारेमा, जसको बारेमा मेरो मन खोजनीति गरिरहेको थियो। त्यो भाइको समाधानयुक्त उत्तरले मेरो आँखा झन् दौड्न थाले उसको प्रोफाइलमा। किनकि, मैलेभन्दा अगाडि उसले मेरो बारेमा त्यो भाइसँग सोधेकी रहिछ।

अर्को दिन बिहानै मैले एउटा स्टाटस लेखे, 'फिलिङ्गस इन लब्ड।'

धेरै मान्छेहरु आउँछन्, जान्छन्। मतलब राखिँदैन। तर कुनै यस्ता मान्छेहरु आउँदा रहेछन् जिन्दगीमा, जसले ठुलो अर्थ राख्दछन्। जस्तै, 'तिमी'।

मलाई याद छ, मैले केहीका लागि खास स्टाटस लेखेको छु तर यो स्टाटस लेख्न मलाई कुनै समय लागेन। न त सोच्नु नै पर्यो। म सोच्दै थिए, आखिर किन मनले उसको बारेमा खोजनीति गरिरहेको छ? किन म उसको बारेमा स्टाटस लेखिरहेको छु? अझ, 'फिलिङ्गस इन लब्ड' भन्दै। (उफ ! आफैलाई मुर्ख लागिरहेछ।)

केही क्षणमै उसले 'लब रियाक्सन' दिँदै कमेन्ट गरिन्– 'त्यस्तो भाग्यमानी को रहेछ कुन्नी ?'

त्यसपछि कमेन्टमै रिप्लाइको खेल चलिरह्यो। 

त्यस साँझ अफिसबाट फर्केपश्चात अनलाइन आउँदा उसको मेसेज आएको थियो।  लेखेकी थिइन्– 'हाइ! तपाईको स्टाटस को प्रति लक्षित थियो?'

भनुँ, हातमा आउन लागेको माछा फुत्केला भन्ने डर। नभनौँ, मनले मानेन। धैर्यसाथ भने, छिन्- एक जना। 

धेरैबेर मेसेजमा कुराकानी भयो। दुईदिन कुरा भयो। तीनदिन कुरा भयो। चार दिन कुरा भयो। कुराकानीको श्रृखंलाले एक सुन्दर सम्बन्ध नै स्थापित गराउँन थाल्यो। ३०औँ दिनमा उसले मेरो नम्बर मागि।

हुन त यो चेष्टा मैले पहिल्यै गर्ने आँट गरेको थिए, तर सकेको थिएन। ९८५७८.... पठाइदिए। उसले अर्को दिन फोन गर्छु भनेर विदाइ मागि। म खुशिले गदगद्। उसको 'हाइ'बाट सुरु भएको कुराकानी ३०औँ दिनसम्म प्रेममा परिणत हुन थालेको आभास भइसकेको थियो। यी बीचमा कैयन अन्तरंग कुराकानी हुन्थे, हाम्रो। 

३१औँ दिन। अपरिचित नम्बरबाट कल आयो। उठाएँ। नभन्दै उसकै रहेछ। वाह ! उसको आवाज। सुनिरहुँ लाग्ने। उसले भन्दै थिइ, तपाईको आवाज रेडियो र यता धेरै फरक रहेछ। 

फोनकल, अनलाइन मेसेज, भाइबर, ह्वाट्सअप यी सबै सामान्य भैसकेका थिए, हाम्रो लागि। हिजोसम्म सामान्य कुराकानी हुने हामीमा आज प्रेमिल वार्तालाप हुन थालिसकेको थियो। एकदिन उसले सोधेकी थिई– 'तपाईको आफ्नै लाग्ने, अझ भनौ प्रेमीका कोही छ कि नाई? '

उसको यो प्रश्न कुन आधारमा थियो थाहा थिएन, तर यो प्रश्नले म यति खुशी थिए कि लाग्थ्यो संसारका सारा स्वर्णिम आनन्दहरु मसँगै छ। 

- 'छैन अहिलेसम्म। बन्ने मन छ र ?' (कैफियतवाला जवाफ दिएँ।)

उसले तुरुन्तै कल गरि, मेसेन्जरमै। कैयन प्रश्नोत्तरपछि मलाइ प्रेमको प्रस्ताव गरि। 

हिजोसम्म मैले केटाले केटिलाई प्रस्ताव गर्छन् भन्ने सुनेको थिए तर गलत रहेछ। कारण म नै त्यसको प्रमाण थिए। 

म यहीँ एकदिनको प्रतिक्षामा थिए, जहाँ म उसलाई भेटेरै प्रस्ताव गर्न चाहन्थे। तर आज उसको नै अगाडि आयो। मैले 'हुन्छ' भनिदिएँ। उ पनि दङ्ग। खुशीले निकै रमाइला बातचित गर्यौंं।

अगाडिका दिनभन्दा अबका दिनमा हाम्रो वार्तालाप नै फरक थिए। उ 'तपाई' भन्थि, म चाहीँ 'तिमी'। कहिलेकाँही झगडा पर्दा 'त' सम्म नि पुग्थे म। तर उ 'तिमी' भन्दा तल कहिल्यै पुगेन।

कसैले भनेको/सुनेको थिए, 'सम्बन्ध तपाईबाट सुरु भएर तिमी हुँदै त मा गएर अन्त्य हुन्छ', अरे। मैले यस्तै कुरा गर्दा उ रिसाएर आगो हुन्थी र भन्थी, 'सबै सोच्नु तर हामी छुट्टिने कुरा कहिल्यै नसोच्नु।'

म मुसुक्क हाँसिदिन्थे। 

हामीबीच सबै मिलाप थियो। तर उ सधैँ एक कुरासँग डराउने गर्थि। म 'क्षेत्री' र उ 'मगर'। 

'अन्तर्जातीय विवाह हजुरको परिवारले स्विर्काला?' उ प्रश्न गर्दथी। म उसको हरेक प्रश्नको समाधान प्रेमिल पारामा गरिदिन्थें।

कुराकानी मात्र भएको करिब आठ महिना भयो। भेट हुने समय कहिल्यै निधो गर्न सकेनौं। दुरी टाढा थियो, उसको र मेरो। तैपनि मुटु निकै नजिक। एकदिन हामी भेट्ने योजना बनाउँदै थियौं, फोनमा नै।

स्थान, मनकामना केवलकार।

उ राजधानीबाट बिहानै मनकामना आउने अनि म पहिलो दिन नै हिँड्ने। पहिलो दिन मनकामना, अनि बाँकि दिनमा पोखरा र लुम्बिनी। कहिलेकाँही उ भन्थी, 'हामी एक हुन सकेनौ भने के हुन्छ ?'

म भन्थे, 'रामलाई सिताको अभाव हुन्छ, सितालाई रामको। अनि मुनालाई मदनको र मदनलाई मुनाको।'

मेरा फरक खालका जवाफ सुनेर उ अद्भुत मान्दथी, सायद। 

भेट्ने योजना गरेको लगभग हप्तादिन बित्यो। एकदिन दिनभरिको अफिसको थकाइले म खानापश्चात सुत्ने तर्खर गर्दै थिए। अनलाइन आउने मूड चलेको थिएन। तैपनि सोचे, उ रिसाउली भनेर। डाटा अन गरे। उसको चार वटा मेसेज थियो, जहाँ उसले बिदाइका शब्द लेखेकी थिइ। अनि उसको वालमा एउटा मात्र स्टाटस लेखिएको थियो, यो गीतकोः 

जसलाइ म चाहे त्यो पाउन सकिन, 
जसलाइ म पाए, त्यो चाहना होइन।

यो स्टाटसपश्चात अर्को दिनमा उसले अर्को स्टाटस लेखी– म बाध्य छु तिमीबाट टाढा हुन। मैले कुनै रियाक्सन दिन सकेन, ति स्टाटसमा। न त कुनै मेसेज नै।

आज कैयनपछि म अनलाइनमा देखिए तर उसको कुनै पोष्ट देखेन। न त उसको प्रोफाइल नै भेटे। कल गर्दा पनि सधैँ व्यस्तको संकेत रहन्थ्यो।

सायद उसले ब्लक गरिसकेको थिइ, मलाई। कहिलेकाँही म मदिराको नशामा हुँदा उसको याद आउँछ अनि सोच्छु, भगवानले भेटाएर छुटाउँनुभन्दा नभेटाएको भए के हुन्थ्यो !

अक्सर मदिराको मातमा म उसको त्यो पुरानो नम्बरमा फोन गर्ने सामर्थ्य जुटाउन साहस गर्छु। तर आजसम्म असफल नै बनेको छु। मैले उसँग बिताएका प्रत्येक पल मेरा लागि खास थियो। खुशीको पल थियो। गुनासो कसैसँग छैन, न त उसँग नै। 

आखिर उसको त्यो 'हाइ' शब्द नै मेरा लागि सुन्दर सम्बन्धको मिलन बन्यो, अनि विछोड पनि।  

dangi.binod@gmail.com                   
                          

प्रकाशित मिति: : 2021-05-15 19:59:00

प्रतिकृया दिनुहोस्