मोबाइलमै काेरिएकाे पहिलाे पुस्तक ‘ओगिल्जा’

Break n Links
Break n Links

मोबाइलबाटै तयार गरिएको नेपालको पहिलो पुस्तकको नाम हो– ‘ओगिल्जा’।

छापिएकाे ६ महिनामै सबै पुस्तक बिक्री भएकाे प्रकाशन गृहकाे दाबी छ। सरल शब्दहरू उन्दै शब्दमाला तयार गरिएको पुस्तक प्रकाशन गर्न लेखक अधिकारीलाई खासै अप्ठयारो भने भएन।

उनले विगतका कहानीहरू फेसबुकमा समय–समयमा सम्प्रेषण गरिरहन्थे। ती सम्प्रेषण गरिएका पंक्तिहरूको संगम नै ‘ओगिल्जा’ हो।

फेसबुकबाटै संकलन गरेर प्रेसमा दिएपछि प्रेसले पेज डिजाइनका लागि एक प्रतिशत काम भने कम्प्युटरबाट गरेको हो, बाँकी ९९ प्रतिशत काम मोबाइलबाटै लिपिबद्ध गरिएकाे थियाे।

दिनमा चारवटा लेख–रचना तयार पार्ने अधिकारीको अर्को पनि क्षमता हो। कहिलेकाहीँ चारवटा लेख–रचना छापिँदा आफैँ दङ्ग पर्ने गर्छन् उनी।

०७९ असारमा सरकारी सेवाबाट अवकाश भएलगत्तै साहित्य–लेखनमा ज्यादै सक्रिय भएपछि उनका शुभचिन्तकहरू छक्क परेका छन्। गोरखापत्रको सहप्रकाशन मधुपर्कमा प्रकाशित ‘समयको खेल’ शीर्षकको लघुकथा नेपालकाे सबैभन्दा छोटो लघुकथा हो।

अर्नेस्ट हेमिङ्गवेले संसारको सबैभन्दा छोटो लघुकथा रचेका थिए। उनले छ शब्दमै लघुकथा टुंग्याएका थिए भने अधिकारीले २१ शब्दमा लघुकथा टुंग्याएका थिए। पछिल्लो समय भने लघुकथाका लागि शब्द सीमा तोकिएको छ।

२०६१ सालमा उनको पहिलो कृतिको रुपमा बालकविता संग्रह ‘ईन्द्रेणी’ प्रकाशन भइसकेको छ भने ‘ओगिल्जा’ उनको दोस्रो कृति हो।

त्यस्तै तेस्रो कृतिको रुपमा ‘रापतीका अलग शब्दहरू’ आइसकेको छ। गीतहरू पनि रच्ने गर्छन् उनी, ख्यालख्यालमै फेसबुकमा रचेको गीत ‘साइँली सलल’ रेकर्डिङ भएर बजारमा आइसकेको छ। लेख–रचना तयार गर्नका लागि उनलाई भाषाविद्, व्याकरणविद र कम्प्युटर अपरेटरको आवश्यकता पर्दैन। सबैमा आफैँ पोख्त छन्।

०५३ सालमा गोरखापत्रमा पहिलो कथा ‘भाग्य र कर्म’ प्रकाशन भएपछि उनी साहित्य यात्रामा अगाडि बढेका हुन्। त्यसपछि कान्तिपुरमा उनका कविता र चेतनामूलक लेखहरू प्रकाशन हुँदैआए। अन्य प्रकाशनहरूमा पनि उनका लेख–रचनाहरू प्रकाशन भए। लाग्छ कि उनका नयाँनयाँ कीर्तिमानहरू थपिँदै गएको देखिन्छ।

आत्मकथा संग्रह ‘ओगिल्जा’ सरल भाषामा लेखिएको छ। साधारण लेखपढ गरेकाले पनि सजिलैसँग अध्ययन गर्नसक्छ। पुस्तकको पहिलो खण्डमा बाल्यावस्थादेखि किशोरावस्थासम्मका घटनाहरू, दोस्रो खण्डमा संस्थान सेवापछिका घटनाहरू, तेस्रो खण्डमा निजामती सेवा प्रवेशपछिका घटनाहरू, चौथो खण्डमा जन्मभूमि र आसपास झल्काउने गीत, पाँचौँ खण्डमा अमरवाणिहरू र छौठौँ खण्डमा राप्तीभेगमा मात्र बोलिने शब्दहरू समावेश छन्।

पुस्तक प्रकाशन भएको ६ महिनामै सकिएको छ। दोस्रो संस्करण प्रकाशनका लागि आर्थिक अभावका कारण ढिलो हुने कुरा लेखकले बताएका छन्। आर्थिक अभावकै कारण उनका कुनै पनि पुस्तक विमोचन गरिएका छैनन्।

सादा जीवन उच्च विचारलाई अंगाल्दैआएका अधिकारीले सरकारी सेवा गर्ने क्रममा विभिन्न हण्डरहरू खाएको कुरा पुस्तकमा उल्लेख छ। ओगिल्जा पुस्तक देशका विभिन्न भागका साथै अमेरिका, अष्ट्रेलिया र कतारमा समेत पुगेको छ।

प्रकाशित मिति: : 2024-08-30 14:31:00

प्रतिकृया दिनुहोस्