कोरोना संकटमा अक्सिजन : डाक्टर भन्छन्– 'अभाव छ', मन्त्रालय भन्छ– 'आत्मनिर्भर छौं, अभाव हुँदैन'

लोकान्तर

काठमाडाैं

रोनाभाइरस (कोभिड– १९) को नयाँ भेरियन्टको संक्रमण बढ्दा नेपालमा पनि अहिले संक्रमणको दोस्रो लहर चलेको छ ।

बाँकेको नेपालगञ्जसहित मुख्य शहरहरूमा संक्रमण नियन्त्रणबाहिर पुगेका बेला अक्सिजन अभाव हुने देखिएको छ ।

कोरोनाभाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै अहिलेसम्म ९ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । ती जिल्लामा अक्सिजनको अभाव भएको सरकारी निकायकै अधिकारीहरूले बताइरहेका छन् । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजालले जिल्लामा अक्सिजनको अभाव भएको बताए । 

‘कोरोनाका बिरामी थपिएसँगै जिल्लामा अक्सिजनको अभाव देखिन थालेको छ,’ सिडिओ रिजालले लोकान्तरसँग भने, ‘अभाव हुन नदिनका लागि के गर्ने भन्ने विषय नै अन्योल छ ।’

त्यस्तै बाँकेका सीडीओ शिवराम गेलालले पनि अस्पतालमा बिरामीहरूको चाप बढेसँगै अक्सिजनको माग अत्यधिक बढेको बताए । 

उपत्यकाका निजी अस्पतालहरूमा पनि पछिल्लो समय अक्सिजनको माग बढिरहेको छ । 

ह्याम्स अस्पतालका डाक्टर सविन कोइरालाका अनुसार ह्याम्स अस्पतालमा दैनिक सरदर ४ हजार लिटरका ६० वटा सिलिन्डरले पुग्दै आएकोमा अहिले अक्सिजनको ८० वटा सिलिन्डरको माग हुँदै आएको छ । 

‘हामीले हिजो मात्रै अक्सिजन नपुगेर राति खोजेर ल्याएका थियौं,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘अहिले माग धेरै छ । झण्डै–झण्डै अक्सिजन नपाएर बिरामी दुर्घटनामा पर्नुभएको थियो, तर समयमै म्यानेज गर्‍यौं ।’

डा. कोइरालाको भनाइलाई आधार मान्ने हो भने दिनमा एउटा अस्पतालले ३ लाख २० हजार लिटर भन्दा धेरै अक्सिजन खपत गर्दै आएको देखिन्छ ।

पछिल्लो समय भारतमा देखिएको अक्सिजन अभावको असर नेपालमा पनि विस्तारै पर्दै गएको विज्ञहरूले बताएका छन् । 

कोरोनाका बिरामीलाई बचाउनका लागि अक्सिजनको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने ह्याम्स अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा. सविन कोइरालाले बताए ।

‘भेन्टिलेटर र आईसीयूभन्दा पनि कोभिडका बिरामीलाई महत्त्वपूर्ण अक्सिजन हो,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘अक्सिजन पर्याप्त दियो भने कोभिडका बिरामी ९० प्रतिशत निको हुने सम्भावना हुन्छ ।’

डा. कोइरालाका अनुसार कोरोनाका एक बिरामीलाई १ मिनेटमा ४ लिटर अक्सिजनको आवश्यकता पर्छ, अर्थात् १ घण्टामा २४० लिटर आवश्यक पर्छ ।

सामान्यतया व्यक्तिहरूले घरमा लैजाने एउटा अक्सिजन सिलिन्डरमा ६ सय लिटर अटाउँछ, त्यो एउटा बिरामीलाई ३ घण्टालाई मात्र हो ।

एक दिनमा त्यस्ता ८ वटा सिलिन्डर लाग्ने डा. कोइरालाले बताए । 

कोरोनाका बिरामीहरूको संख्या बढ्दै जाँदा अक्सिजनको माग पनि बढ्ने हुनाले सिलिन्डर तत्कालै बढाउनुपर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले बताए । 

‘अहिले कोभिडका बिरामीहरू बढिरहेका छन्, उनीहरूलाई अक्सिजनको आवश्यकता पर्छ, त्यसका लागि सरकारले सिलिन्डर बढाउनुपर्ने देखिन्छ,’ डा. दीक्षितले भने । 

नेपाल अक्सिजनमा आत्मनिर्भर भएता पनि महामारीलाई मध्यनजर गरेर २० प्रतिशत थप जोहो गरेर राख्नुपर्ने वैज्ञानिक डा. दीक्षितको भनाइ छ । 

‘पोहोर साल कोरोना संक्रमण फैलिँदा अक्सिजन आवश्यक पर्छ भन्ने पाठ सरकारले सिकेको थियो । त्यसैलाई हेरेर २० प्रतिशत बढी राख्नुपथ्र्यो, तर त्यसो गरेन,’ डा. दीक्षितले लोकान्तरसँग भने, ‘अहिले त्यो असर देखिँदैछ ।’

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले अक्सिजन अभाव नभएको दाबी गरे । 

प्रकाशित मिति: : 2021-04-28 10:59:00

प्रतिकृया दिनुहोस्