अमेरिकाका लागि नेपाली दूताबासको मूल काम भनेकै कन्सुलर सेवा हो। त्यही सेवा पनि बन्द भएको हप्तौ भैसक्यो, अझै खुलेको छैन।
दूताबासको वेभसाइट खोल्ने बित्तिकै एउटा ब्रेकर आउँछ, त्यसमा लेखिएको छ, कोभिड-१९ को कारण दूतावासको कन्सुलर सेवा हाल बन्द रहेको बारे त्यसमा थप लेखिएको छ, ‘दूतावासको कन्सुलर शाखाका केही कर्मचारीहरुमा कोभिड-१९ संक्रमणका कारण अति आवश्यक बाहेक दूतावासबाट प्रदान गरिने अन्य नियमित कन्सुलर सेवा शुक्रबार, चैत्र ६ (१९ मार्च) सम्म स्थगित गरिएको छ। नियमित सेवा सुचारु हुने सम्बन्धी सूचनाको लागि दूतावासको वेबसाइट हेर्दै गर्नुहोला। अति आवश्यक सेवाको लागि दूतावासको इमेल consular@nepalembassyusa.org मा सम्पर्क गरी समय लिएर मात्र दूतावास आउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।‘
यस्तो सूचना पहिलोपटक मार्च ९ मा जारी गरिएको थियो, त्यसयता ११ दिन भैसक्यो, तैपनि कोभिड-१९ को कारण देखाएर बन्द भएको कन्सुलर सेवा अझै खुदेको छैन। पछिल्लो सूचनामा मार्च १९सम्म नखुल्ने भनिए पनि मार्च २० र २१ शनिबार र आइतबार भएकाले मार्च २१ सम्म नखुल्ने निश्चित छ।
कन्सुलर सेवा भन्नाले पासपोर्ट, ट्राभल डकुमेन्ट, मञ्जुरीनामा, प्रमाणिकरण, भिसा, एनआरएन कार्ड, भिसा वेभर प्रमाणपत्र, नेपाली नागरिकता त्यागसम्वन्धी कार्यहरू बुझिन्छन्। अमेरिकामा रहेका नेपालीका लागि काम लाग्ने सेवा नै यिनै हुन्।
अति आवश्यक कामका लागि इमेलमा सम्पर्क गरी समय लिएर आउनु भने पनि इमेलको जवाफ नआउने भुक्तभोगीहरू बताउँछन्। दूताबासको फोन उठ्नु भनेको त मेगा मिलियन्स लट्री पर्नुजस्तै हो।
वासिङ्टन डीसीमा रहेको नेपाली दूताबास वास्तवमा अमेरिकामा रहेका नेपालीका लागि सुरूदेखि नै सहज पहुँच भएको कामकाजी दूताबासमा पर्दैन। यहाँ राजदूत भएर आउन ठूलो पहुँच चाहिने भएकाले त्यस्ता पहुच भएकाले कसैलाई गन्दैनन्। र, दूताबासमा आउने कमर्चारी पनि उत्तिकै पहुचवाला हुन्छन् । उनीहरू पनि सामान्यत: राजनीतिक नियुक्ति लिएर आएका राजदूतलाई टेर्दैनन्। राजनीतिक लाइन मिल्नेले राजदूतलाई सहयोग गर्ने भए पनि अन्यले खासै सहयोग पनि गर्दैनन्।
राजदूत हुन् वा दूताबासका कर्मचारी यहाँ आउनेको मूल ध्यान कसरी आफ्ना मान्छेलाई अमेरिका ल्याएर छाड्ने भन्ने नै हुन्छ। सहयोगीका लागि मोटो रकम लिएर एक किसिमको मानव तस्करी नै हुँदै आएको छ।
निवर्तमान राजदूत डा. अर्जुन कुमार कार्कीले सहयोगी र कर्मचारीका रूपमा ल्याएका ६ जना यतै छोडिएका छन् भनेर दूताबासकै कर्मचारी भन्छन्।