शरीरलाई स्वस्थ रहन प्रोटिन आवश्यक हुन्छ। प्रोटिन मांसपेशी, हड्डी, छाला, रगत र कार्टिलेजको विकासका लागि चाहिने एक महत्त्वपूर्ण तत्त्व हो।
शरीरले टिस्यू निर्माण र मर्मत गर्न, हर्मोन र इन्जाइम बनाउन र अन्य धेरै महत्त्वपूर्ण कार्य गर्न प्रोटिन प्रयोग गर्छ।
कपाल र नङ प्रोटीनले बनेको हुन्छ। प्रोटिनले एन्टिबडी बनाउन पनि मद्दत गर्छ, जुन सङ्क्रमण र रोगविरुद्ध लड्न र कोषहरूलाई स्वस्थ राख्न तथा नयाँ कोष बनाउन मद्दत गर्छ।
मानव शरीरको प्रत्येक कोषमा प्रोटिन हुन्छ। प्रोटिनको आधारभूत संरचना एमिनो एसिडको एक शृङ्खला हो। मानव शरीरलाई राम्रो स्वास्थ्य कायम गर्न ठूलो मात्रामा एमिनो एसिडको सङ्ख्या चाहिन्छ।
आवश्यक एमिनो एसिड शरीरले बनाउन सक्दैन र खानाद्वारा आपूर्ति हुन आवश्यक छ। दैनिकजसो शाकाहारी भोजन खाँदा शरीरमा दैनिक प्रोटिनको मात्रा नपुग्न सक्छ।
शाकाहारी भोजन गर्ने मानिसले शरीरमा प्रोटिनको मात्रा पु¥याउनका लागि केही विशेष खाने कुरामा ध्यान दिनुपर्ने हुन्छ। दुई वा सोभन्दा बढी ग्राम प्रोटिन प्रदान गर्ने खानेकुरालाई प्रोटिनयुक्त खानाको रूपमा लिन सकिन्छ।
हाडे बदाम प्रोटिनको एक समृद्ध स्रोत हो। यसले ऊर्जा उत्पादन गर्न, मांसपेशीहरूको वृद्धि र हेरचाहमा योगदान पु¥याउने काम गर्छ।
एक अध्ययनका अनुसार हाडे बदाम खानाले तृप्ति बढाएर पूर्णताको अनुभूति गराउने हुँदा भोक नियन्त्रणलाई सुधार गर्न मद्दत पु¥याउँछ। यसले क्यालोरीको सेवन कम गराउँछ।
हाडे बदाममा प्रोटिनबाहेक भिटामिन ई, म्याग्नेसियम, जिङ्क, राइबोफ्लेभिन, आदि पनि प्रशस्त मात्रामा पाइन्छ। त्यस्तै, लगभग आधा कप ओट्समा ६ ग्राम प्रोटिन र चार ग्राम फाइबरले भरिएको हुन्छ। यसमा म्याग्नेसियम, जिङ्क, फास्फोरस र फोलेट पनि समावेश छन्।
ओट्सलाई पूर्ण प्रोटिन नमानिए पनि यसमा उच्च–गुणस्तरको प्रोटिन हुन्छ, जसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुपर्छ। आधा कप चिया सिड्समा ६ ग्राम प्रोटिन र १३ ग्राम फाइबर भरिएको हुन्छ।
चिया सिड्स आइरन, क्याल्सियम, सेलेनियम र म्याग्नेसियम साथै ओमेगा थ्रि फ्याट्टी एसिड र एन्टिअक्सिडेन्टको समृद्ध स्रोत हो।
त्यस्तै, विशेषगरी शाकाहारी खानामा पनिर पनि प्रोटिनको राम्रो विकल्प हुनसक्छ। यीबाहेक आलु, ब्रोकाउली, काउली, च्याउ, साग, मकै, मटर, दाल पनि शाकाहारीका लागि प्रोटिनका उचित स्रोत हुन्।