जुम्लामा लामो समयको अन्तरालपछि हिउँ आएको छ। हिउँ परेपछि चिसो बढेको छ।
बिहिवार साँझबाट पर्न लागेको हिउँ बिहानसम्म चडी पाइले (चराको पाइला पर्ने बराबरको हिउँ) परेको स्थानीयले बताएका छन्।
मंसिर–पुसमै पर्नुपर्ने हिउँ नपरेपछि किसान चिन्तित बनेका थिए। तथापि पर्याप्त हिउँ नपरेको उनीहरुले बताएका छन्।
हिउँ नपरेपछि हिउँदे बाली जौ, गहुँ र वर्षेबाली स्याउ, ओखर राम्रो नहुने कृषि विज्ञहरु बताउँछन्।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार बालिनाली र फलफूल राम्रो हुन मंसिरदेखि पुससम्म कम्तिमा पनि तीन चार पटक हिउँ पर्नुपर्ने हुन्छ।
कृषि विकास कार्यालयका अनुसार जुम्लाका १९ हजारमध्ये १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। गत वर्ष कालो तुसारोका कारण स्याउ उत्पादनमा ५० प्रतिशत गिरावट आएपछि किसान मर्कामा परे।
यसपालि बेलैमा हिउँ पर्ला, स्याउ बगैंचामा सिंचाइ गरौँला, काँटछाँट गरौंला भन्ने सोचेका जुम्ली किसानलाई पोहोरकै नियति दोहोरिएला भन्ने पीर परेको छ। अन्नबाली र स्याउ दुवै नभएपछि ठूलो समस्या आउनसक्ने देवकोटा बताउँछन्।
‘पुस माघको महिनामा जुम्लामा हिमपात हुन अति आवश्यक छ। गत वर्ष हिमपात भए पनि कालो तुसारोका कारण स्याउ उत्पादन ५० प्रतिशत घटेको थियो,’ उनले भने, ‘वर्षेनी स्याउबाट मात्र ३४/३५ करोड आम्दानी हुने जुम्लामा गत वर्ष १६ करोड पुग नपुग आम्दानी भयो।’
उनका अनुसार जुम्लामा कृषि उत्पादन वृद्धि हुन हिउँद समयमै हिमपात हुन र वर्षा पानी परिरहन आवश्यक हुन्छ। तर यसपालि हिउँ ढिलो परेको र थोपरेको हुनाले हिउँदेबाली र वर्षे फलफूलमा उत्पादन घट्नसक्ने सम्भावना छ। अझै पनि हिउँ पर्न जरुरी छ।
विगतमा धेरै हिउँ परेर जनजीवन कठिन भएपछि दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका थिए। ‘माघ जानेबेलासम्म हिउँ नआएपछि मरु आइजान्छ हजुर,’ बोहरागाउँका किसान नन्द सार्कीले भने।
जलवायु परिवर्तनको कारण ढिलासम्म हिमपात नभएपछि किसान चिन्तित भएको कृषिविज्ञहरु बताउँछन्।
जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ। सबै क्षेत्रमा सिंचाइको सुविधा छैन। पुस माघको हिमपातकै भरमा हिउँ सङ्कलन गरी खाडल बनाएर हाल्ने हिउँ पोखरी निर्माण बनाउने हो।
यदि प्रशस्त हिउँ परेको खण्डमा बिरुवाले प्रशस्त पानी पाउँछन् तर हिउँ नै नपरेपछि स्याउ बगैँचामा कसरी सिंचाइ गर्ने भनेर चिन्तित बनेका स्याउ किसानमा थोरै आशा पलाएको छ।