बीपी कोइराला प्रतिष्ठानमा थप तीन कोरोना संक्रमित मृत्यु

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन कोरोना संक्रमित मृत्यु भएको छ।

दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आइबार बिहान तथा सुनसरीको धरान ८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएपनि गएराति ८ बजे मृत्यु भएको हो। 

यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो। असोज १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए। 

यसैगरी धनकुटाका ६१ वर्षीया महिलाको पनि प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ। 

डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित उनी धनकुटा अस्पतालबाट रिफर भएर आएकी थिइन्। उनी असोज १६ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारको क्रममा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ती महिलाको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-11 06:57:00

प्रतिकृया दिनुहोस्