बाँके। जिल्लास्थित भेरी अस्पतालमा शनिबार राति थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे मृत्यु भएको हो।
उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ।
उनको राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। असोज ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताएका छन्।
उनको मृत्युको कारण पनि निमिनियाको कारण स्वासप्रश्वासमा समस्या उत्पन्न भएर भएको श्रेष्ठले बताए।
योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।
त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १२ जना गरी कुल ३८ जनाको मृत्यु भइसकेको छ।