आइसियु अभावमा विराटनगरमा कोरोनाबाट एक थुनुवाको निधन

विराटनगरको कोसी अस्पतालमा शुक्रबार एकजना कोरोना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचारको क्रममा विराटनगर कारागारका २० वर्षीय थुनुवा युवकको ज्यान गएको हो ।

उनी उपचारको लागि बिहीबार अस्पताल भर्ना भएको थिए । उनको शुक्रबार बिहान सवा १० बजेतिर  निधन भएको अस्पतालले जनाएको छ ।

कोसी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार  बिहीबार बिहान अस्पताल भर्ना भएका उनमा बेलुका कोरोना पुष्टि भएको थियो । आईसीयुमा राखेर उपचार गर्नु पर्ने भए पनि आईसीयूको अभावमा उनको आइसोलेसनमा राखेर उपचार गरिएको थियो। उनको निमोनियाको कारण ज्यान गएको हो ।

उनी लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। गएको माघ २१ गतेदेखि उनी विराटनगर जेलमा थिए।

प्रकाशित मिति: : 2020-10-09 14:20:38

प्रतिकृया दिनुहोस्