धरानमा एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार (आज) बिहान मृत्यु भएको छ । योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ भने धरानका ११ जना पुगेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । सहप्रवक्ता श्रेष्ठका अनुसार स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि आजैदेखि एक सातासम्म धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द भएका छन् ।

सर्वपक्षीय तथा सर्वदलिय बैठकमा कोरोना संक्रमण फैलनबाट रोक्न लकडाउन गर्ने कि अरु उपाय गर्ने भन्ने विषयमा वृहत छलफल हुदा लकडाउन नगरि उपमहानगरपालिका मातहतका कार्यालयहरु मात्र असोज २८ गतेसम्म बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवाडाले बताए ।

प्रकाशित मिति: : 2020-10-08 11:33:19

प्रतिकृया दिनुहोस्