नोबेल अस्पतालमा मोरङका दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र मोरङ रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

यस्तै, मधुमेहका दीर्घ रोगी रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको दाहालले बताए। अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गरिएको उनमा पनि कोरोना पोजिटिभ देखिएको र आईसीयूमा राखेर उपचार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-10-06 08:59:36

प्रतिकृया दिनुहोस्