पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित १९ जनाको मृत्यु भएको छ। काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
२३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७८१ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।
आइसीयूमा २४४ र ४३ भेन्टिलेटरमा जनाको उपचार भइरहेको छ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ४३ जना भेन्टिलेटरमा र २४४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२४ जना आइसियू र ३१ जना भेन्टिलेटर, प्रदेश ५ मा ४७ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियू र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ४ जना आइसियू गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १६ आइसियूमा उपचाररत रहेका छन्।