नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको क्रममा बारा र पर्साका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणको क्रममा पर्सा र बाराका १२ जना कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा दुई महिलासहित १५ वर्षीय किशोरदेखि ८८ वर्षीय वृद्धसम्म रहेका छन्। वीरगञ्ज कारागारमा पनि एक जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले बताए।
पर्सामा संक्रमित हुने मध्ये वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, ३, ५, ६, १५ र १९ मा एक/एक जना र वडा नम्बर १३ मा दुई जना छन् ।
त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ७ र धोविनी गाउँपालिकाको वडा नम्बर ४ मा पनि एक/एकमा संक्रमण पुष्टि भएको चौरसियाले बताए ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर टेडाका थप एक जनामा संक्रमण पुष्टि भएको चौरसियाले बताए ।