अमेजन विमान दुर्घटना

४ दिनसम्म बाँचेकी आमाले भनेकी थिइन्- मलाई छोडिदेऊ, तिमीहरूकाे ज्यान बचाऊ

अमेजनको जंगलमा विमान दुर्घटना भएको ४० दिनपछि फेला परेका चार बालबालिकाको हाल अस्पतालमा उपचार भइरहेको छ। ती बालबालिकामध्ये सबैभन्दा जेठी लेस्ली हुन्। उनी तेह्र वर्षकी भइन्। बाँकी तीन जना नौ, चार र एक वर्षका छन्।

लेस्लीकी आमाले पहिलाे श्रीमानसँगकाे वैवाहिक सम्बन्धमा खटपट आएपछि दाेस्राे विवाह गरेकी थिइन्। लेस्ली र साेलेनी पहिलाे श्रीमानका सन्तान हुन् भने टिएन नाेरेल र क्रिस्टिन दाेस्राे श्रीमानका हुन्।

ती बालबालिकाका अनुसार दुर्घटना भएको चार दिनसम्म उनीहरुकी आमा जीवित थिइन्। आमाले ‘मलाई छोडिदेऊ, तिमीहरूकाे ज्यान बचाऊ’ भनेपछि सर्प र लामखुट्टेकाे टाेकाइबाट बच्न रूखकाे टाेड्काेमा लुकेकाे तथा ४० दिनसम्म जंगलमा भोगेका समस्याहरु आफन्तलाई बताएका छन्।

बालबालिकाले पिता म्यानुएल रानोकलाई बताएअनुसार विमान दुर्घटना हँदा एक वर्षीया बालिका क्रिस्टिन जहाजकाे भग्नावशेषमा पुरिएकी थिइन्। क्रिस्टिन पुरिँदा उनीहरू निकै डराएका र अधैर्य बनेका थिए। तर लेस्लीले उनलाई कुनै न कुनै तरिकाले बचाइन्।

चार दिनसम्म उनीहरू दिउँसाेमा आमासँगै भुइँमा बस्थे भने रात पर्नासाथ विषालु सर्प, जनावर र लामखुट्टेहरूबाट बच्न रूखकाे टाेड्काेमा लुक्थे।

ती बालबालिकाकाे उद्धार गर्नेमध्ये एककाअनुसार उनीहरूकाे हातखुट्टामा लामखुट्टेले टाेकेका घाउ थिए। उनी भन्छन्, ‘बालबालिकालाई भेट्दा उनीहरुको हातखुट्टामा लामखुट्टेको टोकाइको धेरै निशाना थियाे। उनीहरू थाकेका र भाेकाएका थिए। उनीहरूसँग २ वटा झोलामा केही कपडा, एउटा टर्च, २ फोन, म्युजिक बक्स र सोडाको बोतल थियो।’

 

०००

बालबालिकाहरू हजुरबुबा नार्सिसो मुकुटुएका अनुसार उनीहरूकाे आमा र अहिलेकाे श्रीमानबीच छाेराछाेरीहरूकाे विषयलाई लिएर विवाद हुने गरेकाे थियाे। जेस्लीकी आमा र म्यानुएल रानोकबीच विवाहकाे केही समयदेखि नै खटपट भएकाे रानोकले उनलाई बारबार पिट्ने गरेकाे उनी बताउँछन्।

जेस्ली र साेलेनीलाई लिएर उनकाे नयाँ पति म्यानुएल रानोकबीच भनाभन तथा विवाद हुने गरेकाे थियाे। जब विवाद बढ्दै जान्थे, तब रानोकले धेरैपटक छाेरीलाई पिटेका छन्। ती बच्चाहरू ज्यान बचाउन जंगलमा लुक्ने गर्थे।

कोलम्बियाको परिवार कल्याण संस्थानका अनुसार हाल बालबालिकाहरूकाे स्वास्थ्य अवस्था ठिक रहेकाे छ। चार दिन अस्पतालमा बसेपछि अहिले बालबालिकाको अवस्था सुधारोन्मुख छ। उनीहरूले चित्र कोर्न थालेका छन्।

यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले बालबालिका, चिकित्सक र उद्धार टोलीलाई भेटेका थिए। अमेजन जंगलबाट बालबालिकाको सकुशल उद्धार गरेकोमा राष्ट्रपतिले उक्त जवानहरूलाई बधाइसमेत दिए।

यसैगरी बच्चाहरूकी हजुरआमाका अनुसार लेस्लीले ४० दिनसम्म भाइबहिनीको हेरचाह गरेकी थिइन्। कपालमा लगाएकाे रिबनको सहायताले स्याउला बाँधेर क्याम्प बनाउँथिन्। लेस्लीलाई फलफूलको बारेमा धेरै थाहा थियो। आदिवासी भएकाेले उनलाई कुन फल खान योग्य र कुन विषालु हो, थाहा थियो। जसका कारण फलफूल, बीउ, जरा र बोटबिरुवा खाएर बालबालिका ४० दिनसम्म जीवित रहे।

मे १ मा सेस्ना २०६ विमान अमेजनकाे जंगलमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पाइलटसहित ३ जनाको मृत्यु भएको थियो। जसमा उक्त बालबालिकाकी आमासमेत रहेकी थिइन्।

दुर्घटना भएकाे विमानको भग्नावशेष १६ दिनपछि फेला परेको थियो। तर उद्धारक टाेली त्यहाँ पुग्दा बालबालिका त्यहाँबाट बेपत्ता थिए। घटनाको जानकारी पाएपछि कोलम्बियाली सरकार र सेनाले बालबालिकाको उद्धारका लागि अपरेशन होप सुरु गरेका थिए। र बच्चाहरू जहाज दुर्घटनाकाे ४० दिनपछि भेटिएका थिए। 

प्रकाशित मिति: : 2023-06-14 18:32:00

प्रतिकृया दिनुहोस्