वीरगन्जमा पर्सा बारा र रौतहटका थप ३ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा उपचारत ३ जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ८० वर्षिय बृद्धसहित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचारार्थ भर्ना भएका बाराका ६५ वर्षिय पुरुष र रौतहटका ६१ बर्षिय पुरुषको उपचारकै क्रममा आइतबार मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले जानकारी दिए । 

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल रेश्मकोठीका ८० वर्षिय बृद्धलाई स्वासप्रस्वासमा समस्या भएपछि आइतबार विहान नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको आज दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए । 

मृतकको बिहान स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको समेत प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने। 

यसैगरी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा हिजो साँझ संक्रमित भई उच्च ज्वरो, स्वासप्रस्वासको समस्या बढदै गएपछि उपचारका लागि बाराबाट आएका ६५ वर्षिय पुरुष र रौतहटका ६१ वर्षिय पुरुषको समेत उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।

वीरगन्जका मृतकको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिईएको र रौतहट र वाराका मृतक संक्रमितहरुको शव सम्बन्धित जिल्लामा पठाईने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। आइतबार मुलुकभर १० जनाको निधन भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-20 16:57:14

प्रतिकृया दिनुहोस्