विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई महामारी घोषणा गरेको ६ महिनामा यसको संक्रमणले ३ करोड व्यक्ति प्रभावित भएका छन्।
बिहीबार बिहान कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार नाघेको छ।
कोरोनाका कारण मर्नेको संख्या पनि ९ लाख ४५ हजार नाघेको छ। कोरोनाबाट अहिले पनि ६१ हजारभन्दा बढी मानिसको अवस्था गम्भीर रहेको डब्ल्यूएचओको रिपोर्टमा उल्लेख छ। त्यसैले कोरोनाको भ्याक्सिन उपलब्ध नहुँदासम्म मर्नेको संख्या १० लाख नाघ्न सक्ने सम्भावना प्रबल देखिएको छ।
हालसम्म सबैभन्दा प्रभावित देशको सूचिमा अमेरिका नै अगाडि छ। अमेरिकामा ६८ लाख मानिस संक्रमित भएका छन् र २ लाखभन्दा बढीको निधन भइसकेको छ। दोस्रोमा भारत छ। भारतमा ५१ लाख बढी मानिस संक्रमित भइसकेका छन् भने मर्नेको संख्या ८३ हजार पुगेको छ।
तेस्रो नम्बरमा ब्राजिल छ। ब्राजिलमा ४४ लाख बढी मानिस संक्रमित छन् भने मर्नेको संख्या १ लाख ३४ हजार नाघेको छ। चौथोमा रुसमा १० लाख बढी संक्रमित भएपनि मर्नेको संख्या अन्य देशभन्दा कम छ। रुसमा १८ हजारभन्दा बढी मानिसको मात्र निधन भएको छ।
रुसको तुलनामा मेक्सिकोमा ७१ हजार, बेलायतमा ४१ हजार, इटालीमा ३५ हजार, फ्रान्स र पेरुमा ३१ हजार, स्पेनमा ३० र इरान र कोलम्बियामा २३ हजार मानिसको निधन भएको छ। रुसपछि पाँचौ नम्बरमा सबैभन्दा संक्रमित देश पेरु हो। पेरुमा ७ लाख ४४ हजार बढी मानिस संक्रमित देखिएका छन्।
कोरोना भाइरस गत डिसेम्बरमा चीनको उहान शहरमा देखिएको थियो। डब्ल्यूएचओले गत मार्च ११ मा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।