कोरोना भाइरसबाट मर्नेको संख्या ९ लाख नाघ्यो

क्यालिफाेर्नियामा घामकाे आनन्द लिँदै।

कोरोना भाइरसका कारण मर्नेको संख्या ९ लाख नाघेको छ। मंगलबार विश्वव्यापी रूपमा मर्नेको संख्या ९ लाख कटेको हो। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख १ हजार ६ सय २९ जनाको निधन भएको छ। 

अहिलेसम्म विश्वभरि २ करोड ७७ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यसमा १ करोड ९८ लाख २८ हजारभन्दा बढी संक्रमित ठिक पनि भएका छन्। तर, अझैं ७० लाखभन्दा बढी ‘एक्टिभ केस’ बाँकी छ। यसमा पनि ६० हजारभन्दा बढीको अवस्था नाजुक मानिएको छ। 

विश्वव्यापी रूपमा अमेरिकामा सबैभन्दा बढी ६५ ललाख कोरोना संक्रमित देखिएका छन्। दोस्रो नम्बरमा भारत छ। भारतमा ४३ लाख संक्रमित फेला परिसकेका छन्। तर, अमेरिकाको तुलनामा भारतमा मर्नेको संख्या कम छ। अमेरिकामा हालसम्म १ लाख ९४ हजार ३२ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा ७३ हजार ९ सय २३ जनाको निधन भएको छ। 

तेस्रो नम्बरमा ब्राजिल सबैभन्दा बढी प्रभावित देश हो। ब्राजिलमा ४१ लाख ६५ हजार बढी संक्रमित देखिएका छन्। मर्नेको संख्या भने १ लाख २७ हजार नाघिसकेको छ। अमेरिकापछि ब्राजिलमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्। 

चौथो नम्बरमा रुसमा १० लाख बढी संक्रमित भएपनि यहाँ मर्नेको संख्या १७ हजार मात्र छ। रुसको अनुपातमा मेक्सिकोमा सर्वाधिक ६८ हजार मानिसको निधन भएको छ। कोरोनाका कारण मर्नेहरूको तथ्यांकमा अमेरिका, ब्राजिल र भारतपछि चौथो नम्बरमा मेक्सिकोको नाम आउँछ। यसपछि बेलायतमा सर्वाधिक ४१ हजार मानिसले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2020-09-09 07:53:32

प्रतिकृया दिनुहोस्