नेपाली कनेक्सन

उराठलाग्दो मरूभूमि र नरोकिएका पैतला

संगम डि.सी.

साउदी अरब
Breaknlinks
Breaknlinks

रियाद अर्थात् अरबी प्रायदीपको एउटा विशाल चौतारी। मक्का र मदिनाजस्ता पवित्र धार्मिक–भूमि। मस्जिदको दर्शनका लागि वर्षेनि लाखौं पर्यटक आउँछन्। उतिकै मात्रामा भित्रिन्छन्, नेपाली, बंगाली, पाकिस्तानी र भारतीय कामदार। यो संसारलाई इन्धन बेच्ने ‘तातो–संसार’सामु बाँचिहरेका प्रवासीको कहालीलाग्दो अर्को कथा हो।

साउदी अरब आफ्नै सीमाभित्र बाँधिएको छ। त्यसैगरी बस्न बाध्य छौं– प्रवासी कामदार। उराठलाग्दो मरूभूमि। आफ्नै बेगमा बगिरहेको तातो हावा। मानाैं– कसैलाई कसैकाे वास्ता छैन। तर हिँड्दै जाँदा रोकिँदैनन्, नेपाली पैतला। झन्–झन् भारी हुन्छन्, ठुल्ठूला सपना। 

सगरमाथा जतिकै अग्लाे कल्पना बोकेर खाडीमा हिँडिरहेका छन्, कैयौं यात्री। उनीहरू पर्यटक होइनन्। कामदार हुन्। दिनरात नभनी काम गर्छन्। हैरान हुन्छन्। सुत्छन्। एकैछिन आँखा चिम्लिन्छन्। थकाइ मेट्छन्। जुरुक्क उठ्छन् अनि काममा दौडिरहन्छन्। मरूभूमिदेखि समुन्द्रसम्म फैलिन्छन्, नेपाली मजदुर। उनीहरू सुन्दर कल्पनाभित्र हराउँछन्। बुबा–आमा–श्रीमतीको रहर पूरा गर्न आफ्नै कर्ममा लाग्छन्।

मरूभूमिको पीडाले मन गाँठो पर्छ। बोल्न खोज्दा सास रोकिन्छ। उठ्न खोज्दा खुट्टा लाग्दैनन्। मुटुभित्रबाट पग्लिरहेका छन्, पसिनाका डल्ला। भो! कति बग्नू दिनदिनै खेपेको कष्ट! आफ्नै वेदना। युवा पुस्ताकाे वेदना। नेपाली समाजको वेदना।

गरिबीको भुमरीभित्र हराएपछि जानी–नजानी खाडीमा बेचिन बाध्य छन्, युवा जमात। यो नेपाली समाजको कहरलाग्दाे कथा हो। परिबन्दको कथा। खाडीको कथा। परिवारबाट टाढिएको कथा। अनि पीडै–पीडाको गहकिलो व्यथा हो। 

मध्यपूर्वको रियादले दक्षिण एशियाको हरियाली दृश्य देखाइरहेको छ। बाहिर चर्को घाम छ। भित्र शीतलता। मुढा झैँ सुतेकाे थकित शरीर। बिदाको समय। आजकल किन–किन घुम्न मन लाग्दैन। कोठाभित्रै बस्यो। परिवारसँग सामाजिक सञ्जालमार्फत् रम्यो। साथी–भाइसँग गफियाे। यहाँ यस्तै छ– परदेशीको कथा। साउदीको दैनिकी।

एकान्त कुनाको बसाइँ। गाउँ–घरको गहिरो याद। लेकबाट वर्षिरहेको वर्खे–झरी। सेताम्य छाल उराल्दै दौडिरहेको गोठी–खोलो। चारैतिर हरियाली बाह्रजथाक। गाईं–वस्तु खेलिरहेको निपाने पाटन। तीतेधुरीको थुम्कोमा भागिरहेको कुहिरो। चारैतिरबाट घेरिएको सिद्धपुज्ने डाँडो।

आहा! यी दृश्यहरू आँखाभित्र राखेपनि बिझाउँदैनन्। बरू दिन्छन्, आनन्द। भुलाउँछन्, खाडीका पीडा। एकैछिन भएपनि पुर्‍याउँछन्– नाउली अर्थात् जन्मभूमि। जन्मेदेखि मुग्लान लाग्नुअघिसम्मको एउटा ‘तस्विर’ गाउँमै थन्किएको छ। बाल्यकालका हितैसीहरू छरिएका छन्। कोहि घरमा छन्। कोहि शहर। कोहि परदेश।

यो मरूभूमिबाट देखिएको सपनाको कथा हो। जहाँबाट देश–दुनियाँ, गाउँ–समाज र घर–परिवार देखिएको छ। खाडीलाई नेपाली युवाले जवानी दिएका छन्। उता खाडीले जसाेतसाे बाँच्ने आधार दिएको छ। हरेक महिना साउदी अरबको चर्को घामले परिवारमा शीतलता थपेको छ। बाढी–पहिराे छलेकाे छ। 

पहाडी भेगमा वर्खा लाग्दा मेरो मनमा भेल बग्छ। खामे–धुरीकाे पहाडै–पहाड कुँदिरहेकाे अँध्यारो हुस्सुले उज्यालो बत्ती बाल्छ। देवभूमि सुकिदहकाे बगैँचाभर स्याउ र आलु। गाईं–बाख्रा कुदाउँदै हिँड्ने गोरेटोमा आजकल मोटर चल्छन्। डर लाग्ने जंगलमा बस्ती छ। तर उस्तै छन्, पीडा। उस्तै छन्, पहाडीका कथा।

खाडीबाट फर्केर हेर्दाः गाउँ–घर नै रमाइलो लाग्छ। क्षणभरमै उडेर पुग्न मन छ। तर यो कल्पना मात्रै हो। मरूभूमिको देशमा कामको चटारो छ। सकी–नसकी ‘डियुटी’मा जानैपर्छ। प्यास र थकानको शब्द नै भेटिँदैन। अरबको उखरमाउलो गर्मीले फ्रिजको चिसो पानी पिउँदा पनि प्यास मेट्न पनि सक्तैन। बस्! मुख मात्रै शीतल पार्छ।

कहिलेकाहीँ नेपाली फिल्म हेर्न र पुस्तक पढ्न जाँगर चल्छ। आमा, श्रीमती, दिदी–बहिनी र छोरीसँग बोलिरहन मन लाग्छ। तर समय मिल्दैन। बाल्यकालका साथी–भाइको पलपल सम्झना आइरहेको छ। एकदिन अवस्य भेट्ने छु। पक्कै भेट्ने छु। गाउँमै अँगाल्ने छु।

कुनै बेला छुट्टी मनाउन मरूभूमिदेखि समुन्द्रसम्म पुगेँ। डुल्नु र रमाउनु सबै कुराजस्तो लाग्थ्यो। एक समय– ठूलो मेहनत गरेर जम्मा गरेको सानो पैसा घुमेरै सकिन्थ्यो। अहिले हिँड्डुल गर्न मन लाग्दैन।

साथीहरू भेटिन्छौं। तर कोठाभित्रै। नेपाली समाजको बिग्रिँदो लयबारे प्रवासबाट समीक्षा गछौं। चिन्तन, मनन र टिप्पणी गछौं। देश फर्केपछिको बाँकी सपनाबारे कल्पिन्छौं। र, परदेशको तातो बालुवाभित्रबाट नेपालका लागि चिसो कहानी रचिरहेका छौं।

प्रकाशित मिति: : 2023-02-11 19:00:00

प्रतिकृया दिनुहोस्